शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिममा आइसोलेसन वार्ड बन्दै

सोमबार, १० चैत २०७६, १३ : ५६
सोमबार, १० चैत २०७६

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले कोरोनाभाईरस संक्रमित बिरामीका लागि धनगढी आसपास विभिन्न स्थानमा आइसोलेसन वार्ड स्थापना गर्न थालेको छ ।

सोमबार धनगढीस्थित खुला मञ्चमा नेपाली सेनाले टेन्ट लागाएर ५० बेडको आइसोलेसन वार्ड निर्माण गरिरहेको छ । आईतबार कैलाली उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समितिको जग्गामा पनि ५० बेडको आइसोलेसन वार्ड स्थापना गर्न सरसफाई गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

आइसोलेसन वार्ड स्थापनाका लागि पहिलो विकल्पमा कैलाली उद्योग वाणिज्य संघको हल र जिल्ला समन्वय समितिको प्राङ्गण छन् भने दोस्रो विकल्पमा गेटा मेडिकल कलेज र गेटा आँखा अस्पताल छन् । आवश्यकता अनुसार होटल तथा विद्यालय पनि प्रयोग गरिने उनले बताए ।

भारतमा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा सुदूरपश्चिम प्रदेश संक्रमणको उच्च जोखिम छ । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा थप आइसोलेसन स्थापना गर्ने तयारी गरिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका २२ वटा अस्पतालमा ७० वडा बेडसहितको आइसोलेसन स्थापना गरिएका छन् । प्रदेश सरकारले सेती प्रादेशिक र महाकाली प्रादेशिक अस्पतालमा ५०/५० बेडको आइसोलेसन स्थापना गर्ने तयारी गरिसकेको छ ।

सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोशीकाअनुसार आइसोलेसन वार्डमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सकलाई आवश्यक सामग्री अभाव छ । उनले बिरामीको सम्पर्कमा जाँदा लगाउने लुगा, मास्कजस्ता सामग्री अभाव रहेको बताए ।

सेती प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । सात जनाभन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सकहरू बताउँछन् ।

उनले उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेका बेला अस्पतालबाट प्रदेश सरकारलाई आपूर्ति गरिदिन भन्दै पत्राचार गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमण देखापरेको छैन ।

सेती प्रादेशिक अस्पतालबाट आठ र महाकाली प्रादेशिक अस्पतालबाट दुई जनाको ‘नमुना’ परीक्षणका लागि काठमाडौं पठाइएको जनाइएको छ । अहिलेसम्म आएका नतिजामा कोरोना संक्रमण नदेखिएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले अहिलेसम्म आठ जनाको नमुना पठाइएकोमा चार जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । उनका अनुसार शुक्रबार थप चार जना शंकास्पद व्यक्तिलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका चार जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको र सोमबारसम्ममा रिपोर्ट आउने उनको भनाइ छ ।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालमा भारतबाट फर्किएका मध्ये दुई जना नेपालीमाथि कोरोना भाइरस संक्रमणको आशंका गरिएको थियो । उनीहरूलाई अहिले महाकाली प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालले ती दुवैको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरिकृष्ण श्रेष्ठले भने, ‘नमुनाको रिपोर्ट आएपछिमात्रै थप कुरा थाहा हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप