शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : उपत्यकामा एक हजार आइसोलेसन वार्ड, पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमबार, ०३ चैत २०७६, २१ : ४५
सोमबार, ०३ चैत २०७६

सरकारले काठमाडौं उपत्यकाभित्रका ६ वटा अस्पतालमा तत्काल २ सय २० वटा आइसीयु बेडहरुको स्थापना गर्ने भएको छ । सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले काठमाडौं उपत्यकाभित्रका टेकु अस्पताल लगायतका अस्पतालमा आइसीयु बेड स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिनेछ । बैठकले त्यसको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ । 

 त्यस्तै बैठकले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित ७ स्थानमा एक हजार संख्यासम्मको बेड हुनेगरी आइसोलेटेड वार्डको व्यवस्था गर्ने जनाइएको छ । जसमा आयुर्वेद अस्पताल कीर्तिपुर २००, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र २२०, तेलकोटस्थित खानेपानीको तालिम केन्द्र ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १०० र इचंगुनारायणस्थित शैक्षिक ब्यारेकमा २५० बेडको व्यवस्थापनसहितको आइसोलोटेड वार्ड स्थापना गरिने जनाइएको छ ।

त्यस्तै, विभिन्न प्रदेशहरुमा आवश्यकता हेरी १०० वटा आइसीयु कक्षको तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान,डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै कोराना संक्रमणको रोकथामका लागि प्रत्यक्ष रुपमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिमभत्ता उपलव्ध गराउने निर्णय भएको छ ।  

मास्कबारे निर्णय
प्रहरीले विभिन्न स्थानबाट करिब १० लाख पिस मास्क बरामद गरेको छ । कालोबजारी गरेर कमाउन पल्केका व्यापारीले बजारमा सर्जिकल मास्क लुकाएर मूल्य बढाएपछि प्रहरीले मास्क कालोबजारीविरुद्ध अभियानै नै चलाएको छ।

अभियानकै क्रममा प्रहरीले विभिन्न स्थानबाट करिब १० लाख पिस मास्क बरामद गरेको हो। प्रहरीले जफत गरेको मास्क कानूनी प्रक्रिया पूरा नगरी बजार आउन नसक्ने भएपछि सोमबार महान्याधिवक्ताको कार्यालयले प्रहरीलाई सो मास्क बजारसम्म पुर्याउन सहजताका लागि बाटो खोलिदिएको छ ।

महान्यायधिवक्ता अग्नि खरेलले सोमबार जफत गरिएको मास्क साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य संस्थाबाट जफत गरिएको मास्क बजारमा बेच्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 
महान्याधिवक्ताको निर्देशनअनुसार जफत गरिएको सो मास्क बजारमा पठाइने प्रहरीले जानकारी दिएको छ । सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद सो मास्क वितरण गर्न निर्देशन दिएका हुन् । 

मास्कको मूल्य र नमुनासहितको अभिलेख राखेर वितरण गर्न प्रहरी प्रमुख (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई लिखित निर्देशन दिइएको खरेलले जानकारी दिए । यसअघि कानुनी प्रक्रिया पूरा नभएसम्म मास्क गोदाममै थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको प्रहरीले बताएको थियो ।

कालोबजारी मौलायो

कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै त्रास फैलिरहेको बेला यता नेपालमा भने कालोबजारी मौलाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको कपन, र सतुंगल क्षेत्रबाट कृतिम अभाव सिर्जनागरी बढी मूल्यमा विक्रीगर्न लुकाइराखेको अवस्थामा सर्जिकल मास्क बरामद गरेको जनाएको छ।  

 प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंको सतुंगलबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको जनाएको हो । त्यस्तै प्रहरीले आइतबार ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा विक्री गर्न लागिरहेको अवस्थामा काठमाडौंको कपनस्थित मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क सहित ५ जनालाई नियन्त्रणमा लिएको वनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद गरिएको जानकारी दिए । 

 


प्रवक्ता वोगटीले पक्राउ परेकाहरुमाथि कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताए । 

उता वैदेशिक रोजगारीका लागि खाडी पुगेका नेपालीहरु कोरोना भाइरसको त्रासमा छन् । कोरोना त्राससँगै कतिपय मुलुकहरुले बेतलवी बिदा दिइसकेका छन् त कतिले क्वारेन्टाइनमा बसालेका छन् । 
युएई स्थित नेपाली दुताबासले सुचना जारी गरेसँगै हरेक शुक्रबार हुने नेपाली समुदायको कार्यक्रमहरु हुन छाडेका छन् । सार्वजनिकस्थल, यातायात सपिङ मलहरुमा पनि अन्य दिनहरु भन्दा कम नेपाली जान थालेका छन्।

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबासस्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

विषाक्त मदिरा 

प्रदेश २ को धनुषा जिल्लामा विषाक्त मदिराका कारण दुई सातामा २१ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ स्थित रमदैयामा होलीका अवसरमा मदिरा सेवन गरेकामध्ये १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिनदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहरी टोलका ६ जनाको तथा होली कै दिन औरही नगरपालिकास्थित परवाहामा एक जनाको मृत्यु भएको हो ।
पछिल्लो पटक विषाक्त मदिरा सेवन गर्दा क्षीरेश्वरनाथ नगरपालिका१ बस्ने ४५ वर्षीय रामबहादुर यादव, जनकपुरधाम उपमहानगर वडा नम्बर ७ बस्ने जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले विषाक्त मदिरा सेवनगरी त्यस वडामा ६ जनाको मृत्यु भइसकेको जानकारी दिए । 

विषाक्त मदिरा सेवन गरी बिरामी भएका राम ईश्वर महरा, प्रदीप सादा भरत मण्डल, मनिर नदाफ, भरत सदा र सीताराम यादवको अस्पतालमा उपचार भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक अशोक झाले रमदैया र जनकपुरमा मदिरा सेवन गरी मृत्यु हुनेको संख्या ९ जना रहेको जानकारी दिनुभयो । उहाले जनकपुरमा मृत्यु हुनेहरुले मदिरा सेवन गरेको भए पनि कसैको पेट दुखेर, कसैको रोगकै कारण र कसैको अन्य कारणले मृत्यु भएको बताए । 

 मृतकको संख्या बढिरहे पनि अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि वास्तविक कुरा खुल्ने बताइएको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम र क्षीरेश्वनारथ नगरपालिका लगायतका विभिन्न स्थानमा मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि अहिले धनुषा जिल्ला नै शोकमग्न भएको छ ।
धनुषामा विगतका वर्षमा पनि घरेलु मदिरा सेवनका क्रममा सर्वसाधारणको मृत्यु भएको थियो ।
स्थानीयवासीहरुले उक्त घटनाबारे प्रहरीलाई समयमा खबर नगरेको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए । 

गत बिहीबारसम्ममा २ जनाको मृत्यु भएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । ढिलो गरी जानकारी पाएकाले मानवीय क्षति बढी भएको उनको भनाइ थियो ।

त्यसैगरी, मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रहरीले अवैधरुपमा उत्पादन गरिएको घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टीहरु नष्ट गर्ने अभियान अगाडि बढाएको छ ।

मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

विषाक्त मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले ३ लाख क्षतिपुर्ति दिने भएको छ ।

सभामुख सापकोटा

सभामुखअग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरुले टुङ्ग्याएपछि मात्रै संसदको एजेण्डा बन्ने बताएका छन् । 

सोमबार पत्रकारहरुसँगको भेटमा सभामुख सापकोटाले सत्तारुढ दलभित्रै एकमत नभइरहेको सन्दर्भमा एमसीसी संसदको एजेण्डन बन्न नसक्ने बताएका हुन् । 

 हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै एमसीसीबारे विवाद रहेको छ । उनले एमसीसी बहसमै रहेको बताए । 

सभामुख सापकोटाले सत्तारुढ पार्टीमा छलफल भइरहेको र प्रतिपक्षी दलका सचेतक, प्रमुख सचेतकहरुसँग पनि छलफल भएर आएपछि यो एजेण्डा बन्ने बताए । 

नागरिक उड्डयन प्राधिकरण विधेयक

राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

योगेशकुमार भट्टराईले विचार गरियोस, भनी राष्ट्रियसभामा प्रस्तुत गरेको दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेका हुन् ।

यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए । 

उपप्रधानमन्त्री पोखरेल 

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्ना समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेका हुन् । 

उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरे । 

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् ।   

घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप