बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो

बिहीबार, १३ चैत २०७६, १३ : ५७
बिहीबार, १३ चैत २०७६

जेनेभा । कोरोनाभाइरसको सङ्क्रमण शुरुवात चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । 

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् ।  यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन  हजार ६४७ पुगेको हो ।

ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ ।  त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ ।  स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ ।

स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ । 

विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्नु हुँदै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गरेका थिए । ‘तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ’ प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै  भनेका थिए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप