शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ग्यास र मास्कको कृत्रिम अभाव

मङ्गलबार, ०४ चैत २०७६, १२ : ०७
मङ्गलबार, ०४ चैत २०७६

पोखरा । कोरोनाको त्राससँगै यतिबेला पोखरामा ग्यास र मास्कको अभाव सिर्जना भएको छ । पोखराका धेरै डिपोहरुमा ग्यासको अभाव छ । पोखरा रामघाटकी दिलमाया गुरुङ्ग दशभन्दा बढी डिपोमा ग्यास खोज्न हिँडिन् तर उनले ग्यास पाउन सकिनन् । बल्लतल्ल आफन्तको सहयोगमा उनले एक सिलिन्डर ग्यास पाइन् ।

पोखरा न्यूरोड बस्ने सुजन तिवारीलाई पनि ग्यासको जोगाड गर्न दिनभर पोखराको बजार चाहर्नु परेको थियो । 

ग्यास व्यवसायी समितिका अध्यक्ष बालकृष्ण कोईरालाले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको बताए । उनका अनुसार पोखरामा ग्यासको अभाव हुने कुनै अवस्था छैन । उनी भन्छन्, ‘पहिले भूकम्पको बेलामा किनेका ग्यास सिलिण्डहरु अहिले धमाधम आईपुगेका छन् । एउटै व्यक्तिले पाँचवटा सम्म ग्यास किनेका छन् । त्यही कारण बजारमा ग्यास अभाव भएजस्तो देखिएको छ ।’

एक परिवारलाई एकभन्दा बढी ग्यास नदिने हो भने कुनै समस्या नरहने उनको भनाइ छ । यतिबेला देखिएको अभाव व्यापारीले भन्दा पनि उपभोक्ताले नै सिर्जना गरेको उनी बताउँछन् । ‘साधारण अवस्थामा हामीलाई जति ग्यास चाहिने हो, त्यति आईरहेको छ,’ उनले भने ।

ग्यासको जस्तै मास्कको पनि कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ । पोखराका अनिल पौडेल मास्क खोज्नका लागि धेरै मेडिकल पसलमा पुगे तर पाउन सकेनन् । पछि हस्पिटलको फार्मेसीमा पुगेर उनले मास्क लिए । 
मास्क अभावका बारेमा मेडिकल पसल संचालक दिपक पौडेलले भने, ‘पहिलेको जति सहज छैन । एक त हामीसँग मास्क धेरै स्टक हुँदैन । एकै जनाले धेरै मास्क किन्दा अभाव भएको हो ।’

पोखराका औषधी व्यवसायी समितिका अध्यक्ष विक्रम पन्तले मास्क अभाव नभएको बताए । पन्तले भने, ‘केही पसलहरुमा सकिएको हुनसक्छ तर सवै औषधी पसलमा अभाव छैन । पोखरालाई आवश्यक पर्ने मास्क अहिले बजारमा उपलब्ध छ ।’ 

गण्डकी प्रदेश सरकारले बजारमा ग्यास र मास्कको अभाव नभएको दावी गरेको छ । प्रदेशका अर्थ तथा विकास समितिका अध्यक्ष दिपक कोईरालाका अनुसार बजारमा मास्क र ग्यासको अभाव होइन, कृत्रिम अभाव सिर्जना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप