शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना प्रभाव : आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा माथि नजाने, गरिबको सङ्ख्या बढ्ने

आइतबार, ०९ चैत २०७६, ०७ : ५४
आइतबार, ०९ चैत २०७६

विश्व अर्थतन्त्रमा नै संकट निम्त्याएको कोरोनाभाइसको महामारी कारण नेपाली अर्थतन्त्र पछाडी धकेलिएको विज्ञहरुले औँल्याएका छन् । यो महामारी तत्काल नियन्त्रणमा आए पनि देशको अर्थतन्त्र साइजमा आउन कम्तीमा एक डेढ वर्ष लाग्ने र माहामारीकै रुपमा फैलिरहे यसले देशलाई कैयौँ वर्षपछि धकेल्ने अर्थविद् डा. बिमल कोइराला बताउँछन् । उद्योगधन्दा, कलकारखाना, उत्पादन तथा सेवा क्षेत्र सबैमा भाइरसले प्रत्यक्ष असर पारेको छ । रातोपाटीसँग कुरा गर्दै डा. कोइराला सरकारले लिएको साढे ८ प्रतिशत आर्थिक वृद्धि दरलाई कोरोनाले धक्का दिएको बताउँछन् ।

‘कच्चा पदार्थ नआउँदा उद्योगले पूर्णरुपमा काम गर्न सक्दैन, जसका कारण कामदारको काम बन्द भइ उनीहरुको रोजीरोटीमा समेत प्रभाव पार्नेछ,’ उनले भने । उनका अनुसार देशमा गरिबीको संख्या बढ्ने छ । राष्ट्रिय योजना आयोगका अनुसार हाल नेपालमा गरीबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत छ । यो संख्या बढ्न सक्ने कोइरालाको अनुमान छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, विद्यालय, केवलकारलगायत बन्द भएका छन् । होटलहरु केही पूर्ण रुपमा बन्द छन् भने केही होटल आंशिक बन्द छन् । बजारमा महंगी र कालोबजारी मौलाएको छन् । अर्थतन्त्र चलायमान बनाउने पर्यटन क्षेत्र नराम्ररी थलिएका छन् । उडान सङ्ख्या धमाधम कटौती भएका छन् भने होटल सुनसान छ । यसले देशको अर्थतन्त्र ७० प्रतिशतको नोक्सानमा धकेलिएको अर्थविद केशव आचार्य बताउँछन् । हाल देशको अर्थतन्त्रको आकार झण्डै ३३ खर्ब नजिक छ ।

‘कोरोनाले सरकारको आर्थिक बृद्धिको लक्ष्यलाई असफल बनाएको छ । यस वर्ष ४÷५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हुँदैन’, आचार्यले भने । अर्का अर्थविद् डा. शंकर शर्मा पनि यसवर्ष आर्थिक बृद्धिदर ४ देखि पाँच प्रतिशतसम्म रहने बताउँछन् । उनी भन्छन्, ‘कृषि उत्पादन जति हुनुपर्ने हो त्यो भइसकेको र गैह्रकृषितर्फ कोरोनाले असर गरेको छ । बाहिरी लगानी ठप्प छ, कच्चा पदार्थ भित्रिएका छैनन् । यसले देशको अर्थतन्त्र पछि धकेलेको छ ।’ यसले अर्थतन्त्र पछाडी धकेलिएकाले गति लिन झण्डै एक वर्ष लाग्ने शर्मा बताउँछन् ।

यता, सरकारबाट कोरोनाले अर्थतन्त्रमा कस्तो असर गरेको छ भन्नेबारे अध्ययन भइरहेको छ । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकले अध्ययन गरिरहेका छन् ।

गरिबी झन् बढ्ने

बैङ्क तथा वित्तिय क्षेत्रबाट बैंकर्स संघ, उद्योग बाणिज्यका तर्फबाट उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, होटलको तर्फबाट हान लगायतले आफुलाई राहतको प्याकेज ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । तर, रिक्सा चलाएर, ठेला चलाएर, डोकोमा सामान बोकेर दैनिक गुजारा चलाउनेका लागि कसैले आवाज नउठाएको अर्थविद् आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘कोरोनाको कारण आर्थिक गतिविधि ठप्प हुँदा गरीबहरुको चुल्हो निभ्ने अवस्था आएको छ । यसले गरिबीको रेखामुनी रहेका जनसंख्या झण्डै २४ प्रतिशत पुर-याउनेछ ।

पर्यटन क्षेत्रको असरलाई समग्र अर्थतन्त्रसँग नजोडाँै :अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले भने देशको अर्थतन्त्र शिथिल नहुने बताएका छन् । बिहीबार गरेको एक पत्रकार सम्मेलनमा उनले अर्थतन्त्र शिथिल नभएको बताएका हुन् । कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको र यसैको आधारमा समग्र अर्थतन्त्रको असर मापन गर्न नमिल्ने उनले भने । निर्माण क्षेत्रमा परेको समस्या आफुले छिट्टै टुङ्ग्याउने पनि उनले भने । पेट्रोलियम र उर्जाको आपूर्ति सहज भएको र समग्र व्यापार सहज रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप