बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई ठूलो समाजसेवी देखाउन रौतहटमा जनप्रतिनिधिद्वारा लकडाउन उल्लंघन

बिहीबार, १३ चैत २०७६, ०९ : २६
बिहीबार, १३ चैत २०७६

रौतहट :  विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको उल्लंघन गर्न रौतहटका निर्वाचित जनप्रतिनिधि नै लागिपरेको देखिएको छ ।

कोभिड१९ अर्थात कोरोना रोगको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा अन्य विकल्प नहुँदा सरकारले गत ११ गते देखी १८ सम्म लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनको अवधिमा अत्यावशयक काम बाहेक सबैलाई घरभित्र बस्न सरकारले आह्वान गर्दै आएको छ । 

तर, पछिलो समय रौतहटका निर्वाचित जनप्रतिनिधिहरुले मास्क र साबुन वितरणको नाममा सैयौं मानिसलाई एक ठाँउमा जम्मा गर्ने गरेका छन् । 
   
त्यस्ता गतिबिधी हेरेर विरोध गर्नुको सट्टा जनप्रतिनिधिले भेला गरेको भीडभाडलाई स्थानीय प्रहरीले नै सघाउने गरेको देखिएको छ ।

रौतहटको उत्तरीभेग फतुवा बिजयपुर नगरपालिका वडा १ का अध्यक्ष संजय साह र देवाही गोनाही नगरपालिका वडा ६ का अध्यक्ष अनिल कुमार झाको अगुवाईमा बुधवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी  स्थानीयहरुलाई मास्क र साबुन बितरण गरीएको थियो ।

फतुवा बिजयपुर वडा १ मा हिजो १५६० मास्क र ४०० साबुन बितरण गरीएको छ । उक्त अवसरका उपमेयर कान्तीदेवी महतो, इलाका प्रहरी कार्यालय बिजयपुरका ईन्सपेक्टर चन्द्रकिसोर साह लगायतको उपस्थिती रहेको थियो ।  उता देवाही गोनाही नगरपालिका वडा ६ मा  कुल ११ सय २० डेटोल साबुन र ६ सय थान मास्क बितरण गरीएको थियो ।

जिल्लाको पूर्वीभेग बृन्दाबन नगरपालिका वडा ५ का अध्यक्ष सुबोध झाको अगुवाईमा बुधवार सैयौं स्थानीयलाई एकठाँउमा जम्मा गरेर मास्क, सेनिटाईजर र साबुन बितरण गरीएको थियो । 

उक्त अवसरमा जनप्रनिधिहरुका साथै सुरक्षादिने प्रहरीको उपस्थिती देखिएको थियो । यी तिनवटा उदाहरण मात्र हुन् हिजो आज जिल्लाको १८ वटै स्थानियतहरुमध्ये अधिकांशमा मास्क, साबुन, सेनिटाईजर बितरणको नाममा दैनिक यस्तै सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्ने काम भईरहेको छ ।

जनप्रतिनिधीले मास्क, साबुन, सेनिटाईजर वितरण गर्दा सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्ने र कोरोना भाइरसबाट बचाउँन पहल गरेको बताउँछन् र उपस्थित जनसमुदाय र प्रहरीले ताली बजाउँछन् । यस्ता गतिविधि रोकिदिने कोही हुँदैन ।

यता, मोटरसाईकल लिएर बाटोमा निस्किँदा लकडाउन उलंघन भयो भनेर रौतहटमा प्रहरीले बुधवार मात्रै चारसय बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

अर्कोतर्फ जनप्रतिनिधिले नै मास्क, साबुन, सेनिटाइजर बितरणको नाममा सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्नु कोरोना भाइरसको जोखिम बढाउनु हो । 

महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण रोक्ने अन्य कुनै विकल्प नभएकै कारण सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको उद्देश्य सफल बनाउन सरकारले सबै जनशक्ति खर्चिनुुका साथै जनप्रतिनिधिबाट पनि सहयोगको अपेक्षा राखेको छ ।

तर, सरकारको सानो लगानीमा मास्क, सेनिटाइजर, साबुन बितरण गरेर फोटो, भिडिओ सामाजिक संञ्जालमा राखेर आफू ठूला समाजसेवी देखाउने जनप्रतिनिधिको होडले रौतहटमा कोरोनाको थप जोखिम बढेको जानकारहरुले बताएका छन् ।

जिल्ला समन्वय समितिका उपसभापति रामअशिस यादवले सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा कुनै पनि बहानामा सैयौं मानिस एक ठाँउमा जम्मा गर्नु मानबिय संबेदनाविपरित गरेको बताएका छन् ।

गाँउपिच्छे एक एकजनालाई खटाएर घर घरमै मास्क, सेनिटाइजर अथवा साबुन पुर्याउन सकिने स्थानमा जनप्रतिनिधिले गरीरहेको गतिबिधी रोक्न स्थानिय प्रशासन गम्भिर हुनुपर्ने उपसभापति यादवको भनाई छ ।
रौतहटका सिडिओ बाशुदेव घिमिरेले मास्क, सेनिटाइजर, साबुन बितरणको नाममा लकडाउनको उद्देश्यविपरित कृयाकलाप रोक्न तत्काल पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप