शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता, सुरक्षाकर्मी परिचालन

मङ्गलबार, ११ चैत २०७६, १० : ३९
मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ ।

यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।

 सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो । आज बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई नेपाल आउन दिइएको छैन । मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन् । 

यहाँका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र  कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन् ।
पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ । त्यसैगरी सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन् ।  साथै आइसोलेशन कक्ष र क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन् ।

पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार  पुलबाट आवागमन रोकिएको छ ।

भारतका विभिन्न क्षेत्रमा कोरोनाको सङ्क्रमण देखिएपछि सुदूरपश्चिमका नाकाबाट एक सातामा करीब एक लाखभन्दा बढी नेपाली घर फर्किएको बताइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख  नूरहरि खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले लक डाउन गरिएको बताए । “सूचनाको बेवास्ता गरी अनावश्यक भीडभाड र हिँड्डुल गरेको पाइए कानूनबमोजिम कारबाही हुन्छ ।” उनले भने,“सचेत भएर घरमै बस्नु भनेको आफ्नै लागि हो ।”
स्थानीय तह पनि सङ्क्रमण फैलिन नदिन वडास्तरसम्म सक्रिय रुपमा लागिपरेका छन । डडेल्धुरामा आज बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।
बाजुरामा विशेष गरेर तराईका जिल्लाबाट जिल्लामा गएका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा जोड दिइएको छ ।

डोटी जिल्लाले पनि मङ्गलबारदेखि लागू हुने गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।  अछाम र बझाङ्गमा पनि आवश्यक तयारी, स्वास्थ्य परीक्षण र सचेतनामलक कार्यक्रमलाई स्थानीय तह र प्रशासनले जोड दिएका छन् ।

त्यसैगरी दार्चुलामा पनि भारतसित सीमा जोडिएका महाकाली नदीमा अवस्थित चार पुलबाट आवागमन पूर्ण रुपमा रोक लगाइएको छ ।

दार्चुलाका संवाददाता नरेन्द्रसिंह कार्कीका अनुसार सदरमुकामको बसपार्कमा नेपाली सेनाको स्वास्थ्य कक्ष सञ्चालनमा आएको छ । त्यसैगरी गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकाले कक्षमार्फत स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ ।

यस्तै यहाँको पहाडी जिल्ला बैतडीसित जोडिएको झुलाघाट नाकाबाट आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले केन्द्रको निर्णयानुसार जिल्लाको सीमानाका बन्द गरिएको जनाएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिकामा दुई, दोगडा केदारमा एक, सुर्नया गाउँपालिकामा तीन, पुच्यौडीमा पाँच र दशरथ नगरपालिकाको झुलाघाटमा स्वास्थ्य कक्ष स्थापना गरिएको छ  भने बैतडी जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालमा आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप