बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना त्रास : रक्तदान गर्न दाता डराए, बजारमा रगतको अभाव

आइतबार, ०९ चैत २०७६, ०८ : १२
आइतबार, ०९ चैत २०७६

विश्वभर  कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिएपछि नेपालमा विभिन्न क्षेत्रमा त्यसको प्रभाव देखिन थालेको छ । कोरोनाकै सन्त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ ।

उपत्यकाका सरकारीदेखि निजी अस्पतालमा उपचार गराउने क्रममा प्रायः जसो रगतको अभाव हुँदा बिरामीका आफन्त धाउने ठाउँमध्येको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको रक्तसञ्चार विभाग पनि एक हो । प्रसुति अस्तालमा आएका बिरामीका लागि चाहिने ब्लड केही दिनका लागि मौज्दात भए पनि बाहिरी अस्पतालबाट आउनेलाई रगत दिन नसकिने रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहालले बताए । ‘ब्लड बैङ्कमा बी पोजेटिभ, एबी पोजेटिभ समूहको रगत अभाव हुन थालेको छ,’ उनी भन्छन्, ‘बाहिरका अन्य अस्पतालमा रगत पठाउन सकिँदैन ।’

अस्पतालमै रगत अभाव हुन नदिनका लागि केही रक्तदातालाई आग्रह गरिरहेको उनले बताए । विभिन्न समूहको रगत खोज्दै पाटन, टिचिङ, कान्ति, बनेपा, धुलिखेलदेखि निजी अस्पतालबाट रगत लिन प्रसुती गृहमा आउनेको संख्या बढ्दै गएको इन्चार्ज दाहालले बताए ।

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा जस्तै उपत्यकाभित्रका अन्य अस्पतालमा र उपत्यका बाहिरसमेत रगतको अभाव देखिन थालेको छ ।

कोरोनाको सन्त्रासका कारण पछिल्लो समय रक्तदानका कार्यक्रम पूर्णरुपमा सञ्चाल नभएकाले बजारमा सबै रक्त समूहका रगतको अभाव हुन थालेको ब्लड डोनर नेपाल एसोसिएसनका अध्यक्ष सानुबाबु प्रजापतिले बताए ।

‘सरकारले भीडभाडमा नजान तथा भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ,’ उनले भने, ‘रक्तदान कार्यक्रम नहुँदा रक्तदाताले रगत दान गर्न खोजेका छैनन् ।’ समय—समयमा रक्तदान गरिरहने व्यक्तिले समेत कोरोना भाइरसको त्रास कारण चासो नदेखाएको उनले बताए ।

प्रत्येक शनिबार १२ देखि १६ वटा रक्तदान कार्यक्रमको आयोजना हुने गरेकोमा चैत ८ गते शनिबार ४ वटा कार्यक्रममात्रै आयोजना गरेको नेपाल रेडक्रस सोसाइटीका निर्देशक डाक्टर मनिता राजकर्णिकारले बताइन् ।

रक्तदान कार्यक्रम कम भएकाले केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगत वितरणमा कमी आएको उनले बताइन् । कोरोना रोकथामका लागि सरकारले लागू गरेको नयाँ व्यवस्थाअनुसार रक्तदानका कार्यक्रम घटेको र बजारमा रगतको अभाव देखिएको उनले बताइन् ।

‘रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर होला रक्तदान नगर्नुभएको,’ दातालाई अपिल गर्दै उनी भन्छिन्, ‘अन्य बिरामीको स्वास्थ्य र जीवनरमरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक भइदिनुहोस् ।’ 

पछिल्लो समय रगतको सप्लाइमा ५० प्रतिशतसम्म कमी आएको छ । ‘रगत सप्लाइमा ५० प्रतिशत कमी आएको छ,’ डाक्टर राजकर्णिकार भन्छिन्, ‘सोसाइटीबाट दैनिक ३ सय ५० युनिट रगत सप्लाई हुन्थ्यो अहिले त्यस्तो छैन ।’

कोरोनाको संक्रमण भएका राष्ट्रहरुमा समेत रक्तदान कार्यक्रम आयोजना गरेर वा रक्तदाताले भयाभह स्थितिमा पनि रगतको अभाव हुन नदिएको उनले बताइन् । अन्य मानिसलाई जीवनदान दिनका लागि स्वस्थ व्यक्तिले साहस देखाउनुपर्ने उनको भनाइ छ । सरकारलगायत रक्तदाताले सहयोग गरेको खण्डमा मागअनुसारको रगत परिपूर्ति गर्न सक्ने उनले बताइन् ।

बिरामीका आफन्त तथा सरकारी तथा निजी अस्पतालहरु रगत केन्द्र धाउने क्रम बढेको भन्दै उनले बजारमा रगत अभाव हुन नदिनका लागि विशेष योजना बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताइन् ।

कोरोनाको त्रास आगामी दिनमा बढ्यो भने पनि अन्य विभिन्न किसिमका बिरामीको स्वास्थ्यलाई झन् प्रतिकुल हुन नदिनका लागि स्वस्थ रक्तदाता अग्रसर हुनुपर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोला बताउँछन् ।

‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीलाई सिधै रगतको आवश्यकता पर्दैन,’ उनले भने, ‘संक्रमणसँगै अन्य रोग भएको खण्डमा र आवश्यकताको आधारमा बिरामीलाई रगत चाहिन्छ ।’

शरीरमा समयमा रगत राख्नुपर्ने बिरामी, अप्रेसन गरेका बिरामी, अन्य किसिमका रोग लागेका बिरामीलाई विभिन्न समूहको रगत आवश्यक पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप