मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिनमा हवाई भाडा दोब्बर किन पुग्यो ?

कहाँको अधिकतम हवाई भाडादर कति ?
शनिबार, ०८ चैत २०७६, १७ : ३५
शनिबार, ०८ चैत २०७६

काठमाडौं । वायु सेवा प्रदायक कम्पनीले एकै लिन दोब्बर भन्दा बढीसम्म आन्तरिक हवाई भाडा बढाएको पाइएको छ । सरकारले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्दै लामो दूरीका यात्रुबाहक सवारी साधनलाई चल्न नदिने घोषणा गरेसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या बढ्दै जाँदा एयरलाइन्स कम्पनीहरुले भाडा उच्च बनाएका हुन् । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन भन्दै सरकारले चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ भने लामो दूरीको सवारी साधन सञ्चालनमा समेत सोमबारदेखि केही समयका लागि प्रतिबन्ध लगाएको छ । सोही कारण अहिले बसदेखि हवाई यात्रु समेत बढ्दै गएको हो । 

काठमाडौंबाट धनगढी जान यसअघि हवाईजहाजले ४ हजार ५ सय रुपैंयासम्ममा टिकट काट्थे । अहिले त्यो भाडा १२ हजार रुपैंयाभन्दा माथि पुर्याएका छन् । बुद्ध एयरले काठमाडौंबाट धनगढीसम्मको आइतबारको उडानका लागि १२ हजार ४ सय ५० रुपैयाँसम्म भाडादर तोकेर टिकट बिक्री गरेको छ ।

त्यसैगरी, नेपालगञ्जका लागि ९ हजार ८ सय ५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यसअघि नेपालगञ्जका लागि ४ हजारसम्ममा टिकट बेचिन्थ्यो । विराटनगर, भद्रपुर, सुर्खेत लगायतका अधिकांश गन्तव्यहरुमा अहिले भाडा दोब्बर भन्दा पनि बढी बढेको हो । यस्तै अवस्था श्री एयरलाइन्स, यति एयरलाइन्स लगायतमा पनि देखिएकाे छ ।

किन बढ्दैछ भाडादर ?
अहिले भाडादर बढ्नुलाई दुई वटा कारणले अथ्र्याइएको छ । पहिलो यात्रुको चाप, दोस्रो एकतर्फी यात्रा र तेस्रो विदेशी पर्यटकको अभाव । सरकारले आइतबारदेखि लागू हुनेगरि ‘सेमी लकडाउन’ घोषणा गरिसकेपछि काठमाडौंमा ठूलो संख्यामा बस्ने नागरिकहरु फुर्सदिला भए भने तत्कालै अवस्था सुधार नभए ‘लकडाउन’को घोषणा नै हुन सक्ने सम्भावनालाई समेत हेरेर यतिबेला उनीहरु उपत्यकाबाट बाहिरिन चाहिरहेका छन् । त्यसमाथि शैक्षिक सत्र सकिएर विद्यालयहरु बन्द हुँदा कतिपय विद्यार्थी र अभिभावककोे गाउँ फर्कने क्रम समेत अघि बढेको पर्यटन व्यवसायीहरु बताउँछन् । 

कोरोनाको प्रभावसँगै अहिले विदेशी पर्यटकको आवागमन शून्यप्रायः छ । यसअघि एयरलाइन्स कम्पनीहरुले नेपाली र विदेशी पर्यटकका लागि फरक फरक भाडादर लागू गर्थे ।

 त्यस्तो अवस्थामा नेपालीको भाडादर भन्दा विदेशी नागरिकको भाडादर दोब्बरको हाराहारीसम्म हुन्थ्यो । तर अहिले नेपाली यात्रु मात्रै हुन थालेपछि भाडादर महँगो बनाएका छन् । विदेशी नागरिक शून्य भएको अवस्थामा लागत उठाउनकै लागि भए पनि शुल्क बढाउनु परेको उनीहरुको तर्क छ ।  

अहिले एकतर्फी यात्रुको चाप बढी छ । काठमाडौंबाट बाहिरिने भीड लाग्दा काठमाडौं भित्रदा भने रित्तै फर्कनुपर्ने अवस्था भएकोले पनि एउटै भाडाले दुईतर्फको खर्च धान्नुपर्ने अवस्था आएको भन्दै उनीहरु यस्तो अवस्थामा भाडादर बढाउनुको विकल्प नभएको बताउँछन् । यो कारणले पनि अहिलेको भाडादर बढेको हो । 

यद्यपि यी सबैको कारण भने कारोना भाइसरको प्रभाव नै हो । शुक्रबार प्रधानमन्त्रीले सम्बोधन गर्नु अघिसम्म आन्तरिक हवाई भाडा धेरै महँगिएको थिएन । तर प्रधानमन्त्रीको सम्बोधनसँगै एक्कासी कसरी भाडा बढेको हो । एकैदिन दोब्बर भन्दा बढीसम्म भाडा बढेपछि यात्रुहरुले यसको चर्को विरोध समेत गरेका छन् । 

नेपाल विद्यार्थी संघ अन्तर्गतको प्राविधिक विद्यार्थी परिषद्ले एयरयोर्टमै गएर हवाई भाडा बढेकोमा विरोध गर्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत मागेका छन् । यता नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले हवाई क्षेत्रमा मनोमानी र कालोबजारी बढे पनि पर्यटन मन्त्रालयका सहसचिव र प्राधिकरण प्रमुखले स्पष्ट जवाफ नदिएको बताए । यता  पर्यटन मन्त्री योगेश भट्टराई र पर्यटन सचिवलाई आफूले सम्पर्क गर्दा उनीहरुले फोन नउठेको महरकाे भनाइ छ ।

भाडादर अत्यधिक बढेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एयरपोर्टमा अनुगमन गर्न र बढी भाडा लिइएको पाइए कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश आचार्यले सर्वसाधारणको गुनासोसँगै त्यस्तो निर्देशन दिइएको बताए । 

सो अनुगमनमा हवाई भाडाको वृद्धि स्वभाविक रुपमा माग र आपूर्तिको कारणले भएको रहेछ कि अस्वाभाविक रुपमा भाडादर बढाइएको रहेछ भन्ने थाहा हुने प्रवक्ता आचार्यले बताए । 

तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी शुल्क नलिएको दाबी गरे । हवाई भाडा तोक्दा प्रधिकरणले अधिकतम र न्यूनतम दर तोक्ने गरेको भन्दै उनले अहिले एयरलाइन्स कम्पनीले तोकिएको भाडादरको अधिकतम सीमासम्म मात्रै पुर्याएको बताए ।   ‘हामीले न्यूनतम र अधिकतम भाडा निर्धारण गरेका हुन्छौं, यो बीचमा अधिकतम शुल्कभन्दा बढी भाडा लिएको प्रमाण ल्याउनुस्, त्यो एयरलाइन्सको लाइसेन्स तुरुन्त खारेज गरिदिन्छ,’ उनले भने ।

कहाँको अधिकतम भाडा कति ? 

पछिल्लो पटक २०७५ वर्ष पुसमा सरकारले हवाई भाडादर तोकेको थियो । जसअनुसार काठमाडौंबाट धनगढीमा सबैभन्दा बढी १२ हजार ६ सय ५० तोकिएको छ । त्यस्तै, नेपालगञ्जका लागि १० हजार रुपैंया, भद्रपुरमा लागि ९ हजार १ सय रुपैंया भाडादर तोकिएको छ । सिमराको लागि सबैभन्दा कम ३ हजार १ सय २० रुपैंया तथा भरतपुरका लागि ३ हजार ६ सय ५० रुपैंया भाडादर निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप