बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु

आइतबार, ०९ चैत २०७६, ०९ : ४५
आइतबार, ०९ चैत २०७६

नरेन्द्र बस्नेत
लन्डन । विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको गत मंगलबार नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोलेस्ट्रोल, घुँडा सुन्निने जस्ता रोगबाट ग्रसित राईको दुई दशक अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

करिब तीन हप्ता हस्पिटल बसेर कोरोनाको महामारीका कारण डिस्चार्ज गरिएका राई पछिल्लो समय रुघा, खोकी र निमोनियाबाट ग्रसित थिए । सेकेन्ड गोर्खा राइफल्समा १७ वर्ष सेवा गरेका राई श्रीमती र छोराबुहारीका साथ बेलायतमा बस्दै आएका थिए ।

हाल सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा बस्दै आएका राई सन् २००८ मा बेलायत आएका हुन् । मृतक राईका परिवारलाई अहिले ‘आइसोलेशन’मा राखिएको र उनीहरुसँग भेटघाट गर्न रोक लगाइएको संखुवासभा समाज यूकेका अध्यक्ष नैनसिंह गुरुङले जानकारी दिए ।

बेलायतमा झन्डै २० हजार भूपू गोर्खाली छन् । हजारौंको संख्यामा नेपालीहरु यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छन् । स्वास्थ्यकर्मीहरुको अभावका कारण सरकारले ६५ हजार रिटायर्ड स्वास्थ्यकर्मीरुलाई पुनः काममा आउन आग्रह गरेकोमा ४ हजार ५ सय जनाले कोरोनाविरुद्ध सहयोग गर्न तत्परता देखाइसकेका छन् ।

यहाँका नेपालीहरुको प्रमुख व्यवसाय अन्तर्गत पर्ने रेष्टुरेन्ट अहिले बन्द भएका छन् । शुक्रबार साँझबाट स्कुलहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणासँगै सबै रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

व्यावसायामा पर्न जाने असुविधालाई मध्यनजर गर्दै सरकारले भ्याट तथा कर सम्बन्धी विशेष राहत प्याकेज प्रस्तुत गरेको छ । कोरोनाका कारण बेरोजगार हुने कामदारलाई उनीहरुको मासिक कमाइको ८० प्रतिशत तथा बढीमा २५ सय पाउण्डसम्म रकम सहयोग गर्ने घोषणा सरकारले गरेको छ ।

बेलायतमा हालसम्म २३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ५ हजार १८ जान यस रोगबाट संक्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप