बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा

बिहीबार, १३ चैत २०७६, १२ : ३९
बिहीबार, १३ चैत २०७६

भक्तपुर । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पु¥याएको हो । 

अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पु¥याइएको थियो । त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई खरिपाटी क्वारेन्टाइन ल्याइएको थियो ।

त्यहाँ नियमित ज्वरो जाँच भइरहेको छ । दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली सेवामा खटिएका छन् । कोरोना सङ्क्रमणको आशङ्का देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा छ ।

सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यस बीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको छ ।  

आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्ने छन् । प्राधिकरणको क्यारेन्टाइनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।

त्यसैगरी सरकारले नगरकोटका होटललाई कम्तीमा ५०० जना क्षमताको क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आवश्यकता पर्दा यसलाई थप गर्दै लैजाने भएको छ भने चाँगुनारायणको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको होस्टेल भवनलाई भेन्टिलेटरसहितको आइसियु रहेको कम्तीमा ४० श्ययाको आइसोलेसन वार्ड तयार पार्ने भएको छ । यसका लागि अनुगमन गरेर आवश्यक तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप