शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितसँगै दुई वटा फ्लाइटमा नेपाल आएका ३ सयबढी यात्रु निगरानीमा

दुईवटै फ्लाइटका नजिकका यात्रुलाई क्वारेन्टाइनमा राखियो, २ यात्रु अझै सम्पर्कबाहिर
बिहीबार, १३ चैत २०७६, १७ : ४०
बिहीबार, १३ चैत २०७६

कोरोना सङ्क्रमित यात्रुसँगै उक्त फ्लाइटमा नेपाल आएका ३ सयभन्दा बढी यात्रुलाई सरकारले विशेष निगरानीमा राखेको छ ।

दुईवटा फ्लाइटबाट नेपाल आएका चालकदलका सदस्य बाहेकका करिब सबै यात्रुलाई सरकारले विशेष निगरानीमा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार रातोपाटीसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले कोरोना सङ्क्रमित यात्रुसँगै उक्त फ्लाइटमा यात्रा गरेका सबैजसो नेपालीको पहिचान भइसकेको र उनीहरुमध्ये २६ जनालाई क्वारेन्टाइनमा राखिसकिएको तथा अन्यलाई क्वारेन्टाइनमा बस्न भनिएको बताए ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भेटिएकी एक युवती चैत ४ अर्थात् मार्च १७ मा कतारको दोहाबाट काठमाडौँ उत्रिएकी थिइन् । स्टुडेन्ट भिसामा फ्रान्स पुगेकी उनी कोरोनाको त्रास बढ्दै गएपछि नेपाल आएकी थिइन् ।

कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट दोहादेखि उनी काठमाडौँ उत्रिएकी थिइन् । उनी आएको विमानमा चालक दलका सदस्यसहित २ सय ५ यात्रु रहेका थिए । चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते मात्रै कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।

त्यसैगरी चैत ६ अर्थात् मार्च १९ मा संयुक्त अरब इमिरेट्सको सारजाहबाट नेपाल आएका एक युवालाई पनि चैत ११ गते राति कोरोना सङ्क्रमण भएको पुष्टि भयो ।

एयर अरेबियाको फ्लाइट नम्बर जी ९–५३७ बाट काठमाडौँमा आएका उनलाई पनि कोरोना सङ्क्रमण भयो, जुन विमानमा चालकदलका सदस्यसँगै १ सय ५८ जना यात्रु थिए ।

नेपाल नागरिक उड्डयन स्रोतका अनुसार दुईवटै फ्लाइटमा गरी करिब ३ सय २० जना नेपाली नागरिक रहेका थिए जो अहिले पनि नेपालमै छन् ।

तर उनीहरुमध्ये पहिलो उडानमा आएका करिब १ सय ८५ यात्रु (चालकदलका सदस्यबाहेक) मध्ये सबै यात्रु सम्पर्कमा आइसकेका छैनन् । दोस्रो फ्लाइटमा आएका यात्रुहरु भने अधिकांश सम्पर्कमा आइसकेका छन् ।

पहिलो र दोस्रो फ्लाइट गरी २६ जना हाल स्वास्थ्य मन्त्रालयको निर्देशनमा प्रत्यक्ष क्वारेन्टाइनमै बसिरहेको बताइएको छ ।

सबै यात्रु निगरानीमा, २८ यात्रुलाई पूर्ण क्वारेन्टाइनमा राख्ने प्रयास

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त दुईवटै फ्लाइटमा उडान भरेका यात्रुहरुमध्ये एउटा फ्लाइटको १४ जना गरी दुईवटा फ्लाइटको २८ जनालाई प्रत्यक्ष निगरानीसहित पूर्ण क्वारेन्टाइनमा राख्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट मार्च १७ अर्थात् चैत ४ गते नेपाल आएका यात्रुसँगै २ सय ५ जनाले यात्रा गरेका थिए ।

कतार एयरवेजको उक्त विमान एयरबस कम्पनीको मोडल ३३० हो । उक्त जहाजभित्र दायाँ र बायाँ २–२ सिट र बीचमा ४ जनाको सिट रहेको हुन्छ ।

यसरी हेर्दा कतार एयरवेजको जहाजमा यात्रा गरेकी युवतीको दायाँ–बायाँ र अगाडिको मात्रै यात्रु जोड्दा पनि कम्तीमा १६ जनालाई प्रत्यक्ष क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने विमानका १४ जनालाई मात्रै प्रत्यक्ष क्वारेन्टाइन र अन्यलाई सेल्फ क्वारेन्टाइनमा राख्न लगाइएको बताएको छ ।

त्यस्तै यूएईको सारजाहबाट मार्च १९ मा काठमाडौँ आएको एयर अरेबियाको फ्लाइट नम्बर जी ९–५३७ उडान एयरबस कम्पनीको ए ३२०–२०० मोडलको विमान हो ।

यो विमानको दुवैतर्फ ३–३ जना बस्न मिल्ने सिट रहेको हुन्छ । यसरी हेर्दा विमानको एउटा रो अर्थात् लाइनमा ६ जना, अगाडि र पछाडिको रो मा ६–६ गरी कुल १८ जना यात्रु रहन सक्छन् ।

यसलाई नै आधार मानेर स्वास्थ्य मन्त्रालयले कोरोना पोजिटिभ पाइएको बिरामीको दायाँ–बायाँ र अगाडि बस्ने यात्रुहरुलाई मुख्य फोकस गरेको छ । उनीहरु सबै यात्रुलाई पूर्ण निगरानीसहितको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको तथा सम्पर्कमा नआएकाको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

के हो प्रत्यक्ष क्वारेन्टाइन र निगरानीको क्वारेन्टाइन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुुसार हाललाई ती दुईवटा विमानबाट आएका २८ जनालाई प्रत्यक्ष क्वारेन्टाइनमा राख्न लागिएको छ । जसमध्ये २६ जनालाई प्रत्यक्ष सम्पर्कमा ल्याई जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रहरी आदिको प्रत्यक्ष निगरानीमा घर वा टहरा बनाएर प्रत्यक्ष निगरानीमा राखिएको छ । पहिलो फ्लाइटमा आएका दुई जनालाई भने अझै सम्पर्कमा ल्याउन नसकिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी दोस्रो उडानमा आएका १४ जनालाई नै प्रत्यक्ष क्वारेन्टाइनमा राखी सकिएको र उनीहरुले सम्पर्क वा भेटघाट गरेका व्यक्ति, परिवारका सदस्य आदिलाई पनि निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।

 कोरोना सङ्क्रमितसँगै नेपाल आएका र सङ्क्रमितको नजिकैको सिटमा बसेकाहरुलाई प्रत्यक्ष निगरानीमा राखिएको छ भने उक्त विमानमै यात्रा गर्ने अन्यलाई विशेष निगरानीमा राखिएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रत्यक्ष निगरानी भन्नाले उनीहरुले परिवारका सदस्य वा अन्य कुनै व्यक्तिलाई भेटघाट गर्न पनि पाउँदैनन् भने घरबाट बाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको छ । यदि अन्य व्यक्तिलाई भेटेमा वा घरबाट बाहिर निस्किएमा उनीहरुलाई कानुन अनुसार कारवाही गरिने छ ।

त्यसैगरी विशेष निगरानीमा रहेकाहरुलाई स्थानीय तह र प्रहरीसँग समन्वय गरी अन्य व्यक्तिहरुलाई भेटघाट गर्न निषेध गरिएको छ । आफ्नो घरमै सुरक्षित रहने गरी बस्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितसँगै आएका केही अझै सम्पर्कमा आएनन् 

कतारको दोहाबाट मार्च १७ मा नेपाल उत्रेकी युवतीसँगै उक्त फ्लाइटमा आएका केही यात्रु भने अझै पनि सरकारले फेला पार्न सकेको छैन । केही यात्रुहरु आफैँले सम्पर्क गरी आफू पनि सोही फ्लाइटमा आएको बताए पनि केही यात्रुहरु अझै पनि सम्पर्कमा आएका छैनन् । कतारबाट आएका यात्रुहरुले आवागमन फारम पनि नभरेको कारण उनीहरुलाई ट्र्याक गर्न समस्या भएको छ । दोस्रो फ्लाइट अर्थात् एयर अरेबियाबाट आएका यात्रुहरु भने सबै सम्पर्कमा रहेको र उनीहरुलाई पूर्ण क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा राखिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको ‘सिट फर्मुला’ मिलेन

स्वास्थ्य मन्त्रालयले एएटा विमानको दायाँ बायाँ र अगाडि रहेको यात्रुलाई मात्रै अनिवार्य क्वारेन्टाइनमा राखिएको बताएको छ । एउटा विमानमा सङ्क्रमितको नजिकै रहेका १४ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको भने पनि त्यसको फर्मुला भने मिलेको देखिँदैन ।

किनभने दुई कम्पनी दुईवटै विमान फरक फरक मोडलका हुन् र उनीहरुको सिट प्लान पनि फरक फरक नै रहेको छ ।

पहिलो फ्लाइट अर्थात् कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ विमान एयरबस कम्पनीको ए३३० विमान हो ।

जुन विमानको बिजनेस बाहेक अन्य सिट म्याप २–४–२ मा बनेको हुन्छ । अर्थात् दायाँ र बायाँ २–२ जना र बीचको सिटमा ४ जना बस्न मिल्छ ।

हेर्नुहोस् विमानको सिट :

यो फर्मुला हेर्ने हो भने यदि युवती बीचको ४ सिटमध्ये कुनै सिटमा बसेकी हुन सक्छिन् । यदि त्यसो हो भने विमानको उक्त लाइनमा रहेका ८ जना यात्रु र कम्तीमा पनि अगाडिको ८ जना यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्छ ।

तर यो विमानमा यात्रा गरेका मध्ये १४ जनालाई मात्रै अनिवार्य क्वारेन्टाइनमा राख्ने र अन्यलाई सेल्फ क्वारेन्टाइनमा राख्ने सरकारको नीति छ ।

त्यसैगरी एयर अरेबियाबाट मार्च १९ मा नेपाल आएको विमान ए३२० हो । जुन विमानको दायाँ र बायाँ ३–३ सिट रहेको हुन्छ । यसरी हेर्दा उक्त लाइनमा रहेका सबै यात्रु र अघिल्लो लाइनमा रहेका सबै यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा राख्दा १२ जनालाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्छ ।

हेर्नुहोस्, ए ३२० को सिट प्लान

तर पनि मन्त्रालयले १४–१४ जनालाई क्वारेन्टाइनमा राख्ने कुरा विधिसङ्गत देखिँदैन । यदि अगाडि, पछाडि र सङ्क्रमित रहेको तीनवटै लाइनमा रहेका सबै यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने हो भने कतार एयरवेजबाट आउने २४ जना र एयर अरेबियाबाट आउने १८ जनालाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।

यद्यपि विमानका पूरै सिटमा यात्रु नभएको पनि हुनसक्ने भएकाले मन्त्रालयले यस्तो निर्णय लिएको हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप