बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा नेपाल टेलिकमको अफर : जति रिचार्ज, त्यतिनै वोनस

बुधबार, १२ चैत २०७६, १७ : ३७
बुधबार, १२ चैत २०७६

काठमाडौँ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । 

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट पास एज यु गो (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप