मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासबीच सेवाः सुनसान बैङ्क, फुर्सदिला कर्मचारी

यी माध्यम प्रयोग गरे बैङ्क जानुपर्दैन
सोमबार, १० चैत २०७६, १५ : २२
सोमबार, १० चैत २०७६

बैङ्कमा ग्राहकको भीड कम हुन थालेको छ । सरकारले अत्यावश्यक बाहेक सबै क्षेत्र चैत ९ देखि २१ गतेसम्म बन्द गर्न भनेपछि सबै क्षेत्र सुनसान देखिएको छ । अत्यावश्यक सेवाभित्र पर्ने वित्तीय सेवा प्रदान गर्ने बैङ्क खुले पनि सुनसान देखिएको छ । 

नबिल बैङ्कका सिइओ अनिल केशरी शाह अहिले बैङ्कमा ग्राहकको भीड कम भएको बताउँछन् । शाहले आफ्ना कर्मचारीको सुरक्षाको लागि मास्क, पन्जा र स्यानिटाइजरलाई अनिवार्य बनाइएको उल्लेख गरे । उनले भने, ‘ग्राहकले सरकारको कदमलाई सहयोग गरेका छन् । यसले बैङ्कको भीड कम भएको हो । विद्युतीय कारोबारतर्फ ग्राहक लागेका छन् ।’ नबिलले काम गर्ने समय नघटाउने शाहले स्पष्ट पारे ।

यता, माछापुच्छ्रे बैङ्कको पेप्सीकोला शाखा सुनसान देखिन्छ । बैङ्कको ढोकामा गार्डले स्यानिटाइजर बोकेर बसेका छन् भने कर्मचारी मास्क पञ्जा लगाएर कम्प्यूटर नजिक बसिरहेका छन् ।

बैङ्ककी ब्रान्च म्यानेजर यूकी भट्टचन आजबाट ग्राहकहरु निकै कम रहेको बताउँछिन् । उनको अनुसार माछापुच्छ्रे बैङ्कले तीन बजेसम्म मात्र निक्षेप झिक्न र राख्न सकिने बनाएको छ । सामान्य दिनमा ४ बजेसम्म यस्तो कारोबार हुन्थ्यो ।

विद्युतीय कारोबारलाई निःशुल्क गरेपनि त्यसमा खासै ग्राहक नदेखिएको बैङ्ककै अर्की एक कर्मचारी अनुपमा पौडेल बताउँछिन् ।

यता नेपाल एसबिआई बैङ्कको पेप्सीकोला शाखा पनि सुनसान छ । एभरेष्ट बैङ्कको जडिबुटी शाखामा केही ग्राहक देखिएपनि अन्य दिनको तुलनामा कम रहेको बैङ्कका कर्मचारी बताउँछन् । धेरैजसो  बैङ्कका कर्मचारी मास्क र पन्जामा कार्यालय भित्र देखिएका छन् ।

वित्तीय कारोबार बन्द नहोस् भनी बैङ्कहरुले कर्मचारीको सुरक्षा गर्दै कार्यालय खोलेका छन् । नियामक नेपाल राष्ट बैकले कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न ठूलो मूल्यको भुक्तानीका लागि आजैबाट आरटिजिएसलाई निःशुल्क गरेको छ । यता बैङ्क तथा वित्तिय संस्थाले विद्युतीय कारोबारलाई निःशुल्क गरेका छन् ।

बैङ्क नगइ यसरी झिक्न सकिन्छ रकम

पछिल्लो समय प्रविधिले बैंकिङ कारोबारलाई सहज बनाएको छ । खाता खोल्न, रकम झिक्न र जम्मा गर्न बैङ्क धाइरहनुपर्दैन । अहिले कोरोनाको कारण बैङ्कमा भिडभाड कम गर्न बैङ्कहरुले विद्युतीय सेवालाई बढावा दिएका छन् ।

यी माध्यम प्रयोग  गरे बैङ्कसम्म पुग्नै पर्दैन ।

एटिएम/डेबिट कार्ड

एटिएम कार्डमार्फत  एटिएम मेसिनमा छिराएर जुनसुकै समयमा आफ्नो खातामा रहेको नगद झिक्न सकिन्छ ।

इलेक्ट्रोनिक चेक भनेर चिनिने डिविट कार्ड मार्फत नगद झिक्न । वस्तु वा सेवा खरिद गरेबापत यसको माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ

इन्टरनेट मार्फत गरिने बैकिङ कारोबार हो । यो बैङ्कले उपलब्ध गराउँछ । ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न, चेकबुक बनाउन अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बिलको भुक्तानी गर्न सकिन्छ ।

क्रेडिट कार्ड

नेपालमा क्रेडिट कार्डको प्रयोग कम छ । यद्यपि, क्रेडिट कार्डबाट निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सकिन्छ । अहिले खर्च गरेपछि तिर्दै गए हुन्छ भन्ने उद्देश्यले कार्डको विकास भएको हो । नेपालमा कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म तोकिएको रकम बिना ब्याज पाउँछन् ।

अनलाइन बैङ्क खाता

अहिले अधिकांश बैङ्कहरुले अनलाइन बैङ्क खाता पनि सञ्चालनमा ल्याएका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुले अनलाइन बैंकिङ मार्फत सजिलै खाता खोल्न सक्ने छन् । यस्तो खाता खोल्न पैसा लाग्दैन ।

पस मेसिन

पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन । अहिले पस मेसिन प्रयोग गर्नेहरु बढेका छन् ।

मल्टी करेन्सी कार्ड

यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई सजिलो भएको छ । मल्टी करेन्सी कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप