शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा सर्वसाधरणलाई सेनाले बनायो आइसोलेशन कक्ष

बुधबार, १२ चैत २०७६, १५ : २१
बुधबार, १२ चैत २०७६

गुल्मी । सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा नेपाली सेनाको टोलीले १६ शैयाको आईसोलेशन कक्ष  निर्माण गरेको छ । गुल्मीका  प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सेनाले आइसोलेसन कक्ष निर्माण गरेको हो ।

हिजो एकै दिनमा वीरभद्रजंग गुल्म र धागीथुम ब्यारेकको १५ जनाको टोलीले उक्त क्षमताको आईसोलेशन निर्माण गरेको  गुल्मपति सेनानी भुपेन्द्र गुरुङ्घले जानकारी दिए । सेनाको टोलीसँग आईसोलेशन निर्माण कार्यमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा पनि खटेका थिए । 

सेनानी गुरुङ्घले ब्यारेकमा पनि क्वारेन्टाईन र आईसोलेशन बेग्लाबेग्लै बनाइएको जानकारी दिए  । ‘हाललाई सैनिकहरुका लागि मात्र बनाइएको छ’ सेनानी गुरुङ्घले भने– ‘ब्यारेक भित्रै सर्वसाधरणका लागि पनि बनाउने सोच जंगी अड्डााले बनाउन सक्छ ।’

सेनाको टोलीले जिल्ला अस्पताल परिसरमा पनि आईसोलेशनका लागि पालहरु टाँग्ने काम गरेको छ । त्यस्तै सेनाको एक टुकडी समेत परिचालन भएको छ । परिचालित सेनाको टोलीले यातायातका साधन र मानिसहरु हिँडे समातेर प्रशासनलाई बुझाउने गरेको छ ।

त्यस्तै, गुल्मीको उर्लेनीमा रहेको सशस्त्र प्रहरी गुल्मको टोली र नेपाल प्रहरी पनि चौबिसै घण्टा परिचालन भएको छ । सशस्त्र प्रहरी गुल्मका गुल्मपति (डिएसपी) विनोदराज खनालले उर्लेनीको चेक पोष्टमा सदरमुकाम भित्रिने मानिसहरुको संख्या र सामान्य चेक जाँज गरेर भित्र्याउने गरिएको बताए । पछिल्लो एकहप्तामा झण्डै ६ हजार मानिस तम्घासमा मात्रै उत्रिएको आंकलन गरिएको छ ।

कोरोना व्यवस्थापनका लागि सदरमुकाममा बन्दै गरेका आइसोलेसन कक्षका लागि वेडको समस्या देखिएको छ । महेन्द्र नमुना माविमा निर्माण गरिएको आइसोलेसन कक्ष रेसुङ्घा अस्पतालबाट आबश्यक वेड लगायका सामग्री झिकाएर निर्माण गरिएको हो । यहाँका १२ वटा स्थानीय तहमध्ये कैयौंले वेडको अभाव रहेको बताएका छन् । धुर्कोट गाउँपालिकामा पनि वेडको अभाव रहेकोले यथाशिघ्र झिकाउन लागिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार कोरोना भाइरस सक्रमणको आशंका लागे बेग्लाबेग्लै राख्ने क्वारेन्टाईन  र  स्वास्थ्य उपचारका लागि आईसोलेशन कक्ष पनि त्यही बनाइएको हो । पालिका स्तरमा पनि आइसोलेशन छिटोभन्दा छिटो बनाउन आग्रह गरिएको प्रजिअ शर्माले बताए ।

गुल्मीको प्रवेशद्धार रिडी लगायतका  मुख्य–मुख्य नाकाहरुमा  हेल्थ डेक्स राखिएको र आज विहान पनि  बुटवल पाल्पा हुँदै रिडी आएका गुल्मेलीहरुलाई स्वाथ्य परिक्षण गरेर पैदल हिँडेर आउन अनुमति दिइएको उनले जानकारी दिए । सरकारले देशैभर लक डाउनको घोषणा गरेको बेला सर्वसाधारणले अटेरी गरेपछि गुल्मीमा हिजोदेखि कफ्र्यु आदेश जारी गरिएको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप