कोरोनाभाइरस जत्तिकै खतरनाक बन्दै फेक न्यूज
काठमाडौँ । विश्वले नै यतिबेला कोरोनाभाइरसको महामारी सामना गरिरहेको छ । गरिब मुलुक होस् या धनी मुलुक, स्रोत साधन सम्पन्न शक्तिशाली मुलुक होस् या विपन्न मुलुक होस्, सबैलाई कोरोना संक्रमणले थिलथिलो बनाएको छ । सबैजसो देश र नागरिकको अवस्था उस्तै छ ।
अत्याधुनिक कार चढेर कार्यालय जाने व्यक्तिदेखि लिएर दैनिक ज्याला मजदुरी गर्ने वर्गसम्मले ‘लकडाउन’ सामना गर्दै आफ्नो दैनिकीलाई घरमै सीमित तुल्याएका छन् । मानिसहरु कोरोनाभाइरसको महामारीबाट बच्नका लागि हरसम्भव उपाय अपनाउन थालेका छन् ।
घरभित्र दैनिकी सीमित भएपछि मानिसहरु इन्टरनेटमा समय बिताउन थालेका छन् । यही परिस्थितिकाबीच समाचारको होड पनि चल्न थालेको छ । कसले ‘ब्रेकिङ्ग न्यूज’ दिने, कसले पठनीय सामग्री बनाउने भन्ने होड मिडियामा चलिरहेकै समयमा ‘फेक न्यूज’ अर्थात झुठा समाचारका पनि ओइरो लाग्न थालेका छन् । जसले पाठकहरुलाई भ्रममा पार्न थालेको छ ।
नेपालमा पनि ‘कोभिड १९’ अर्थात कोरोनाभाइरसको त्रास छ । स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसबाट जोगिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । सरकारले भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै ‘लकडाउन’ गरेको छ । गलत सूचनाले कोरोना संक्रमण नियन्त्रणमा कठिनाइ हुने भन्दै त्यसतर्फ ध्यान नदिन स्वास्थ्य अधिकारीहरुले अनुरोधसमेत गरेका छन् ।
अहिले नेपाली समाज पनि कोरोनाभाइरसका कारण तनावकै स्थितिमा छ । स्कुल कलेजहरु बन्द छन् । मानिसहरुलाई अति आवश्यक काम पर्दाबाहेक घर बाहिर ननिस्कन सल्लाह दिइएको छ । भाइरसको संक्रमण तीव्र हुने भएकाले एक व्यक्तिमा मात्र यो देखिए पनि परिस्थिति थप जटिल बन्ने निश्चित छ ।
तर, यस्तो परिस्थितिमा पनि सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी फेक समाचार ‘भाइरल’ बनाइएको अवस्था छ ।
कोरोना भाइरस संक्रमणका फेक समाचारले झनै जनमानसमा भ्रम सिर्जना उत्पन्न गराएको छ । ‘कोरोना भाइरसको उपचार नेपालमा सम्भव छैन’ जस्ता शीर्षक राखेरसमेत समाचार प्रकाशन भइरहेको छ र भाइरल बनाइएको छ ।
यतिमात्र होइन केही समय अगाडि एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भयो । नर्भिक अस्पतालमा ९ जना चेक गर्दा ६ जनामा कोरोना भाइरस देखियो र एकजना संक्रमितको मृत्यु भनेर अडियोमा दावी गरियो । अन्ततः उक्त दावी झुठो भएको पुष्टि भयो भने अडियो सार्वजनिक गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सामाजिक सञ्जालमा आफ्नो ‘रिच’ बढाउनका लागि यस्ता भ्रामक सामग्रीको सहारा लिने होड चल्दा सर्वसाधारणलाई भने थप त्रसित बनाएको छ ।
त्यस्तै, अर्को एउटा सूचना सामाजिक सञ्जालमा भाइरल भयो– ‘सेनाको हेलिकोप्टरले ‘कोभिड–१९’ विरुद्ध राति स्प्रे छर्नेछ ।’
नेपाली सेनाले तत्कालै विज्ञप्ति निकालेर यसलाई गलत भएको र स्प्रे छर्ने कुनै कार्यक्रम नरहेको बतायो ।
यता केही दिनदेखि सामाजिक सञ्जालमा एउटा टेलिभिजन समाचारको स्क्रिन सर्ट भाइरल भयो– कोभिड–१९ नियन्त्रणका लागि रुसी राष्ट्रपति पुटिनले पाँच सय बढी सिंह सहरमा छाडे ।
सामाजिक सञ्जालमा तस्वीरसहितको उक्त सूचना भाइरल हुँदैगर्दा अन्तर्राष्ट्रिय मिडियामा पहुँच नभएका सर्वसाधारणहरुले सोही कुरालाई वास्तविकता नबुझी सेयर गरे । तर सामाजिक सञ्जालमा भनिएजस्तो रुसमा त्यसरी सिंह छाडिएको थिएन ।
यसरी खतरनाक कोरोना भाइरसको फेक समाचार सामाजिक सञ्जालमा भाइरल भइरहँदा सम्बन्धित निकायको ध्यान जान नसक्नु दुर्भाग्यपूर्ण नै हो ।
पहिलेको तुलनामा सूचना र सञ्चारले निकै फड्को मारिसकेको अवस्था छ । सबैको हातहातमा सूचना प्राप्त गर्ने स्रोत छ । तर घटना ‘कन्फर्म’ गर्न गाह्रो छ । गाह्रो नहोस् पनि कसरी, जमानै फेक न्यूज र भाइरलको छ ।
फेक समाचारले धेरै ‘भ्यूअर्स’ हुने र गुगल एडसेन्सले पनि भ्यूअर्सकै आधारमा विज्ञापन दिने भएकाले कतिपयले यस्तो भ्रामक सूचनाको सहारा लिएर ‘भ्यूअर्स’ बढाउने गर्दछन् । विज्ञापनबाट उनीहरुले पैसा कमाउँछन् । पैसा कमाउनकै लागि उनीहरुले सर्वसाधारणको भावनासँग खेल्ने कुराहरु लेखेर राख्ने गरेको पूर्वएआईजी नवराज ढकाल बताउँछन् ।
उनले भने, ‘पैसा कमाउनका लागि फेक समाचारलाई भाइरल बनाउँछन् । कतिपय त्यस्ता सामाग्री पैसा तिरेर समेत भाइरल बनाइएको हुन्छ । त्यसैले यस्ता लिंकहरु खोलेर नहेर्दा नै राम्रो हुन्छ ।’
सामाजिक सञ्जालमा कोभिड–१९ को विषयमा फैलिने गलत सूचनाले कोभिड–१९ को भन्दा पनि ठूलो महामारी फैलाउने ढकालको दावी छ ।
फेक समाचारले क्वारेन्टाइनमा पनि असर गरेको र यसले देशलाई नै चुनौतीमा पु¥याउनसक्ने खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले बताउँछन् ।
केही दिनअघि गाउँलेले ट्वीटमा लेखेका छन्, ‘तथ्य परीक्षण बिना समाचार नबनाउने र विशेषज्ञको धारणा समावेश नगरी विचार दिँदै नदिने हो भने हामी पत्रकार ठूला गल्तीबाट जोगिन सक्छौं । कुनै पनि सन्देश सोचेर मात्रै सेयर गरौं, फेक न्यूजबाट बचौं र बचाऊँ ।’
सञ्चारकर्मी टीकाराम यात्रीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दर्ता नभई चलेका, अफवाह र अतिरञ्जना फैलाउने अनलाइन, युट्युबलाई नियमन गर्नुपर्नेमा जोड दिए ।
नेपालमा हालसम्म तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी