शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन पटक अस्पताल गए, गरिएन परीक्षणः कोरोनाका कारण मृत्यु

मङ्गलबार, ११ चैत २०७६, १२ : २८
मङ्गलबार, ११ चैत २०७६

संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो छ । संसारका थुप्रै देश अहिले कोरोनासँगको युद्धमा छ । तर सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकामाथि विभिन्न प्रश्न तेर्सिएका छन् । अमेरिकामा कोरोना भाइरसको कम परीक्षण भएको भन्ने खबर लगातार आइरहेका छन् । यस्तै, एक यस्ता व्यक्तिको मृत्यु भएको छ जसलाई डाक्टरले कोरोना भाइरसको परीक्षण गर्न तीन पटक अस्विकार गरेका थिए ।

डेली मेलको खबर अनुसार अमेरिकाको मिसौरीमा बस्ने ७४ वर्षका डेनिस विलसन पहिलो पटक मार्च १२ मा बिरामी भएपछि अस्पताल गएका थिए ।

उनकी श्रीमती जोनाका अनुसार उनी डाक्टरलाई भेट्न तीन पटक अस्पताल गएका थिए तर बिरामी हुँदासमेत उनको स्वास्थ्योपचार गरिएन ।

उनको शरीरमा खासै धेरै लक्षण नदेखिएकोले परीक्षण आवश्यक नभएको  भन्दै डाक्टर पन्छिएको  उनकी श्रीमतीले जानकारी दिइन् । पछि उनी असाध्यै बिरामी भएपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्याएको श्रीमतीले बताइन् ।

तर शनिबार डेनिसको मृत्यु भयो । उनकी श्रीमतीले फेसबुकमा लेखिन्, ‘लडाईं समाप्त भयो ।’

यस्तै डेनिसजस्तै अमेरिकाका धेरै मानिसहरुले कोरोना भाइरसको परीक्षण नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अमेरिकाका प्रभावशाली जनता, सेलिब्रिटी, नेता र धनाढ्यले निकै सजिलै कोरोना भाइरसको परीक्षण गराइरहेका छन् ।

बास्केटबल असोसिएशनका थुप्रै समूहले आफ्ना सबै खेलाडीको कोरोना भाइरस परीक्षण गराएको छ ।

जोनाका अनुसार मार्च १५ मा डाक्टरले डेनिसको एक्सरे परीक्षण गर्दा उनी निमोनियाबाट पीडित भएको थाहा पाएका थिए । डाक्टरले उनलाई कोरोना भाइरसको संदिग्ध भएको थाहा पाउँदा पाउँदै पनि कोरोना भाइरसको परीक्षण नगरेको जोनाले आरोप लगाइन् । पछि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । जोनाका अनुसार उनको श्रीमान्ले मृत्यु अघिको एक हप्ता निकै पीडामा बिताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप