बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साम्राज्ञीको फेसमा चमक, प्रियङ्का आइटममा ठीक !

नृत्य निर्देशक रामजी लामिछानेको नजरमा १२ नायिका
बुधबार, ०५ चैत २०७६, १४ : १८
बुधबार, ०५ चैत २०७६

नेपाली फिल्म क्षेत्रका पछिल्लो समयका सबैभन्दा व्यस्त नृत्य निर्देशक (कोरियोग्राफर) हुन्– रामजी लामिछाने । फिल्मका आइटमदेखि लोक तथा लभसङ्गसम्म सजिलै काम गर्न सक्ने क्षमताका कारण उनी धेरै निर्माता निर्देशकको रोजाइका कोरियोग्राफर पनि हुन् ।

१२ भन्दा बढी फिल्मका निर्देशकसमेत रहेका उनले पुराना पुस्ताका निर्देशक शोभित बस्नेतदेखि पछिल्लो पुस्ताका राजबहादुर सानेसम्मका फिल्ममा काम गरेका छन् । ‘राज्य’ फिल्मबाट कोरियोग्राफी सुुरु गरेका उनी हाल छायाङ्कनरत फिल्म ‘परदेशी–२’ र ‘ए मेरो हजुर–४’ का समेत कोरियोग्राफर हुन् ।

करिब एक सयभन्दा बढी फिल्ममा कोरियोग्राफी गरेका उनले अहिलेसम्मको यात्रामा अघिल्लो पुस्ताकी हिट अभिनेत्री करिष्मा मानन्धरदेखि अहिलेको हट केक साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मलाई उनले नचाउन भ्याएका छन् । नेपाली फिल्म क्षेत्रका १२ हिरोइनको नृत्य लामिछानेकै शब्दमा

करिष्मा मानन्धर :

करिष्मा मानन्धरसँग ‘हिरोज’ र ‘तिमीसँग’ दुई फिल्ममा मात्र काम गर्ने अवसर मिलेको थियो । उहाँ लिजेन्ड अभिनेत्री हो । उहाँको कमिकमजोरी औँल्याउन सक्ने क्षमता म राख्दिनँ । उहाँसँग काम गर्दा मैल सिकाउनेभन्दा पनि धेरै सिक्ने अवसर पाएँ ।

क्षमताको कारण हो, अहिले पनि उहाँलाई कलाक्षेत्रका धेरैले आइडल मान्ने गरेका छन् । नृत्य राम्रो भएको, ड्रेसअप सुहाउने, ड्रेस अनुसारको मेकअप गर्न जान्नेलगायत सबै कुरामा पर्फेक्ट अभिनेत्री हो उहाँ ।

आफूभन्दा जुनियरलाई पनि सजिलै विश्वास गर्न सक्ने । अहिले पनि उहाँ बाहिर निस्किँदा ड्रेसअपको चर्चा हुने गर्छ । उहाँ जस्तो कलाकार सायदै होलान् । मैले त अहिलेसम्म भेटेको छैन  

रेखा थापा :

नृत्यमा रेखाको तुलना कोहीसँग गर्न मिल्दैन । उहाँको एक्स्प्रेस नै धेरै राम्रो छ । नाच्न पनि माहिर अभिनेत्री उहाँ । केही अगाडि उहाँको शारीरिक बनावट मोटो भएको थियो । तर एक्स्प्रेसनले उहाँले सबै कमजोरी ढाकिदिनुभयो । उहाँसँग ‘रामप्यारी’, ‘मालिका’, ‘तथास्तु’ लगायत धेरै फिल्ममा काम गरेको छु । चाहेको नृत्य निकाल्न सकिने र काम गर्न सकिलो अभिनेत्री हो ।

उहाँसँग काम गर्दा नृत्य निर्देशकले केही नयाँ सिक्ने अवसरसमेत पाउने गरेका छन् ।

उहाँ सिकाएको कुरामा पनि यसो गर्दा राम्रो भनेर सिकाउन सक्ने अभिनेत्री पनि हो । एकपछि अर्काे काम उत्कृष्ट भन्ने अभिनेत्री भन्नै पर्दैन । सबै प्रकारका पहिरन पनि सुहाउने अभिनेत्री उहाँ । मैले बढी उहाँलाई नेपाली पहिरनमा काम गराएको छु ।

प्रियङ्का कार्की :

प्रियङ्का कार्कीसँग मैले ‘राधे’ भन्ने फिल्ममा काम गरेको थिएँ । त्यसपछि उहाँसँग काम गर्ने संयोग जुरेको छैन । उहाँ एकदमै राम्रो काम गर्ने अभिनेत्री हो । तर उहाँ अलि मुडी पनि हुनुहुन्छ । उहाँको मुडअनुसार हामीले काम गराउनुपर्ने हुन्छ ।

‘राधे’ पछि केही फिल्ममा काम गर्ने अवसर मिलेको थियो । तर उहाँको कारणले के भयो भयो । नेपाली चलचित्रका सबैले नृत्य राम्रो भएको नायिकामा उहाँ पनि लिने गरेका छन् ।

उहाँलाई क्याम्पभन्दा बाहिरको मानिससँग पनि काम गर्न सुझाव दिन्छु । उहाँलाई आइटम, ग्ल्यामर टाइप गीत सुहाउँछ । पछिल्लो समय उहाँले धेरै फिल्ममा आइटम गर्नुभएको छ । नाच्न सक्ने नायिकामा पनि पर्नुहुन्छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह :

साम्राज्ञीसँग पनि मैले केही पहिले फिल्म ‘तिमी सँग’मा काम गरेको थिए । त्यसपछि संयोज जुरेको छैन । म उहाँको कामको लगावप्रति एकदमै फिदा छु । अन्य समयभन्दा क्यामराको अगाडि उहाँको फेसनमा जुन चमक देखिन्छ । त्यसैले फ्रेम नै बलेको जस्तो उज्यालो दिन्छ ।

जाँदुको छडीजस्तो टेक भन्ने बित्तिकै जुनै अवस्था भएपछि आफूलाई काममा फर्काउन सक्ने अभिनेत्री हो उहाँ । नृत्य पनि धेरै राम्रो । सबै खालका गीतमा नाच्न सके पनि मोडन ड्रेसअप भने बढी सुहाउँछ उहाँलाई ।

शिल्पा पोखरेल :

शिल्पासँग दुई फिल्ममा मैले काम गरेँ । ती हुन् ‘बिन्द्रावन’ र ‘किस्मत २’ । शिल्पा पनि नृत्य राम्रो भएकी अभिनेत्री हो । उहाँको क्षमताअनुसार फिल्म उद्योगमा धेरै माथि हुनुपर्ने हो । तर त्योअनुसार हुन सकेको छैन । त्यसको कारण के हो बुझ्न सकिन्न ।

उहाँको अभिनय, एक्सप्रेसन र नृत्य सबै राम्रो छ । सायद फिल्म छनोटलगायत कुराले उहाँलाई असर गरेको हुनुपर्छ । सबै प्रकारको गीतमा नचाउन सजिलो हिरोइन् उहाँ । उहाँ फिल्म क्षेत्रमा आउँदा रेखाको विकल्प पनि भनिएको थियो ।

सृष्टि श्रेष्ठ :

सृष्टि एकदमै फ्रेन्ड्ली अभिनेत्री हुनुहुन्छ । उहाँसँग मैले ‘बाँध मायाले’ र ‘पोइ पर्यो काले’मा काम गर्ने अवसर पाए । उनी जहिले पनि राम्रो गराँै र सिकौँ भन्ने खालको अभिनेत्री हो । उहाँलाई नाच्न त्यति आउँदैन  । त्यो उहाँलाई पनि थाहा छ तर पनि फ्रेन्ड्ली वातावरणमा केही गर्छु भनेर अगाडि बढ्ने बानीले राम्रो नृत्य गराउन सकिन्छ ।

नेपाली फिल्ममा मिस नेपाल चल्दैनन् भन्ने भनाइ छ । त्यो उहाँले गलत सावित गर्नुहुन्छ । उहाँलाई डान्स सिक्न सुझाउँछु । पहिरन जे लगाउँदा पनि सुहाउने अभिनेत्री भएकाले सबै खालका गीतमा काम गराउन सकिन्छ । फेसमा पनि चमक भएको अभिनेत्री हो उहाँ ।

निता ढुङ्गाना :

निता नृत्यकै लागि जन्मिएकी अभिनेत्री हो जस्तो लाग्छ । उहाँ अभिनयभन्दा पनि नृत्य सबैले मन पराएका छन् । नितासँग मैले ‘फूलैफूलको मौसम’, ‘निर्भय’ लगायत ५ भन्दा बढी फिल्ममा काम गरेँ होला ।

धेरै माथि आउनुपर्ने उहाँ आउन सकेको देखिएको छैन । सायद फिल्म छनौटमा कमजोर भएर होला । चलचित्र उद्योगको जर्नी धेरै भएर होला सायद उहाँसग जे काम गरे पनि पर्फेक्ट गर्न सकिन्छ । सबै प्रकारका गीतमा फिट देखिने अभिनेत्री हो उहाँ । ड्रेसअप पनि मर्डन, ग्ल्यामर लगायत सबै सुहाउँछ ।

झरना थापा :

मेरो करियरमा बिर्सिनै नसकिने मानिस झरना थापा हुनुहुन्छ । निर्देशकको रूपमा समेत मैले एक दर्जनभन्दा बढी फिल्म उहाँसँग काम गरेको छु । मलाई नृत्य निर्देशक गर्न सक्नुहुन्छ भनेर सुझाउँने र अगाडि बढ्न हौसला दिनेको अलवा सुरुवात समेत उहाँले गराउनु भएको हो ।

मैले उहाँसँग गरेका सबै गीत हिट छन् । उहाँ लक्की मानिस पनि हो । उहाँलाई मर्डन, गाउँले सबै प्रकारको ड्रेसअप सुहाउँछ । सोही कारणले पनि धेरै समय अभिनयमा टिक्न सफल हुनु भएको हो । सांस्कृतिक खालको ड्रेसअफ र गेटअफ बढी म्याच गर्छ । काम गराउन सजिलो अभिनेत्री पनि हो ।

पूजा शर्मा :

अभिनेत्री पूजा शर्मासँग मैले फिल्म ‘पोइ पर्यो काले’ र ‘म यस्तो गीत गाउँछु २’ काम गरेको छु । पूजा एकदमै इनर्जेटिभ भएको अभिनेत्री हो । उहाँ सुटिङको सेटमा आएपछि एकदमै खुसीको माहोल बनाउन सक्नुहुन्छ । 

निकै मिहिनेती र मेरा लागि लक्की पनि सावित हुनुभएको छ । मैले नृत्य निर्देशन गरेको उहाँ अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’ गीत युट्युबमा करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । लभसङ्मा उनका लागि सुहाउँछु ।

लिपसिङ पनि राम्रो छ उहाँको । नृत्यमा उनी अलि कमजोर हो कि । मिहिनेत गर्नुपर्छ ।

सुहाना थापा :

सुहाना थापाले ‘ए मेरो हजुर ३’ बाट अभिनयमा डेब्यु गर्नुभएको हो । यही फिल्ममा मैले काम गर्ने अवसर पाएको थिएँ । उहाँ काम भनेपछि एकदमै रुचि भएको, सिकाएको भन्दा पनि राम्रो गरौँ भन्ने भावना, कामप्रति लगाव भएको अभिनेत्री हो ।

रगतमै कलाकारिता भएकाले होला सायद मर्डन, क्लासिक लगायत सबै प्रकारका नृत्य गराउन सजिलो छ । उनको एक्स्प्रेसन, कामप्रतिको लगाव देख्दा भविष्यको स्टार हुनेमा दुई मत छैन ।

आँचल शर्मा :

आँचलसँग पहिलो पटक ‘ब्ल्याक’ फिल्ममा काम गरेको थिएँ । सो समय उहाँ एकदमै कोरा हुनुहुन्थ्यो । नृत्य गर्न जान्नुहुन्न थियो । एक्स्प्रेसन पनि राम्रो थिएन । काममा पनि के नभएको जस्तो के नभएको थियो । ‘ब्ल्याक’ अभिनय गरेको तीन वर्षपछि फिल्म ‘झिँगे दाउमा’ काम गरे भर्खर भर्खर । उहाँको क्षमतामा पहिले र अहिलेमा आकाश जमिनको फरक भेट्टाएँ । उहाँको नृत्यमा एकदमै सुधार भएको छ ।

एक्स्प्रेसन पनि एकदमै राम्रो छ । तीन वर्षमा मैले फरक आँचल भेट्टाएँ । दिन प्रतिदिन प्रगति गर्ने खालको कलाकार हो आँचल । नृत्यका लागि उहाँको शरीरको लचकता अहिले ठीकै छ । फेसनमा निर्दाेषपन झल्किने भएकाले मर्डनभन्दा पनि हल्का सेमि मर्डन पहिरन सुहाउँछ उहाँलाई । लोक प्याटर्नको गीत धेरै सुट गर्न ।

केकी अधिकारी :

केकीसँग तीन फिल्ममा काम गरँे । ‘ऐश्वर्या’, ‘परदेशी २’ र  ‘झिँगे दाउ’ । उहाँ नृत्य राम्रो र एक्स्प्रेसन क्विनभन्दा फरक नपर्ने अभिनेत्री । उहाँलाई नृत्य सिकाउँदा एक्स्प्रेसन यस्तो दिनुहुन्छ कि फेस हेरिरहन मन लाग्छ ।

नृत्य निर्देशकका लागि सजिलो र सहयोगी अभिनेत्री पनि हो । सिकाएको भन्दा धेरै गर्न सक्ने क्षमता छ ।

शारीरिक लचकतापूर्ण छ । उहाँ उचाइले धोका दिएका कारण सरल प्रकारको पहिरन बढी सुट गर्छ । कलाकारको एक्स्पे्रसन देखिने खालको गीतका लागि उहाँ बढी उपयुक्त हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप