शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता

आइतबार, ०९ चैत २०७६, १४ : ०१
आइतबार, ०९ चैत २०७६

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएका राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

भेटमा उनले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिए । यसै सन्दर्भमा नेपाल–भारत सिमाबाट सो महामारी नफैलियोस् भनेर सिमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

कोरोनाको त्रास पछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफुहरु तयार रहेको बताए ।

उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफुले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप