शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ‘सेमी लकडाउन’ : अन्तर्राष्ट्रिय उडानदेखि गाडीसम्म बन्द

शुक्रबार, ०७ चैत २०७६, १९ : ०४
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । सरकारले नेपाल सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि  सरकारी तथा सामुदायिक कार्यालयमा अत्यावश्यकबाहेकका सबै सुविधा बन्द हुने घोषणा गरेका छन् । यसअघि बुधबारै सरकारले शैक्षिक संस्था, सिनेमा हल, डान्स क्लबलगायत भीडभाड हुने स्थल बन्द गर्ने निर्णय गरिसकेको छ । 

सार्क कोषमा १० करोड 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोरोना भाइरस नियन्त्रणका लागि स्थापना भएको सार्क संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ जम्मा गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । यसअघि सार्कस्तरीय भिडियो कन्फ्रेन्समा मोदीले सार्क संयुक्त कोष स्थापनाका लागि गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीसहित अन्य देशका प्रतिनिधिले पनि स्विकार गरेका थिए । मोदीले यस कोषमा  भारत सरकारले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्दा  ओलीले पनि नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

नेपाल पनि जोखिममा
विश्वभर कोरोनाको महामारी फैलिसक्दा पनि नेपालमा संक्रमण नफैलनु सुखद पक्ष रहेको ओलीले बताए । ‘तर हामी  जोखिमबाट ढुक्क हुने अवस्था छैन । मैले सधैं नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छु । त्यसैले स्पष्ट योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,’ उनले भने । प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथामका लागि सरकारी संयन्त्र सक्रिय रहेको बताए । उनले यस अवधिमा आफ्नो नेतृत्वमा ५ वटा बैठक सम्पन्न भएको बताए । उपप्राधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समस्या समाधानका लागि नीतिगत निर्णय गर्न संयन्त्र गठन गरिएको पनि उनले बताए ।

‘यी संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहमार्फत समन्वय गरी एकिकृत ढंगबाट रोकथाम र सतर्कताको अभियान बढाउँदै आएको छ,’ उनले भने, ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ ।’

सम्भावित संक्रमणलाई परास्त गर्न आनीबानी र दैनिकी परिवर्तन गर्नुको विकल्प नरहेको उनले बताए । ‘सरसफाईमा ध्यान दिनुस्, पटक–पटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, चिकित्सक विज्ञ र प्राविधिको सल्लाह पालना गर्नुस्, सावधान र धैर्यवान् रहनुस् तर आतंकित नहुनुहोस्,’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट आएका सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नुपर्ने बताए । उनले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे । 

कालोबजारी गरे कारबाही 
सरकारले देशभरका अस्पतालबाट सेवा प्रदान गर्न, औषधी व्यवस्थापन गर्न, कोरोनाविरुद्ध सक्रिय रुपमा संलग्न रहने चिकित्सक, सुरक्षाकर्मीलगायत जनशक्तीलाई सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने उनले बताए । निजी क्षेत्रको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउन सरकार सक्रिय रहेको ओलीको भनाइ छ । खाद्यवस्तुमा मिसावट गर्ने, कालोबजारी गर्ने लगायतलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी प्रधानमन्त्रीले दिए ।

विश्वव्यापी रुपमा महामारी फैलिएकाले यसबाट अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे अर्थ मन्त्रालयले सुक्ष्म अनुसन्धान गरिरहेको प्रधानमन्त्रीले बताए  । ‘अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप