बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडलमा दिवेशको प्रस्तुतीले निर्णायक लियोनेल रिचीलाई रुवायो (भिडियो)

मङ्गलबार, ११ चैत २०७६, ०७ : ४९
मङ्गलबार, ११ चैत २०७६

अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् ।

गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलमा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए ।

दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई हेरेर भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए । मलाई माफ गर्नुहोस् ।’

दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए ।

उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए । अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए । उनले गीतको स्केल पनि परिवर्तन गरे ।

आफ्नो प्रस्तुती अघि उनले यो एक्सपेरिमेन्टल (प्रयोगात्मक) भएपनि ब्यान्डसँग यो निकै राम्रो सुनिने उनले सुरुमा अनुमान गरेका थिए ।

‘यो जोखिम हो तर यहाँ प्रयास त गर्नैपर्छ,’ सार्वजनिक भएको भिडियोमा उनले भनेका छन् ।  

यद्यपि, निकै छोटो समय भएकोले दिवेशको अरेन्जमेन्टमा ब्यान्डले राम्रोसँग प्रस्तुती दिन नसकेपछि अन्तिम समयमा आफैंले गितार बजाएर गाउने निश्चित गरे । आफूसँग यो भन्दा अरु विकल्प नभएको पनि उनले बताए ।

अन्तिम समयमा स्थिती अलि जटिल देखिएपनि उनले प्रस्तुती दिएपछि तीनै जना निर्णायकले ‘स्ट्यान्डिङ ओभेसन’ अर्थात् उत्साहपूर्ण स्वागत गरेका छन् ।

दिवेशले पनि आफ्नो प्रस्तुती सन्तोषजनक रहेको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप