बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्डक्सन चुल्होमा भन्सार छुट

बिहीबार, १३ चैत २०७६, ०६ : ५२
बिहीबार, १३ चैत २०७६

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ । भ्याट भने यथावत नै रहनेछ । ‘इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत् महसुल र भन्सार महसुल छुट दिने व्यवस्था मिलाउन आग्रह गरिएको’, सहभागी एक मन्त्रीले बताए ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै सरकारलाई एलपी ग्यासको आपूर्ति सहज बनाउन चुनौती भइरहेको छ । अर्कोतर्फ विद्युत् खपत घटिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को सहज आपूर्ति भएको बताउँदै इन्डक्सन चुल्हो लगायत विद्युतीय सामग्री निस्फिक्री प्रयोग गर्न आग्रह गरिरहेको छ । प्राधिकरणका अनुसार बिहान बेलुका विद्युत्को माग सामान्य अवस्थामा १,२०० मेगावाटसम्म पुगेकोमा अहिले पिकमा पनि ९ सय ४५ मेगावाट माग छ । विद्युत् महसुल र भन्सार महसुलमा छुट दिँदा इन्डक्सन चुल्हो किफायती पर्ने देखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप