बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवलदेखि हिँडेर गुल्मी आउनेहरुलाई प्रशासनद्वारा उद्धार

बिहीबार, १३ चैत २०७६, १३ : ३२
बिहीबार, १३ चैत २०७६

गुल्मी । भारतबाट  भैरहवा हुँदै  बुटवलबाट हिँडेर आफ्नो घर गुल्मीमा आउँदै गरेका ३ दर्जन नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधवार साँझ बीच बाटोबाटै उद्धार गरेको छ ।  ७ र १० बर्षका दुई बालबालिकासहित भारतको दिल्लीबाट आउने २३ जना र  बुटवलका सहित ३६ जनाको उद्धार गरिएको हो । 

विभिन्न स्थानबाट गुल्मीको प्रवेशद्धार रिडी हुँदै पैदलयात्रा गरिरहेकालाई रिडीमा रहेको हेल्थ डेक्समा स्वस्थ्य परीक्षण समेत गरिएको छ । परीक्षण गराउँदा ती सबै जनामा कोरोनो भाईरसको कुनै पनि प्रकारको लक्ष्यण नदेखिएको जानकारी प्राप्त भएपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उनीहरुलाई जिल्ला भित्रिन अनुमति दिएका छन् ।

उनीहरु थोेर्गाको उकालो हुँदै सदरमुकाम तम्घास आउने क्रममा बालबालिकाहरु थाकेर रुँदै बाटैमा पल्टेको सञ्चारकर्मीहरुलाई आएपछि प्रमुख जिल्ला अधिकारी शर्माको ध्यानकृष्ट गराइएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी शर्माले तत्कालै सानो गाडी पठाएर थाकेर सडकमा बसेका सवै जनालाई उद्धार गरि सदरमुकाम ल्याएर खानपिनको ब्यवस्था गराएका थिए । सदरमुकामको प्रवेशद्धार देउरालीमा समेत स्वास्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्मा  र जिल्ला अस्पतालका सुपरिटेन्डेन डा.उत्तम पाच्याले स्वास्य परीक्षण गर्दा समेत उनीहरु सबै जनामा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको पुष्टि गरेका थिए ।

 उनीहरुको ब्यवस्थापनका लागि जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी शर्मा , रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , तीनवटै सुरक्षा निकाय, गुल्मी उद्योग बाणिज्य संघ लगायतका सबै संघसंस्थाहरु खटेका थिए ।

विश्वव्यापी संक्रमणको बेला समाजका सबै पक्षले एकले अर्कोलाई सुरक्षित राख्न र विपद्मा उद्धारका लागि जुट्न जिल्ला समन्वय प्रमुख पराजुलीले आग्रह गरे । त्यस्तै, जिल्ला विप्द ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शर्माले  विपद्मा परेका नागरिकको उद्धारमा  जिल्ला प्रशासनले सबै स्थानीय सरकारसँग समन्व्य गर्दै  सक्रिय भइरहेको  बताए ।

शर्माले सबै पालिकाहरुलाई क्वारेन्टाईन बनाउन ताकेता गरिएको जानकारी समेत दिए ।  भारतसहित तेश्रो मुलुकबाट आउने गुल्मीवासीलाई हरेक पालिकाले लगत राख्ने, उनीहरुको स्वास्थ्य परीक्षण गराई कम्तीमा १० दिनसम्म क्वारेन्टाइनमा राख्ने र घर पुगेको ब्यक्तिलाई समेत परिवारका सदस्यभन्दा बेग्ले बस्न आग्रह गरे ।

रेसुङ्घा नगरपालिकाका  मेयर डिल्लीराज भुसालले नगरपालिका सदरमुकाम मै भएकोले  बाहिरबाट आएर विपदमा परेका नागरिकहरु भेटिए तत्काल उद्धार गरेर सम्वन्धित पालिकामा पठाउने उद्घोष गरे ।  बुटवलबाट दुई दिनसम्म भोकभौकै हिँडेर आउँदै गरेको अवस्थामा  प्रशासनले उद्धार गरेको प्रति  विपद्मा परेकाहरुले कृतज्ञता जाहेर गरेका थिए ।

उनीहरुलाई अहिले बिहानको खाना  खुवाएर पठाइएको छ । बाटोका लागि  गुल्मी उद्योग बाणिज्य संघ खाजाको ब्यवस्था समेत गदिदिएको छ ।  संघका अध्यक्ष श्रीप्रसाद भलामीले  बाटोमा अलपत्र परेका नागरिहरुको उद्धारमा सबैसँग हातेमालो गरेर जुट्ने बताए । दिल्लीबाट आउनेहरु ईस्मा, धुर्कोट र मालिका गाउँपालिकाका नागरिकहरु हुन् । आएकाहमध्ये अधिकाँश कुमाल समुदायका युवाहरु रहेका छन् । उनीहरुको ब्यवस्थापनमा नेपाली सेना पनि खटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप