मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाका सुनसान, भन्सार कार्यालयमा चहलपहल घट्दै

सोमबार, १० चैत २०७६, १७ : ०३
सोमबार, १० चैत २०७६

काठमाडौं । स्थलमार्गबाट हुने अन्तरदेशीय आवागमनमा प्रतिबन्धको प्रत्यक्ष असर ढुवानी सेवामा देखिएको छ । 

सरकारले सोमबार बिहान १० बजेदेखि स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिरिने सबै नाका बन्द गरेपछि भारतीय सीमा नाका अहिले चहलपहल निकै घटेको छ । सोही कारण ती नाकामा रहेका भन्सार कार्यालयमा समेत चहलपहल निकै घट्दै गएको हो । 

आवत जावतमा रोक लगाएका कारण भन्सार जाँचपास खुला भए पनि जाँचपासका लागि आउने ट्रक र कन्टेनरको संख्या अहिले घट्दै गएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । ढुवानी साधनको संख्यामा कमी आउँदा यसले राजश्व संकलनमा प्रत्यक्ष प्रभाव पार्ने भन्सार अधिकारीको भनाइ छ । 

बिहानसम्म निकै चहलपहल देखिएको वीरगञ्ज नाका यतिबेला सुनसान छ । नाका सुनसान भएपछि निकासी तथा पैठारीमा समेत चहलपहल कम देखिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढुण्डी निरौलाले बताए । भन्सार कार्यालयबाट हुने जाँचपासमा कुनै अवरोध नभए पनि आवतजावत रोकिँदा आपूर्ति र पैठारीमा कमी आएको प्रमुख भन्सार अधिकृत ढुण्डी निरौलाको भनाइ छ । 

‘भन्सार कार्यालयमा आएका कुनै पनि ट्रक र कन्टेनरको जाँचपास हामीले रोकेका छैनौ । हिजो जसरी गथ्र्यौ, अस्ति जसरी गथ्र्यौं आज पनि त्यसरी नै जाँचपास भइरहेको छ । नाका बन्द भएपछिको बजेसम्म मात्रै हामीले अस्थायी पैठारीका १८ ओटा र मालबाहक २ ओटा समेत गरी २० ओटा गाडीको जाँचपास गर्यौं । तर आवतजावत बन्द भएपछि बिजनेस कम भएको चाहिँ छ, यसले राजश्वमा पनि कमी ल्याउन सक्छ’ प्रमुख भन्सार अधिकृत ढुण्डी निरौलाले भने । 

भैरहवा भन्सार कार्यालयमा पनि भारतबाट आयात हुने मालबाहक सवारीको संख्या घट्न थालेको छ । आइतबार बिहानदेखि सोमबार १० बजे सम्म मात्रै ६५० भन्दा बढी गाडीको जाँचपास गरेको उक्त कार्यालयमा सोमबार दिउँसोदेखि जाँचपास गर्न आउनेको संख्या घट्न थालेको छ । 

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी बलराम भण्डारी जाँचपासका लागि आएका सवारी साधनको प्राथमिकता क्रमअनुसार जाँचपास गरिरहेको जानकारी दिए । ‘अझै केही सवारी साधनहरु बाँकी छन्, ती साधनमध्ये अत्यावश्यक वस्तुहरुलाई बढी प्राथमिकता दिएर जाँचपास गरिरहेका छौं’, भण्डारीले भने । भारतमा आह्वान गरिएको जनता कफ्र्युका बाबजुद यति ठूलो संख्यामा जाँचपास भए पनि सोमबारदेखि यो क्रम घट्न थालेको हो । 

पूर्वको मेची भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । आवागमन बन्द भएपछि त्यहाँबाट आउने सवारी साधनको संख्या कम हुँदै गएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । वाँचपासका लागि आएका सवारी साधनको भने प्राथमिकता क्रमकै आधारमा जाँचपास गरेर पठाउने गरेको उनले बताए ।

‘पेट्रोल, डिजेल जस्ता अत्यावश्यक वस्तु बोकेका ट्रक कन्टेनरको जाँचपास भइरहेकै छ । केही अस्थायी पैठारीका सवारी र केही मालबाहक सवारी पनि बाँकी छन्’ विभागको निर्देशनअनुसार उनीहरुलाई जाँचपास गरेर पठाउँछौं । अहिले नयाँ सवारी साधन आउन चाहिँ कम भएको छ’ उनले भने । 

उत्तरी नाकाहरुमा भने प्रतिबन्धको कुनै प्रभाव देखिएको छैन । उत्तरी सीमा नाका पहिलेदेखि नै बन्द भएका कारण सरकारको निर्णयपछि दक्षिणी सीमा नाका यसरी प्रभावित हुँदा पनि उत्तरतिर भने कुनै असर नपारेको हो । चीनमा कोरोना भाइरसको संक्रमण देखिएसँगै माघ २० गतेदेखि नै उत्तरी सीमा नाकाहरु बन्द गरिएका थिए । त्यो दिनदेखि तातोपानी, रसुवागढी, कोराला लगायतका सबै भन्सार कार्यालयहरु बन्द छन् । 

उत्तरतर्फको एउटै मात्र अन्तराष्ट्रिय नाका रसुवागढी पनि अहिले बन्द छ । भन्सार कार्यालयले माघ २० पछि कुनै पनि जाँचपास नभएको जनाएको छ । त्यो बेलादेखि सो नाकाबाट हुने मानिसको आवागमन समेत शुन्यप्राय छ । 

अहिले चिनियाँ नाकाबाट आवतजावत गर्नेलाई २ हप्तासम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा वस्नुपर्ने व्यवस्था गरिएको छ । २÷४ दिनको कामका लागि २ हप्ता क्वारेन्टाइनमा बस्न कोही पनि तयार नहुने भएकोले यो नाका भएर आवतजावत गर्ने संख्या यसअघि नै शुन्यप्रायः भएको रसुवा भन्सार कार्यालयका प्रमुख पुन्यविक्रम खड्काले बताए । त्यसैले यतिबेला सो मार्ग भएर कुनै पनि मालबाहक सवारी साधन प्रवेश गर्न सकेको छैन । 

सामान्य मानिसको आवागमनमा लगाइए पनि अत्यावश्यक वस्तुको ढुवानीमा भने रोक लगाइएको छैन । त्यसैले यसले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा कुनै प्रभाव नपार्ने सरकारले दाबी गरेको छ । अहिले त्यस्ता मालबाहक सवारी साधनमा यात्रा गर्नेले न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरेर आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, भन्सार कार्यालयलाई समेत अत्यावश्यक सामानहरुको जाँचपासलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको बताइएको छ । 

कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै सरकारले स्थलमार्गबाट हुने आवागमनमा एक साताका लागि रोक लगाएको छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज (सोमबार) बिहान १० बजेखेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । यो निर्णयले भारत र चीन दुवै देशसँगको आवतजावतलाई समेट्ने भए पनि चीनतर्फको आवतजावतमा यसअघिदेखि न कडाई गरिएकोले उत्तरी सीमातिर यो निर्णयको खासै ठूलो प्रभाव परेको छैन । चीनतर्फ आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएपछि त्यस्तो आवतजावत गर्ने संख्या ज्यादै न्यून थिए । भारततर्फ भने दैनिक हजारौं नागरिकहरुको आवतजावत हुँदै आएको छ । 

स्थल मार्गबाट हुने  आवतजावत सोमबारदेखि प्रतिबन्ध गरिए पनि हवाई मार्गबाट नेपाल प्रवेश गर्न भने सरकारले आइतबारदेखि नै रोक लगाई सकिएको छ । देशभित्रै पनि लामो दूरीका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यक बाहेकका सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप