बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार हप्तापछि दक्षिण कोरियामा नयाँ संक्रमितको सङ्ख्या अहिलेसम्मकै न्यून

सोमबार, १० चैत २०७६, २३ : ०५
सोमबार, १० चैत २०७६

चार हप्ताअघि दक्षिण कोरियामा उच्च विन्दुमा पुगेको नयाँ संक्रमितको सङ्ख्या अहिलेसम्मकै कम देखिएको छ । चीनबाहिर एसियामा सबैभन्दा संक्रमित भेटिएको दक्षिण कोरियामा कोरोनभाइरस संक्रमित कम हुन थालेपछि विश्वलाई यसले नयाँ आशा प्रदान गरेको छ ।

पछिल्लो २४ घण्टामा देशमा मात्र ६४ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै त्यहाँ कूल संक्रमितको सङ्ख्या ८ हजार ९६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय ११ पुगेको छ ।

यद्यपि, स्वास्थ्य अधिकारीहरुले आशाबीच लापरवाही भने गर्न नहुने चेतावनी दिएका छन् । उनीहरुले कोभिड–१९ विरुद्ध अझै लामो युद्ध लड्न बाँकी रहेको दोहोर्याएका छन् ।

दक्षिण कोरियामा हरेक दिन २० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरस परीक्षण गरिदै आएको छ । सन् २०१५ मा मर्सको महामारीका दौरान दक्षिण कोरियाले यसरी नै परीक्षण गर्ने विधि अवलम्बन गरेको थियो । त्यतिबेला साउदी अरेबियापछि दक्षिण कोरियामा यस रोगका सबैभन्दा बढी संक्रमित फेला परेका थिए । 

मर्सको महामारीपछि देशले संक्रामक रोगको नियन्त्रणका लागि पारम्परिक व्यवस्था त्यागेर नयाँ दृष्टिकोणबाट अघि बढ्ने पाठ सिकेको थियो । त्यसले उनीहरुलाई सम्भावित ‘खराब अवस्था’ को लागि तयार गरेको थियो । अहिले त्यही पाठले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि फलदायी साबित हुन थालेको बताइएको छ ।

यतिबेला युरोप कोभिड–१९ को महामारीको केन्द्रविन्दु बनेको छ । इटालीमा आइतबार ६ सय ५१ नयाँ संक्रिमत फेला परेका छन् । त्यहाँ मृत्यु हुनेको सङ्ख्या ५ हजार ४७६ पुगेको छ । स्पेनमा पनि पछिल्लो २४ घण्टामा थप ४ सय ६२ जनाको मृत्यु हुँदै मृतकको सङ्ख्या २ हजार १ सय ८२ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप