शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको संकट कहिले र कसरी अन्त्य होला !

शनिबार, ०८ चैत २०७६, १० : ४१
शनिबार, ०८ चैत २०७६

न्यूयोर्क । कोरोनाभाइरसको संक्रमणका कारण विश्व नै ठप्प भएको अवस्थामा छ । जुन स्थानमा दैनिक रुपमा भीड हुने गरेको थियो, ती स्थान अचेल सुनसान छन् । विद्यालय तथा क्याम्पस बन्द हुनका साथै यात्रामा प्रतिबन्ध लगाइएको छ । मानिसहरुलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ । विश्वका कुनै पनि मानिस कुनै न कुनै रुपमा यसबाट प्रभावित देखिएको छ ।

कोरोनाभाइरसका सन्दर्भमा बेजोड वैश्विक प्रतिक्रिया देखिएको छ । तर प्रश्न उठ्छ कि आखिर कहिले यो अन्त्य होला ? आम जनजीवन कहिले सामान्य होला ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका अनुसार आगामी १२ हप्तामा यसको प्रभावबाट बेलायत मुक्त हुनेछ ।

उनको भनाइलाई आधार मान्ने हो भने आगामी तीन महिनामा कोरोनाभाइरसको संक्रमण घट्न सक्ला तर यसको जरा नै उखेलेर फाल्न सम्भव भने देखिदैँन । यो समाप्त हुन धेरै समय लाग्न सक्ने विज्ञहरु बताउँछन् । कोरोनामुक्त हुनका लागि वर्ष दिन पनि लाग्न सक्ने विज्ञहरुको भनाइ छ ।

ठूलो समुदाय तथा मुलुकका लागि सबैकुरा बन्द गर्ने नीति लामो समयसम्मका लागि सम्भव देखिदैँन । यस अतिरिक्त सामाजिक र आर्थिक नोक्सान पनि विध्वंशकारी नै हुनेछ ।

विश्वका मुलुकहरु अब ‘एक्जिट स्ट्रेटेजी’ चाहिरहेका छन् ताकि प्रतिबन्ध हटाउन सकियोस् र सबै कुरा सामान्य होस् । तर यो सत्य हो कि कोरोनाभाइरस गायव हुन सकिरहेको छैन । प्रतिबन्ध हटाउना साथ भाइरस तीव्र रुपमा विस्तार हुने त्रास कायमै छ ।

एडिनब्रा विश्वविद्यालयका संक्रामक रोग महामारी विज्ञानका प्रोफेसर मार्क वूलहाउस भन्छन्, ‘हाम्रो सबैभन्दा ठूलो समस्या यसबाट बाहिर निस्कने नीतिलाई लिएर छ कि हामी यसबाट कसरी पार पाउन सक्छौँ ।’
‘एक्जिट स्ट्रेटेजी’ बेलायतसँग मात्र नभई विश्वको कुनै पनि मुलुकसँग नरहेको उनको भनाइ छ ।

यो संकटबाट निस्कने मुख्यतया तीनवटा बाटो छ ।
१. खोप
२. संक्रमणबाट बच्नका लागि मानिसमा प्रतिरोधात्मक क्षमताको विकास
३. हाम्रो समाज वा व्यवहारलाई स्थायी रुपमा परिवर्तन गर्नु
यी तीनमध्ये कुनै पनि उपायबाट भाइरस फैलने क्षमतालाई घटाउन सकिन्छ ।

खोप कहिलेसम्म आउला ?
एउटा खोपले कुनै पनि शरीरलाई यस्तो प्रतिरोधात्मक क्षमता दिनेछ, जसका कारण मानिस त्यस्तो भाइरसबाट बिरामी हुँदैन ।
करिब ६० प्रतिशत जनसंख्यालाई रोगमुक्त गराउनका लागि उनीहरुको प्रतिरोधात्मक क्षमता विकास गर्नु ‘हर्ड इम्युनिटी’ भनिन्छ । यसबाट कुनै पनि भाइरस महामारी बन्न पाउँदैन ।

यसै साता अमेरिकामा कोरोनाभाइरसको खोपलाई एउटा व्यक्तिमा परीक्षण गरिएको छ । यो परीक्षणमा शोधकर्ताहरुलाई पहिला जनावरमा परीक्षण गर्नुपर्ने नियममाथि छुट दिइएको थियो, जसका कारण उनीहरुले पहिलो पटक नै जनावरमा परीक्षण नगरी मानिसमै यसको परीक्षण गरे ।
कोरोनाभाइरसविरुद्धको खोपको अनुसन्धान अभूतपूर्व गतिमा भइरहेको छ । तर यो सफल नै हुन्छ भन्ने कुनै प्रकारको ग्यारेन्टी छैन । सफल नै भए पनि यसलाई वैश्विकस्तरमा सबैलाई दिन सकिनेमा आशंका नै छ ।

यदि सबै कुरा ठिक ढङ्गले भएमा १२ देखि १८ महिनासम्मा कोरोनाविरुद्धको खोप तयार हुन सक्छ । यो समय भनेको प्रतीक्षाका लागि निकै लामो हो । विश्वले एक प्रकारको प्रतिवन्धमार्फत कोरोनाभाइरसको संक्रमण फैलनबाट यति संघर्ष गरिरहेको समयमा त्यति लामो समयसम्म यो अवस्था कसरी लम्ब्याउन सकिएला भन्ने महत्वपूर्ण विषय हो ।
प्रोफेसर वूलहाउसका अनुसार खोपको प्रतीक्षा गर्नुलाई रणनीतिको नाम दिनु हुँदैन । यो कुनै रणनीति नहुने उनको भनाइ छ ।

मानिसमा प्राकृतिक प्रतिरक्षा कसरी सिर्जना होला ?
बेलायतको यतिबेलाको रणनीति भनेकै कोरोनाभाइरसको संक्रमणलाई थोरैभन्दा थोरै फैलन दिनु हो । ताकि अस्पतालमा अधिक बोझ नपरोस् किनकि अहिलेको समयमा आइसीयु बेड खाली हुन सकेकै छैन ।
एक पटक यो संक्रमण घट्यो भने केही प्रतिबन्धलाई खुकुलो बनाउन सकिन्छ । तर यो अवस्था आउने क्रम यसरी नै बढ्दै गयो भने अझ प्रतिबन्ध लगाउनु पर्ने हुन्छ ।

बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार सर पेट्रिक भेलेन्सका अनुसार सबै कुरामा प्रतिबन्ध लगाउन सम्भव छैन ।

कोरोनाभाइरसबाट संक्रमित भएका कारण अन्जानमै मानिसमा रोग प्रतिरोधात्मक शक्तिको विकास हुन पनि सक्छ । तर यसका लागि लामो समय लाग्न सक्छ ।

इम्पिरियल कलेज लन्डनका प्रोफेसर नील फर्ग्युसन भन्छन्, ‘हामी एक स्तरमा संक्रमणलाई दबाउने कुरा गरिरहेका छौँ, आशा छ कि एउटा सानोस्तरमा मात्र मानिस यसबाट संक्रमित होउन् ।’

उनका अनुसार यदि यो दुई वर्षभन्दा अधिक समयसम्म जारी रह्यो भने देशको एउटा ठूलो हिस्सा नै संक्रमित हुन सक्छ । जसबाट मानिसमा आफ्नो प्रतिरोधात्मक क्षमता विकास हुन पनि सक्छ । 

तर पनि प्रतिरोधात्मक क्षमता कहिलेसम्म रहन्छ भन्ने प्रश्न अहम् हो । किनकि ज्वरोको लक्षण हुने अन्य भाइरसले पनि कमजोर प्रतिरोधक क्षमतामाथि हमला गर्दछन् । जो कोरोनाको चपेटामा आइसकेका हुन्छन्, उनीहरु नयाँ कोरोना भाइरसको चपेटामा आउने आशंका अधिक हुन्छ ।

अरु बाटो के छ ?
प्रोफेसर वूलहाउस भन्छन्, ‘तेस्रो विकल्प हाम्रो व्यवहार सधैँका लागि परिवर्तन गर्नु नै हो । जसका कारण संक्रमणको स्तर कम होस् ।’
यसमा केही यस्ता उपाय छन् जो लागू भइसकेका छन् । यसमा केही कडा परीक्षण र बिरामीलाई पहिला नै अलग गर्ने प्रक्रिया सामेल गर्न सकिन्छ ।

प्रोफेसर वूलहाउस भन्छन्, ‘हामीले बिरामीलाई पहिला नै पहिचान गर्ने र उनीहरुको सम्पर्कमा आएका मानिसलाई खोज्ने प्रक्रिया अपनाइएको थियो तर यसले काम गरेन ।’

अन्य रणनीतिमा कोरोनाभाइरस संक्रामक रोगको औषधि विकास गर्नु पनि हो । उनी भन्छन्, ‘यसको उपयोग ती मानिसहरुमा गर्न सकिन्छ जसमा यसको लक्षण देखिएको होस् ताकि संक्रमण फैलिनबाट रोक्न सकौँ ।’

अर्को तरिका भनेको रोगीलाई अस्पतालमै उपचार गर्ने ताकि यो कम घातक होस् । आइसीयुको बेड संख्या बढाएर पनि यो संकटको सामना गर्न सकिन्छ ।

बेलायतका मुख्य चिकित्सा सल्लाहकार क्रिस भिटीका अनुसार सबैभन्दा उत्तम उपाय भनेको खोप नै हो । उनले यो चाँडै हुने विश्वास पनि व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप