शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : सुनौली नाकाको दुवैतिर हेल्थ डेस्क, पर्यटक आगमन शून्य (फोटोफिचर)

मङ्गलबार, ०४ चैत २०७६, १६ : ०९
मङ्गलबार, ०४ चैत २०७६

बुटवल । रुपन्देहीको सुनौली नाका सधै भिडभाड हुने ठाउँ हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सयौँ सवारी साधनका अतिरिक्त नेपालका सीमावर्ती क्षेत्रका बासिन्दाहरु भारतीय बजार गएर किनमेल गरी फर्कने लर्को यो नाकाका लागि सामान्यजस्तै हो ।

यतिबेला यो नाकामा त्यतिधेरै चहलपहल छैन । कोरोना संक्रमणको त्रासका कारण नाकाको दुवैतिर हेल्थ डेस्क राखिएको छ । भारतबाट नेपालतर्फ आउने नागरिकलाई नेपालतर्फको हेल्थ डेस्कमा र नेपालबाट भारततर्फ प्रवेश गर्नेलाई भारततर्फको हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण गरिन्छ ।

नेपालबाट भारततिर जाँदा आधा दर्जन भारतीय स्वास्थ्यकर्मीहरुले लाईनमा राखेर थर्मोस्क्यानरबाट शरीरको तापक्रम नाप्ने गर्दछन् भने नेपाल आउनेहरुका लागि थर्मोस्क्यानरले ज्वरो मापनसँगै प्रहरी र स्वयंसेवकहरुले हातमा सेनेटाराईजर लगाईदिने गर्दछन् ।

नेपालतर्फ माघ १६ गतेबाट  सिद्धार्थ नगरपालिकाको सक्रियतामा हेल्थ डेस्क स्थापना गरिए पनि थोरै कर्मचारी र उपकरण अभावले प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । अहिले हेल्थ डेस्कमा ६ जना कर्मचारी छन् भने स्थानीयहरु पनि स्वयंसेवकका रुपमा खटिएका छन् । 

सिद्धार्थ नगरपालिका–१, बेलहियाका पूर्वजनप्रतिनिधि रमेश थापाले नाकामा १५ जना स्वयंसेवक रहेको बताए । स्थानीय क्लब, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु स्वयंसेवकको रुपमा खटिएको उनले जनाए ।

भारततर्फ एम्बुलेन्ससहित २४ घण्टै सेवा, नेपाल स्वयंसेवकको भरमा
सुनौली नाकामा भारत र नेपाल दुवैतर्फ आ–आफ्ना स्वास्थ्यकर्मीहरु राखेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । सुनौली नाकामा माघ १६ गतेदेखि २ जनामात्र कर्मचारी राखेर नेपाल सरकारले डेस्क स्थापना गरेको थियो भने भारततर्फ पनि सामान्य स्वास्थ्य परीक्षण र कोरोना रोगको विषयमा सन्देशमुलक साम्रगीहरु वितरण गरिएको थियो । कोरोनाको त्रास जति बढ्दै गयो, उति नै नाकामा स्वास्थ्य चेकजाँचका काम पनि सशक्त बनाइयो ।

भारतले चिकित्सकसहितको टोलीलाई सुनौली नाकामा २४ सै घण्टा खटाएको छ । नेपालतर्फ पनि स्वास्थ्यकर्मीको संख्या बढाएर बिहान ६ बजेदेखि राति १० बजेसम्म  स्वास्थ्य परीक्षण गरिएको फिल्डमा खटिएकी सिद्धार्थ नगरपालिकाको शहरी स्वाथ्य केन्द्रकी अनमी गंगा कँडेलेले रातोपाटीलाई बताइन् ।

भारततर्फ डा.अशोककुमार, डा.पारस लगायत ८ जनाको टिम सुनौलीमा खटिएको फार्मेसिस्ट राजेश बर्माले रातोपाटीलाई बताए । उनीहरुले एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छन् । नेपालमा भने अनमी, सिएमए र स्वयंसेवकहरुको भरमा हेल्थ डेस्क सञ्चालन भइरहेको छ ।

सुनौली नाकाबाट दैनिक १२÷१३ हजारको संख्यामा भारत जाने गरेका छन् भने उताबाट पनि सोही हाराहारीमा नेपाल आउने गरेका छन् ।

अध्यागमन कार्यालय सुनसान 


रुपन्देहीको बेलहिया अध्यागमन कार्यालय सुनसान देखिन्छ । तेस्रो मुलुकबाट भारत हुँदै आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएका कारण अध्यागमन कार्यालय सुनसान भएको हो भने कर्मचारी फुर्सदिला देखिन्छन् ।

सरकारले तेस्रो मुलकका नागरिकलाई अप्रिल ३० सम्म सीमा नाकाबाट नेपाल प्रवेशमा रोक लगाएको छ । बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएको बेलहिया नाका सामान्य अवस्थामा पर्यटकको चहलपहल हुने नाकामा पर्दछ । तर अहिले सो नाकामा पर्यटकहरुको आगमन ठप्प छ ।

भारतले गत शुक्रबार साँझ साढे ५ बजेबाट तेस्रो मुलुकका पर्यटकको आगमनमा रोक लगाएको छ भने नेपालले शनिबार राति १२ बजेबाट रोक लगाएको हो । दुवैतर्फ विदेशी पर्यटकमा रोक लगाइएका कारण अध्यागमन कार्यालयका कर्मचारीहरु फुर्सदिला बन्नु परेको कार्यालय प्रमुख गिरिराज खनालले रातोापाटीलाई बताए ।

राजस्व संकलनमा पनि असर परेको छ । बेलहिया अध्यागमन कार्यालय रुपन्देहीका सरकारी कार्यालयहरुमध्ये राजश्व बुझाउने दोस्रो ठुलो निकाय हो । भन्सार कार्यालय पहिलो र अध्यागमन दोस्रो हो । 

अध्यागमनले अहिले ३ करोड ३१ लाख रुपैयाँमात्र राजश्व संकलन गरेको छ । यो पर्यटक आउने सिजन पनि हो । कार्यालय प्रमुख खनालका अनुसार अहिले खासगरी भारत हँुदै यो नाकाबाट श्रीलंका, म्यानमार, थाईल्याण्ड, भियतनाम र कोरियाका पर्यटकहरु आउने गर्दछन् । ती पर्यटकहरुलाई तीन प्रकारको भिषा प्रदान हुने गर्दछ । दैनिक १४÷१५ सय डलर राजस्व संकलन हुने कार्यालय अहिले पर्यटकमा रोक लगाइएका कारण राजस्व संकलनविहीन भएर बस्नु परेको छ ।

‘भन्सारमा असर परेको छैन’


विश्वव्यापी रुपमा कोरोनाका कारणले अर्थतन्त्रमा असर पारे पनि भैरहवा भन्सार कार्यालयको अवस्था भने अहिलेसम्म सामान्य नै छ । होटल, पर्यटनसँगै अन्य क्षेत्रहरुमा एकपछि अर्को असर देखिन थाले पनि भन्सार कार्यालय भने त्यो असरबाट अहिलेसम्म मुक्त नै देखिएको छ ।

भैरहवा भन्सार कार्यालय देशकै दोस्रो बढी राजस्व उठाउने कार्यालयमा पर्दछ । मालवाहक सवारी साधनलाई नरोकिएकोले भन्सार कार्यालयलाई अहिलेसम्म असर नपरेको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कलमराज भट्टराईले रातोपाटीसँग भने, ‘नर्मल ट्रेड रेगुलर रुपमा चलिरहेको छ, राजस्वमा असर परेको छैन । ग्याँस, तेलका गाडी पनि रेगुलर चलिरहेका छन् ।’

उनका अनुसार विश्वव्यापी रुपमा अर्थतन्त्रमा परिरहेको असर ढिलोचाँडो भन्सार पनि पर्न सक्ला तर यो नाका हुँदै भित्रिने अधिकांश सामान भारतबाटै आयात हुने भएकाले अहिलेसम्म खासै असर परेको छैन ।

प्रदेश सरकार सतर्कता अपनाउँदै
रुपन्देहीमा ५८ किमि खुल्ला सीमा रहेकाले भारतबाट ओहोर–दोहोर गर्ने सबैको स्वास्थ्य परीक्षण सम्भव देखिदैँन । तर कोरोनाबाट सतर्कता अपनाउन प्रदेश ५ सरकारले सतर्कताका लागि विभिन्न उपाय अपनाएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रदेशमा सतर्कता अपनाउँदै १२ जिल्लाका नाकाहरुमा १७ वटा हेल्थ डेस्क स्थापना गरेको छ । त्यस्तै, संक्रमणको आशंका लागेमा त्यस्ता बिरामीलाई उपचारका लागि १ सय १९ वटा आइसोलेसन बेड तयार गरेको स्वास्थ्य निर्देशक डा विनोद गिरीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप