बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका सबै तहमा उच्च सतर्कता

मङ्गलबार, ११ चैत २०७६, १३ : ५५
मङ्गलबार, ११ चैत २०७६

–नारायण अधिकारी
चितवन । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । जिल्लाको सदरमुकाममा रहेको भरतपुर महानगरपालिकाले यहाँको प्रदर्शनी केन्द्रमा ७० श्ययाको अलग्गै कोरोना अस्पताल स्थापना गरी काम अगाडि बढाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुरको सरकारी, नीजि र मेडिकल कलेजमा ज्वरोका विरामी मात्रै जाँच गर्न बेग्लै व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा आइसोलेशन वार्ड, दुइ मेडिकल कलेजमा विशेष जाँच र आइसोलेशनको व्यवस्था, नीजि अन्य अस्पतालमा ज्वरोका विरामीलाई जाँच गर्ने, आइसोलेशनमा राख्नु पर्ने भएमा त्यही राख्नु पर्ने, थप शङ्का लागेमा मात्र कोरोना अस्पतालमा पठाउने गरी व्यवस्था मिलाइएको महानगरप्रमुख दाहालले जानकारी दिइन् ।

‘महानगरपालिकाभित्र स्वास्थ्य सचेतनाको लागि काम गरेका छौँ’, उनले भनिन्, ‘मानिसको भिड हुने स्थान बन्द गराएका छौँ । अन्य स्थानमा सचेतना जगाउने र स्वस्थ व्यवहार गर्नका लागि व्यवस्था गरिएको छ ।’ यस्तै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार त्यहाँको गुञ्जमान अस्पतालमा २० र रत्ननगर अस्पतालमा तीन श्ययाको आइसोलेशनको व्यवस्था गरिएको छ । नगरपालिकाको हरेक वडामा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भिड हुने स्थान बन्द गराइएको छ । शङ्का लागेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन हेल्थ डेस्क स्थापना गरिएको छ । 

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कोरोना भाइरस सङ्क्रमण रोक्न आवश्यक सतर्कता अपाउने काम भएको बताए । नगरवासीलाई सावुन पानीले हात धोएर मात्र खाने सामग्री प्रयोग गर्न, भेटघाट कम गर्न, घरमा नै बस्नलाई सूचित गरेको, उच्च ज्वरोका विरामीलाई भरतपुरको अस्पतालमा जान सचेतना जारी गरिएको छ । 

राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार भण्डारा अस्पतालमा तीन श्ययाको आइसोलेशनको व्यवस्था गर्ने गरी तयारी भएको छ । ठूला अस्पताल नभएको र मानिसको भिड कम हुने भएकाले यहाँ अलगै राखिने गरी व्यवस्था नभएको जानकारी दिइन् । नगरवासीलाई स्वस्थ व्यवहार गर्न सचेतना जगाइएको उनले बताइन् । 

कालिका नगरपालिकामा रहेको जुटपानी प्राथमिक स्थास्थ्य केन्द्रमा आइसोलेशनको व्यवस्था गर्न ठाउँ तयारी अवस्थामा रहेको छ । नगरपालिकाको वडा कार्यालयमा अत्यावश्यक काम बाहेक अन्य सेवा बन्द गरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भारतसँग सीमा जोडिएको ठोरी नाकाबाट नेपाल भित्रन रोक लगाइएको बताए । नेपाली नागरिक भए उनीहरुलाई सुरक्षित तरिकाले ल्याएर विद्यालयको अलग्गै कोठामा राख्ने तयारी गरिएको छ । सवारी साधनलाई भने ठोरी माडी चल्नमा रोक लगाइएको छ । 

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाका प्रमुख गीता गुरुङका अनुसार मानिसको अत्यधिक भिड हुने ठाउँ भएरकाले कुरिनटारबाट मनकामना जाने केबलकार बन्द गरिएको छ । विरामीलाई उपचार गर्न यहाँको स्वास्थ्य केन्द्र र नीजि अस्पतालमा व्यवस्था मिलाइएको छ । शङ्का लागेका व्यक्तिलाई भरतपुर पठाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।  

रोगको सङ्क्रमणबाट बच्न दैनिक बैठक बसेर उपायहरु अपनाइ राखेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए । जिल्लाका अस्पतालले आफ्नो सेवा दिनुपर्ने, आवश्यक चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गर्ने, दैनिक भएका घटनाको विषयमा हरेक दिन सूचना जारी गर्ने गरी तयारी भइराखेको उनले बताए । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा थप क्वारेन्टाइन निर्माण गर्न आग्रह गरिएको छ । त्यसको लागि स्थानीय तहले ठाउँ खोजी र व्यवस्थापनको काम भइरहेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप