बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

४६ सय जनसंख्या भएको गाउँ, जहाँ कोरोनाले २३ दिनमै लियो ३६ को ज्यान

बिहीबार, १३ चैत २०७६, ०९ : ००
बिहीबार, १३ चैत २०७६

एजेन्सी । मिलान शहरको उत्तरपूर्वी क्षेत्रमा प्राचीन ढुंगाका घरहरुसहित भेर्तोभा गाउँ उभिएको छ, यहाँको जनसंख्या झन्डै ४ हजार ६ सय छ र सरदर वर्षेनी ६० जनाको मृत्यु हुन्छ ।

तर कोरोना भाइरसले अवस्था फरक निम्त्याइदिएको छ, यहाँ २३ दिनमा ३६ गाउँलेको मृत्यु भइसकेको छ । त्यसैले, पहिले गाउँबारे वर्णन गरिएका समाचारका कटिङ्ग झुन्ड्याइने सूचनाबोर्डमा महामारीबारे लेखिएको छ,‘युद्धभन्दा खराब ।’

भर्तेभाका मेयर ओरलाने गुआल्डीले यस परिस्थितीलाई दोस्रो विश्वयुद्धभन्दा खराब मानेका हुन् । बुधबारसम्म इटलीको परिस्थिती नियन्त्रणबाहिर थियो र कुल ६ हजार ८ सय २० को मृत्यु भइसकेको थियो, यतिबेलासम्म भर्तेभामा ३६ जनाले ज्यान गुमाइसकेका थिए ।

मिलानबाट ७० किलोमिटर पर पहाडसँगै जोएिको यस गाउँमा प्राचीन ढुंगाका घरहरु छन् र यहाँ यसअघि सरदर वार्षिक ६० जनाको मृत्यु हुन्थ्यो ।

‘अहिले युद्धभन्दा खराब अवस्था छ,’ मेयर गुआल्डीले गाउँका खाली घरहरु देखाउँदै एएफपीसँग भने ।

गाउँको प्रवेशद्धारअघि नै भर्खरै तयार गरिएका चारवटा कफिन (लाश राख्ने बाकस) एकैपटक बाहिर लैजाने तयारी हुनेछ । तत्कालै यी लाशको अन्त्येष्टी भने हुनेछैन ।

चार साताका लागि अन्त्येष्टी कार्यक्रममा प्रतिबन्ध लगाइएको छ  ।  अन्त्येष्टी समारोह कर्मचारी खटिने छन्, उनीहरुले  सुरक्षा कवच र मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चिहान यसकारण पनि बन्द छ किनकी गाउँलेहरुलाई बाहिर निस्कन प्रतिबन्ध छ । त्यसैले आफ्नो प्रियजनको चिहान फुल राखिदिएर उनीहरुलाई अन्तिम बिदाई गर्न पाइँदैन । ‘कसैले पनि यस्तो डरलाग्दो मृत्यु चाहदैंन,’ मेयरले भने, ‘सन् २०२० मा यस्तो महामारी आउँछ भने सोच्नु त मुर्खता नै थियो, तर यस्तै भइदियो ।’

भेर्टोभा र यसको दक्षिणतर्फ रहेका बेगार्मो शहर इटलीक महामारीका इपिसेन्टर हुन् । यहाँ मृत्यु र संक्रमितको दर विश्वमै उच्च छ, चीनको हुवेई प्रान्तमा आधिकारीक रुपमा दर्ता भएभन्दा पनि निकै भयावह ।

भिर्तेभाका झन्डा फहराइएका सडक र गल्लीहरु केही दिनदेखि रित्तो छन् । घरबाहिर निस्कने हरेकले मास्क लगाएका छन् । ‘दुर्भाग्यवस्, अब गाउँमा मास्क नै बाँकी छैन । यहाँ सेनिटाइजर छैन,’ ६३ वर्षीया अगुस्टा म्याग्नीले भने, ‘मैले आफैं सिलाई मेसिन र कपडाको टुक्राबाट आफ्ना लागि मास्क बनाउनु पक्यो ।’

सेल्स एजेन्ट क्लाउडियो बेर्टोचीले भने, ‘हामी प्रत्येकका आफन्त, साथीभार्ई वा प्रियजनमध्ये कोही न कोही संक्रमित छ । तर आशा बाँकी छ ।

बच्चाहरुले बनाएका इन्द्रेणीका चित्र र त्यससँगै ‘एभ्रिथिङ विल बी फाइन’ लेखिएको सन्देश केही घरका झ्यालमा झुन्ड्याइएका छन् । बाल्कोनीको रेलिङमा इटलीको झन्डा बाँधिएको छ । गुआल्डी अझै पनि लाश गनिरहेका छन्, ‘१ मार्चदेखि अहिलेसम्म ३६ जनाले ज्यान गुमाए । तपाईंले यहाँ चलिरहेको महामारीको म्याग्निच्युड यसैबाट बुझ्नसक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप