शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट फर्केका ८५ जना क्वारेन्टाइनमा

बिहीबार, १३ चैत २०७६, १३ : ०९
बिहीबार, १३ चैत २०७६

बैतडी । भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिका ६÷६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना रहेका छन् । मङ्गलवार बिहानैदेखि भारतबाट आएका यात्रुहरु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए । उनीहरुलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पु¥याउने व्यवस्था गरिएको थियो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन प्रजिअ पौडेलले आग्रहसमेत गरेका छन् । अरु स्थानीय तहमा पनि भारतबाट आउनेको सङ्ख्या धेरै भएकाले सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोधबाहेक केही गरेका छैनन् । यसबाट शहरभन्दा गाउँ असुरक्षित बनेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरिएको छ । 
यसैबीच गएको एक हप्ताको अवधिमा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडावडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए ।

यस्तै लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागिपरेको छन् । 

अवैधरूपमा भारतबाट आएका पाँचजना आइसोलेसनमा

भारतबाट आएका एक युवकसहित आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेका दुईको नमूना परीक्षणका लागि पठाइएको छ ।  भारतबाट आएका बैतडीको पुर्चौडीका एक युवक र दशरथचन्द नगरपालिकाकी ५८ वर्षीया वृद्धाको घाँटी र नाकको स्वाव (र्याल) परीक्षणका लागि बुधवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो । जाँच गर्दा युवकलाई  १००।८ डिग्री फरेनहाइट र  वृद्धामा १००।४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

युवकलाई दशरथचन्द नगरपालिकाले स्थापना गरेको जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेसनर वृद्धालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उनले बताए । वृद्धालाई पाँच दिनदेखि बिरामी भई अस्पताल आएपछि  जाँच गर्दा ज्वरोसँगै खोकी र श्वासप्रश्वासको समस्या देखिएकोले कोरोना भाइरसको जस्तै सम्भावित लक्षण  देखा परेकाले आइसोलेशनमा राखिएको  हो । यस्तै वृद्धाका घरपरिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बृद्धा १० दिनअघि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ । 
 
यस्तै, आइसोलेसनमा रहेका युवक भने सीमानाका बन्द रहेका बेला अवैधरूपमा भारतबाट महाकाली नदीमा ट्युबमा तरेर नेपाल  आएका हुन् । युवकसँगै ट्युबमा आएका अन्य चार जनालाई पनि आइसोलेशनमा राखिएको छ तर तिनीहरुलाई भने १०० डिग्री फरेनहाइट भन्दा कम ज्वरो रहेको अस्पतालले जनाएको छ । प्रयोगशाला पठाइएको नमूनाको रिपोर्टपछि मात्रै उनीहरुमा कोरोना भए नभएको थाहा हुने बताइएको छ । 
 
भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार

भारतबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । सुर्नया गाउँपालिकाले भारतबाट फर्किएका १३ जनालाई   क्वारेन्टाइनमा राखेको हो  । आठ जनालाई राष्ट्रिय मावि फाटिगडामा, चन्द्रमणि आधारभुत विद्यालयमा तीन र वासुदेव मावि लिस्कटामा दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  यसका साथै भारतबाट आएका अन्य नागरिकलाई पनि क्वारेनटाइनमा राख्ने तयारी भएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

यसका साथै भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । घरपरिवारका अन्य परिवारभन्दा अलग्गै बस्न आग्रह गरिएको हो । सुर्नया गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्यसंस्थामा आइसोलेसनस्थापना गर्ने जनाएको छ । भारतबाट आएका  नागरिकको तथ्याङ्क सङ्कलन अभियान पनि शुरु गरेको गाउँपालिका अध्यक्ष विष्टले बताए ।

यसैबीच पाटन नगरपालिका–७  मा रहेको उदयदेव माविमा १० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।  कोरोनाको आशङ्का लागेकालाई तत्कालका लागि उपचारका लागि क्वारेन्टाइन निर्माण गरिएको कार्यापालिका सदस्य बलदेवराम लुहारले जानकारी दिए ।  पाटनमा यसअघि विभिन्न स्थानमा गरी ३४ शय्याको आइसोलेसनकेन्द्र पनि स्थापना गरिसकिएको छ ।  

यस्तै पाटन नगरपालिका–४ भूमेश्वरमा वडा कार्यालय, स्वास्थ्य चौकी र भूमेश्वर युवा क्लबले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । भारत तथा अन्य मुलुकबाट गाउँमा मानिस भित्रिएकाले तिनीहरुलाई अलग्गै क्वारेन्टाइनमा बस्न वडाध्यक्ष दीपकसिंह विष्टले आग्रह गरेका छन् ।

पाटन नगरपालिका–१० ले १० शय्याको आइसोलेसन कक्ष स्थापना गरेको छ । ब्रह्म अधारभूत विद्यालय हातामा उक्त आइसोलेसन कक्ष स्थापना गरिएको वडाध्यक्ष देवेन्द्र कुँवरले बताए । आइसोलेसन कक्ष स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहने र कोरोनाको शङ्कास्पद व्यक्ति भेटिने बितिक्कै रेफर गर्ने उनले बताए । आइसोलेसन कक्षमा आउने व्यक्तिहरुलाई खाना, बास बस्न र सरसफाइको व्यवस्था मिलाइएको छ । उक्त कक्षमा भारत तथा अन्य जिल्लाबाट आएका व्यक्तिलाई राखिने वडाअध्यक्ष कुँवरले बताए । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत वडाभित्र विदेशबाट आएका व्यक्तिको डाटा सङ्कलनको काम भइरहेको छ ।

शान्ति यज्ञ सम्पन्न 
बैतडीको दोगडाकेदारमा रहेको प्रसिद्ध दोगडा धाममा बुधबार शान्ति यज्ञ  सम्पन्न भएको छ । दोगडाधाम संरक्षण समितिको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा उक्त यज्ञ सम्पन्न भएको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपाल तथा यस क्षेत्रमा नभित्रियोस् भन्ने कामनासहित शान्ति यज्ञको आयोजना गरिएको समितिका सल्लाहकार दिनेश भट्टले जानकारी दिए । बुधवारदेखि १४ गतेसम्म सञ्चालन हुने भनिएको भए पनि भिडभाडबाट सङ्क्रमण बढ्न सक्ने भन्दै एकै दिनमा यज्ञ समापन गरिएको हो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप