शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलिब्रेटी भन्छन्– ‘लकडाउन’ को पालना गरौं, कोरोनाबाट बचौं

यो रोग हामीले लिन गयो भने आउने हो, नत्र घरमा आउँदैनः केकी अधिकारी
बिहीबार, १३ चैत २०७६, ११ : ४८
बिहीबार, १३ चैत २०७६

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९¬) नेपालमा पनि ३ जनामा देखा परिसकेको छ । विश्वमै चुनौतिको विषय बनेको यो भाइरस रोकथामका लागि नेपाल सरकारले मंगलबारदेखि एकसाताका लागि लकडाउन गरेको छ । 

सरकारको यो निणर्यले देश ठप्प छ । स्वास्थ्य भन्दा काम ठुलो होइन भनेर सबै पक्षबाट यो कदमको पालना भइरहेको छ ।

नेपाली कलाक्षेत्रका विभिन्न कलाकार पनि सरकारको लकडाउन कदम स्वागतयोग्य भएको बताउँछन् । उनीहरुले लकडाउन नियम आफूले पालना गरिरहेको बताउँदै सबैलाई कोरोनाबाट बच्न सरकारले बनाएको नियम  पालना गर्न समेत सुझाएका छन् । लकडाउनको समयमा कलाकारको क्रियाकलाप र सर्वसाधारणलाई दिएको सन्देश उनीहरुकै शब्दमाः

सीताराम कट्टेले ‘धुर्मुस’ (हास्यकलाकार) 
विश्वभरीनै कोरोना भाइरसले आतंक मच्चाएको छ । यो अवस्थामा सरकारले गरेको लकडाउन पूर्ण रुपमले पालना गर्नुपर्ने मेरो धारणा छ । यो आफ्नै लागि हो । अहिलेको समय घरमा बस्नु, बाहिर ननिस्किनु भनेको  सुरक्षित हुनु पनि हो । 

सावधानी कोरोनाबाट जोगिने सबैभन्दा राम्रो उपाय हो । म पनि केही दिनदेखि परिवार सहित करेन्टटाइममा छु ।

चितवनको भरतपुरमा निर्माणधीन रंगशालको काम समेत स्थगित गरेर म घर फर्किएको हो । सबैलाई यो रोगबाट जोगिन सरकारले बनाएको नियम पालना गर्न आग्रह गर्दछु । 

राजेशपायल राई (गायक) 
मेरो युरोप, अरब, साइप्रस लगायत करिव एक दर्जन देशमा कार्यक्रम राखिएको थियो । त्यो सबै छोडेर घरमै बसेको छु । केही दिन अगाडि गीत रेकडिङमा पनि व्यस्त थिएँ । अहिले सबै काम छोडेर घरमै बसेको छु ।
सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्छ । यो कोरोनाबाट जोगिने सबैभन्दा राम्रो उपाय हो । लकडाउन सबैले पालना गरौं भन्ने अनुरोध छ ।

दीपिका प्रसाईं (अभिनेत्री)  
अहिलेको अवस्थामा काम भन्दा पनि स्वास्थ्य हेर्ने हो । अहिले रोगबाट जोगिनु महत्त्वपूर्ण हो । 

एक ठाउँमा बस्न त गाह्रो रहेछ । तर यो समय किताब पढ्ने, चलचित्र हेर्ने, गीतसंगीत सुन्ने गर्न सकिन्छ । सरकारले गरेको लकडाउन पालना गर्न सबैमा अनुरोध गर्दछु । म केही दिनदेखि नै बाहिर निस्किएको छैन ।

दीपाश्री निरौला (अभिनेत्री, निर्देशक) 
कोरोना भनेको महामारी हो । अहिलेको अवस्थामा यो रोगबाट भाग्नु नै बुद्धिमानी मानिन्छ । 

सरकारको नियम पालन गरेर म सेल्फ क्वारेन्टाइममा बसिरहेको छु । एकै ठाउँमा बस्ने बानी नभएर होला गाह्रो हँुदोरहेछ । केहीले यो आदेश पनि नटेरेको देखिरहेकी छु । रोगबाट जोगिन सरकारले बनाएको नियमको आफू पनि पालना गरौं र आफन्तलाई पनि पालना गर्न लगाउन भन्छु । लकडाउनको नियम पालना गरेर कोरोनाबाट बच्न सकिन्छ । 

नीता ढुङ्गाना (अभिनेत्री ) 
म घरबाट बाहिर ननिस्किएको ५ दिन भैसक्यो । कोरोनाको डर धेरै लागिरहेको छ । परिवार पनिसँगै छन् । आफ्नो र आफन्तको स्वास्थ्य भन्दा ठुलो कुरो केही होइन मेरो लागि ।

सरकारले गरेको लकडाउनलाई मैले सकारात्मक रुपमा हेरेकी छु । आफू पालना गर्छु अरुलाई पनि सरकारको आदेश पालना गर्न अनुरोध गर्दछु ।

केकी अधिकारी (अभिनेत्री) 
सरकारको लकडाउन कदममा मेरो पूर्ण सहमति र सपोट छ । सबैलाई सरकारको कदममा साथ दिन अनुरोध पनि गर्दछु । सरकारको यो कदम हामी सबैका लागि हो । यो रोग हामीले लिन गयो भने आउने हो । नत्र घरमा आउँदैन । यदि सुरक्षित हुनुछ भने आनन्दले घरमा बस्न अनुरोध गर्दछ । म ५ दिनदेखि बाहिर निस्किएकी छैन ।

सुनिता दुलाल (गायिका) 
 सरकारले लकडाउन गर्नुभन्दा १० दिन अगाडिदेखिनै म घरबाट बाहिर निस्किएको छैन । कोरोनाबाट बच्न यो भन्दा ठूलो उपाय अहिले अर्काे छैन । यस्तो अवस्थामा कहिँ ननिस्किकन परिवारसँग बस्दा एक प्रकारको रमाइलो त छ । तर धेरै समय बस्दा एक किसिमले छटपटी हुँदो रहेछ । तर पनि रोगका लागि यो सहनु पर्छ । सबैलाई घरबाट बाहिर ननिस्किन अनुरोध गर्दछु ।

आकाश अधिकारी (कलाकार, निर्देशक) 

सरकारले यस्तो कदम लिँदैन कि भन्ने डर थियो । सरकारले राम्रो कदम चाल्यो । यो कदम हामी सबै जनताको हितमा छ ।
कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन हामी सबैले सरकारले बनाएको नियम पालना गर्नुपर्छ । यसले व्यवसाय, काम लगायत धेरै कुरामा केही समय असर पार्ला । तर स्वास्थ्य भन्दा ठूलो कुरो अन्य होइन भनेर सबैले बुझ्नु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप