शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतका नेपाली विद्यार्थीहरुको समस्यामा दूतावास गम्भीर छ– राजदूत सुवेदी

बिहीबार, १३ चैत २०७६, २३ : १०
बिहीबार, १३ चैत २०७६

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले बेलायतका नेपाली विद्यार्थीहरुको समस्यामा दूतावास गम्भीर रहेको बताएका छन् । एनआरएनए यूकेका पदाधिकारीहरुसँगको छलफलमा दूतावासको तर्फबाट बिहीबार आफ्नो धारणा राख्दै राजदूत सुवेदीले सो कुरा बताएका हुन् । सामाजिक सञ्जाल लगायतका मिडियाहरुमा आएका विषय प्रति इंगित गर्दै राजदूत सुवेदीले भने, ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा हाम्रो दूतावास छ, सरकारबाट मान्यताप्राप्त एनआरएनए छ, विभिन्न सामाजिक संघसंस्थाहरु छन्  तर व्यक्तिगत रुपमा सहयोगको प्रलोभन देखाउँदै सस्तो र हलुका ढंगले लोकप्रियता कमाउने चेष्टा नगरौं । नेपाली विद्यार्थीहरुको समस्यामा दूतावास गम्भीर छ ।’

 बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा पर्न सक्ने विषयलाई गम्भीर र संवेदनशिल ढंगबाट सम्बोधन गरिनुपर्ने उनले  बताए । बेलायतमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सम्पूर्ण  सेवा र सहयोगका लागि दूतावास दैनिक रुपमा खुला रहेको र आवश्यक कामको लागि बिदाको दिनमा पनि आफूहरु काम गर्न तयार रहेकोले समस्या परे सिधै दूतावासमा सम्पर्क गर्न उनले आग्रह गरे ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले भविष्यमा अझ ठूलो जोखिम निम्त्याउन सक्ने हुँदा यहाँका सम्पूर्ण  नेपाली संघसंस्था र सिंगो समुदायलाई एकबद्ध भएर सहयोगमा जुट्न आव्हान गरे । एनआरएन यूकेले हेल्पडेस्कको  स्थापना गरेर कोरोनाबाट प्रभावित नेपालीलाई पुर्याएको सहयोगको पनि उनले प्रशंसा गरे । नेपाल भ्रमणका सिलशिलामा हाल नेपालमा नै रहेका  भूपू गोर्खाहरुले पाउँदै आइरहेको पेन्सन क्रेडिटलाई निरन्तरता दिने बारेमा कुटनीतिक पहल भैरहेको र यस बारेमा रक्षा मन्त्रालय पनि सकारात्मक रहेकोले सबिलाई ढुक्क रहन राजदूत सुवेदीले आग्रह गरेका छन् ।
सोलिसिटर राजु थापाले नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिट, भिजिट भिसामा आएका नेपालीहरुको भिसा लगायतका कानुनी समस्याहरुमा अहिलेको अपवादजनक परिस्थितिलाई ध्यानमा राखेर सरकारले विशेष व्यवस्था गर्ने जानकारी दिए ।

सामाजिक संजालमा अतिरन्जित गरिएजस्तो जटिल समस्या बेलायतका विद्यार्थीहरुको नरहेको प्राध्यापक डा.पदम सिम्खडाको जिकिर छ । ‘हरेक युनिभर्सिटीले आफ्ना विद्यार्थीहरुको लागि हेल्प डेस्क स्थापना गरेका छन् । आवश्यकता हेरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ५ सय देखि १ हजार पाउण्डसम्मको आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था समेत गरेको हुँदा समस्यामा पर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयको हेल्प डेस्कमा सम्पर्क राख्न सिम्खडाले सुझाव दिए ।

सोलिसिटर दीपक भट्टराईले  स्टुडेन्ट भिसा ‘टियर फोर’ अन्तर्गत रहेका विद्यार्थीहरुले ६० दिनसम्म कलेज वा युनिभर्सिटी नगएको खण्डमा सम्बन्धित कलेज वा युनिभर्सिटीले होम अफिसलाई जानकारी गराउनुपर्ने र भिसा खारेज गर्ने  प्रक्रिया रहेको तर कोरोना भाइरसका कारण कलेज वा युनिभर्सिटी जान नसकेमा यो नियम लागू नहुने बताए । तेस्तै ‘टियर टू’ अन्तर्गत वर्क परमिटमा रहने विद्यार्थीले २८ दिनसम्म काममा नगएको खण्डमा कम्पनीले होम अफिसलाई खबर गर्नुपर्ने व्यबस्था भएपनि कोरोना भाइरसका कारण काममा जान नसकेमा पनि यो नियम लागू नहुने भएकोले ढुक्क भएर बस्न भट्टराईले अनुरोध गरे ।

पछिल्लो समय बेलायतमा अध्ययनरत आएका नेपाली विध्यार्थीहरु कोरोना भाइरसका कारण विश्वविद्यालय बन्द भएपछि अलपत्र भएको भन्ने व्यापक चर्चा चलेको थियो । कतिपय विद्यार्थीले काम बन्द भएको गुनासो पोखेका थिए त  कतिले कामै नगरेको अवस्थामा नेपालबाट ल्याएको पैसा पनि सकिएको गुनासो पोख्दै आएका थिए । नेपाल फर्किन समेत नपाउने बाध्यतामा परेको पनि उनीहरुले बताएका थिए । मर्जिंग नेपसक्सका तर्फबाट बेलायतमा समस्यामा पर्न सक्ने नेपाली विद्यार्थीहरुको तथ्याँक संकलन भइरहेको संस्थाका अध्यक्ष पवन कँडेल र उपाध्यक्ष विष्णु गैरेले जानकारी दिएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा रहेको भन्ने विषयले पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा समेत व्यापक चर्चा चलेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप