शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि खुलेको १ अर्ब ६० करोडको आईपीओमा लगानी गर्ने कि नगर्ने ?

मङ्गलबार, ०४ चैत २०७६, ११ : ४६
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मङ्गलबारदेखि खुला भएको छ । १ अर्ब ६० करोड रूपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओका लागि बिहान १० बजेदेखि आवेदन खुला भएको पुनर्बिमा कम्पनीले जनाएको छ । उक्त सेयरमध्ये ५ प्रतिशतले हुन आउने ८ करोड बराबरका ८ लाख कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई र ७३ लाख ५० हजार रूपैयाँ बराबरका ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई आरक्षण दिइएको छ । बाँकी हुन आउने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री हुनेछ । उक्त आईपीओ छिटोमा ७ गते र ढिलोमा चैत १८ गते बन्द हुनेगरी निष्काशन मिति तय गरिएको नेपाल पुनर्बिमा कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बिमा कम्पनीको उक्त आईपीओ ४ महिनाको अन्तरपछि आएको हो । यसअघि गत कात्तिकमा शिवश्री हाइड्रोपावरको सेयर निष्काशन भएयता कुनै आईपीओ खुला भएको थिएन । उता आकारको हिसाबले हेर्ने हो भने यो अहिलेसम्मकै दोस्रो ठूलो आईपीओ हो । यसअघि जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले जारी गरेको सेयर योभन्दा ठूलो आकारमा थियो ।

तर यति ठूलो आईपीओ आउँदै गर्दा यो सेयरमा लागनी गर्ने कि नगर्ने ? र लगानी गर्ने हो भने कति लगानी गर्ने भन्ने द्विविधा कतिपय लगानीकर्तामा हुन सक्छ । यो कम्पनीको आईपीओमा लगानी गर्नु उपयुक्त हुन्छ कि हुँदैन त ? यसबारे केही चर्चा गरौँ ।

नेपाल पुनर्बिमा कस्तो कम्पनी हो ?

नेपाल पुनर्बिमा कम्पनी पुनर्बिमा व्यवसाय गर्ने देशको एउटा मात्रै कम्पनी हो । देशमा सञ्चालनका लागि लाइसेन्स पाएका ४० वटै बिमा कम्पनीमध्ये पुनर्बिमा व्यवसाय गर्ने एक मात्रै कम्पनी भएकै कारण यो कम्पनी आफैंमा अरू बिमा कम्पनीहरु भन्दा फरक छ । बिमा कम्पनीहरुले सम्बन्धित ग्राहकसँग गरेको जोखिम हस्तान्तरणसम्बन्धी सम्झौताबाट सिर्जना हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न बिमा कम्पनीहरुले पुनर्बिमा कम्पनीसँग फेरि बिमासम्बन्धी करार गर्छन् । यो कम्पनी त्यस्तै बिमाको कम गर्ने कम्पनी हो ।

पुनर्बिमा कम्पनीको स्थापना हुनुअघि यो ‘बिमा पुल नेपाल’ नाममा सञ्चालनरत थियो । यसले त्योबेलादेखि नै सामूहिक रूपमा बिमाको जोखिम बहन गर्दै आएको थियो । त्यसैलाई परिष्कृत गर्दै २०७१ साल पुस महिनादेखि यसले पुनर्बिमा कम्पनीको रूपमा कारोबार गर्न सुरु गरेको हो । 

यो कम्पनीमा अहिले नेपाल सरकारका साथै यो कम्पनी स्थापना हुँदाका बखतमा देशमा सञ्चालनमा रहेका २५ वटै बिमा कम्पनीको समेत लगानी छ । त्यसका अतिरिक्त गुह्येश्वरी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, हाथवे इन्भेस्टमेन्ट, आईएमई ग्रुप, विशाल ग्रुप, ज्ञान सेक्युरिटिज कम्पनीको समेत लगानी छ ।

अहिले जारी गरिएको पुँजी अनुसार सो कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत र अन्य कम्पनीको ३९.९६१ प्रतिशत सेयर छ । बाँकी हुन आउने १६ प्रतिशत सेयर सार्वजनिक निष्काशनका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था

नेपाल सरकार, सबै बिमा कम्पनी र अन्य कम्पनी समेतको सक्रियतामा खुलेको यो कम्पनीको उद्देश्य पुनर्बिमाको नाममा वार्षिक रूपमा विदेश जाने रकमलाई स्वदेशमै परिचालन गर्नु थियो । साथै विदेशी बिमा कम्पनीबाट समेत पुनर्बिमाको व्यवसाय हात पार्ने उद्देश्य यो कम्पनीको थियो ।

गत आर्थिक वर्षमा सो कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँको खुद बिमाशुल्क आर्जन गरेको हो । त्यसमध्ये निर्जीवन बिमा व्यवसायबाट ५ अर्ब १२ करोड र जीवनबिमा व्यवसायबाट ४० करोड रूपैयाँ रहेको सो कम्पनीले जारी गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ । यो व्यवसायको आकार चुक्ता पुँजीभन्दा पनि कम हो ।

अहिले यो कम्पनीमा देशभित्र रहेका बिमा कम्पनीको उच्च सहभागिता छ । तर विदेशबाट अपेक्षित रूपमा व्यवसाय ल्याउन नसक्दा यो कम्पनीले उत्साहजनक रूपमा व्यापार गर्न सकेको छैन । देशको क्रेडिट रेटिङ हुन नसकेको र पुनर्बिमा कम्पनीले समेत आफूलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन नसकेका कारण विदेशी कम्पनीले नेपाल पुनर्बिमा कम्पनीलाई अहिलेसम्म पनि विश्वास गर्न सकेको अवस्था छैन । त्यति हुँदाहुँदै पनि अहिले पुनर्बिमा कम्पनीले २३ वटा देशबाट व्यवसाय ल्याएको दाबी गरेको छ ।

व्यवसायको आकार कम भए पनि यो कम्पनीले गत वर्ष १ अर्ब ७६ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कुल चुक्ता पुँजीको करिब १४ रूपैयाँ हो । व्यवसाय कम भए पनि नाफा सन्तोषजनक हुनुको कारण भनेको यो कम्पनी पुँजीकोषमा भएको रकमको लगानी हो । यो कम्पनीले उक्त अवधिमा लगानीबाट मात्रै ७८ करोड रुपैयाँ बराबरको खुद आम्दानी गरेको थियो । अर्को ३ वर्षसम्म पुनर्बिमा कम्पनीले क्रमशः ११.९५ रुपैयाँ, १२.४७ रुपैयाँ र १३.६८ रुपैयाँ खुद आम्दानी गर्ने प्रक्षेपण गरेको छ । सर्वसाधारणमा जानु नपर्ने र शाखा विस्तार गर्न नपर्ने भएका कारण संस्थाको सञ्चालन खर्च तुलनात्मक रूपमा कम भएको कारणले पनि यो कम्पनीको नाफा सन्तोषजनक रहन सकेको हो ।

लगानी गर्ने कि नगर्ने ?

पुनर्बिमा व्यवसाय आफैंमा जोखिमपूर्ण व्यवसाय भए पनि नेपाल पुनर्बिमा कम्पनीमा गरिएको लगानी त्यति जोखिमपूर्ण भने देखिँदैन । महाविपत्ति आएर हुने जोखिमबाहेक यो कम्पनीको अन्य संस्थागत जोखिम तुलनात्मक रूपमा कम छ । सरकार र निजी क्षेत्रको साझेदारी रहेको यो कम्पनीसँग सरकारको अनुगमन र निजी क्षेत्रको सक्रियताका कारण यो कम्पनीको व्यवसायको आकार बढ्दै जान सक्छ ।

भूकम्पपछिको पुनर्निर्माणसँगै अहिले नेपालमा जीवन तथा निर्जीवन बिमा व्यवसायको आकारमा विस्तार हुँदै गएको छ । यो अवस्थामा पुनर्बिमा कम्पनीको व्यवसायको आकार पनि बढ्दै जाने सम्भावना देखिन्छ । विदेशी कम्पनीहरुबाट अपेक्षित रूपमा व्यवसाय नआएसम्म यो कम्पनीको जोखिम र प्रतिफलका लागि नेपाली बिमा कम्पनीको पर्फमेन्स कुर्नुपर्ने अवस्था छ । तर अहिले नै १५० रुपैयाँको हाराहारीमा नेटवर्थ भएको कम्पनीले आफ्नो चल सम्पत्तिको प्रयोगबाट न्यूनतम प्रतिफलको प्रत्याभूति दिनसक्ने अवस्था पनि छ ।

त्यसैले अहिलेको अवस्थामा पुनर्बिमा कम्पनीको सेयरमा लगानी गर्नु त्यति जोखिमपूर्ण देखिँदैन । फेरि अङ्कित मूल्यमा सेयर निष्काशन गरिएको हुनाले दोस्रो बजारमा कारोबार भएपछि हुन आउने बजार जोखिमको डरसमेत यो आईपीओमा हुँदैन ।

अहिले दोस्रो बजारमा जीवनबिमा कम्पनीको परिसूचक ७ हजार ४ सय छ भने निर्जीवन बिमा कम्पनीको करिब ५ हजार ६ सय रुपैयाँ छ । यो कम्पनी पनि जीवनबिमा र निर्जीवन बिमा कम्पनीको ‘हाइब्रिड’ प्रकृतिको कम्पनी भएकाले यो कम्पनीको सेयरको उच्च हुनसक्ने देखिन्छ । अर्कोतिर अहिले कुनै पनि बिमा कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम छैन । पुनर्बिमा कम्पनीको भन्दा कम प्रतिसेयर आम्दानी भएका कम्पनीहरुको समेत उच्च मूल्य भएका कारणले यो कम्पनीको दोस्रो बजारमा उपयुक्त मूल्यका लागि सहयोगी हुन सक्छ ।

त्यसैले यो आईपीओ एउटा अवसर नै हो । अहिले नेपाल धितोपत्र बोर्डले नयाँ नियमावली ल्याएर बुक बिल्डिङ मार्फत् सेयर बिक्री गर्न पाउने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि कार्यविधि बनिनसकेको भए पनि १५० नेटवर्थ भएको कम्पनीको सेयरमा नेटवर्थभन्दा बढी मूल्यमा खरिद गर्नेगरी बोलकबोल हुनसक्ने सम्भावना पनि देखिन्छ । यस्तो अवस्थामा पनि १०० रुपैयाँमै सेयर पाउनु अर्को अवसरको कुरा हो ।

कति लगानी गर्ने ?

अहिलेको नियमानुसार प्रारम्भिक सार्वजनिक निष्काशनमा जति आवेदक आउँछन्, उनीहरुलाई समानुपातिक रूपमा सेयरको बाँडफाँट गर्नुपर्छ । ‘धितोपत्र निष्काशन तथा बिक्रीसम्बन्धी निर्देशिका’ले १० कित्ताको गुणाङ्कमा आवेदनन गरेका सबैले पाउनेगरी सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले सेयर खरिदबिक्रीका लागि करिब १६ लाख जना लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यदि सबैले आवेदन गरे भने पनि सबैलाई १० कित्ताका दरमा सेयर बाँडफाँट गर्न पुग्ने अवस्था अहिले छ । यद्यपि डिम्याट खाता खोलेका सबैले यो सेयरमा आवेदन गर्न सक्ने सम्भावना छैन ।

१६ लाख डिम्याटमध्ये करिब ३ लाख डिम्याट खाता दोहोरो खाताअन्तर्गत छन् । अहिले एउटा व्यक्तिको दुईवटासम्म डिम्याट खाता हुनसक्ने व्यवस्था भए पनि कसैको दुईवटा भन्दा पनि बढी छ । त्यसैले ‘युनिक’ खातावालाको सङ्ख्या सो मात्रामा सीमित हुन पुगेको हो ।

तर त्यतिले मात्रै पनि पुग्दैन । विगतको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी सेयर आवेदन परेको अपर तामाकोसी हाइड्रोपावरको सेयरमा ३ लाख ४६ हजार जना सर्वसाधारण सेयरधनीले त्यस्तो सेयर खरिद गर्न चाहेका थिए । तर यो पटक योभन्दा बढी आवेदन पर्ने सम्भावना देखिन्छ । त्यसको कारण पनि छ ।

अपर तामाकोसी हाइड्रोपावरको सेयरमा सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी र दोलखावासीका लागि विशेष आरक्षण दिइएको थियो । यस्तो अवस्थामा आरक्षित कर्मचारी र स्थानीयवासी सर्वसाधारण समूहमा आवेदन गर्न सक्दैनथे । तर यसमा यस्तो अवस्था छैन । त्यसैले ती आवेदकहरु सर्वसाधारण सेयरधनीको रूपमा यो कम्पनीको आईपीओमा आवेदन दिन सक्छन् ।

उता, अपर तामाकोसी हाइड्रोपावरको सेयर खुल्दा बजारमा करिब १४ लाख डिम्याट मात्रै खुलेका थिए । अहिले त्यो करिब २ लाखले बढेको छ । यो कारणले पनि यो सेयरमा धेरै आवेदन पर्नसक्ने सम्भावना देखिन्छ । यो हिसाबले हेर्दा यो सेयरमा करिब ५ लाख आवेदन पर्नसक्ने सम्भावना देखिएको सेयर निष्काशनकर्ता कम्पनीका अधिकारी अनुमान गर्छन् । यद्यपि घट्दो बजार र आईपीओमा पछिल्ला आईपीओहरुको निरशाजनक बजार मूल्यका कारण यसप्रतिको उत्साहमा कमी आउनसक्ने सम्भावनालाई पनि नकार्न भने सकिँदैन ।

यदि ५ लाख जनाले आवेदन गरे भने प्रतिआवेदक ३० कित्ता वा ४० कित्ता सेयर पाइन्छ । यस्ता आवेदक बढे भने प्रतिव्यक्ति सेयर घट्न सक्छ भने आवेदक कम भए भने त्यस्तो सङ्ख्या बढ्न सक्छ । यस्तै अवस्थामा ५० कित्तादेखि ६० कित्तासम्म सेयर आवेदन गर्नु उपयुक्त हुनसक्छ । अहिले सेयरको निष्काशन केन्द्रीकृत आस्वा प्रणालीबाट हुने भएकाले निष्काशन बन्द भएको एक साताभित्रै बाँडफाँट हुनसक्ने देखिन्छ । त्यसैले एक साताका लागि बैङ्कमा पैसा होल्ड गर्नसक्ने व्यक्तिले त्योभन्दा पनि बढी सेयरका लागि आवेदन पनि दिन सक्छन् ।

नयाँ लाइसेन्स पाएका जीवनबिमा तथा निर्जीवन बिमा कम्पनीहरु पनि अहिले आईपीओको चरणमा छन् । जीवनबिमा कम्पनीको ६ अर्ब २८ करोड ५० लाख तथा निर्जीवन बिमा कम्पनीको ९० करोड रुपैयाँ बराबरको आईपीओ आउन बाँकी छ । ती सबै कमपनीले आईपीओ ल्याउने तयारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप