बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमानस्थलमा नाममात्रैको चेकजाँच, ज्वरो नापेर छाडिदिन्छ सरकार (भिडियोसहित)

सोमबार, ०३ चैत २०७६, १९ : ०८
सोमबार, ०३ चैत २०७६

पछिल्लो तथ्याङ्कअनुसार विश्वका झन्डै १ लाख ७४ हजारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको पुष्टि भइसकेको छ । यसमध्ये ६ हजार ६०० बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्दै सावधानीका उपाय अबलम्बन गर्न सबै देशका सरकारसँग आग्रह गरेको छ । तर, कोरोनाको केन्द्रबिन्दू मानिएको चीनसँग सीमा जोडिएको नेपाल अझै पनि हल्ला र त्रासमै सीमित छ ।  

कोरोनाको महामारी विश्वव्यापी फैलिसक्दा पनि एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका एकजनामा मात्रै संक्रमण भेटिएको पुष्टि भएको छ र ती व्यक्ति पनि उपचार गरेर निको भइसकेका छन् । यसको अर्थ नेपाल कोरोना भाइरसको खतरामा छैन भनेर बुझ्नु गलत हुनेछ । कोरोनाको संक्रमण रोक्न सरकारले विमानस्थलमा विशेष निगरानी गर्नुको विकल्प छैन । र, सरकारले सावधानी अपनाइएको पनि भनिरहेको छ । 'नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने' अध्यागमन विभागले जारी गरेको  निर्देशनमा भनिएकाे छ । 

 


 

तर, अहिलेसम्म सेनिटाइजर छर्ने र थर्मोमिटर गनबाट ज्वरो नापेकै आधारमा आगन्तुकलाई शंकाको घेरामा राख्नेबाहेक विमानस्थलमा अन्य तयारी भएको देखिँदैन । 

यसरी तापक्रम नाप्दा कुनै व्यक्ति बिरामी भेटिए उनीहरुलाई विमानस्थलबाट सोझै टेकु अस्पताल लगिन्छ र ‘आइशोलेसन कक्ष’ मा राखेर उपचार सुरु गरिन्छ । कोरोनाविरुद्ध स्वास्थ्य मन्त्रालयले विमानस्थलमा गरेको काम–कारबाही यति नै हो । 


कोरोनालाई सरकारले कति हल्का लिएको छ, त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्कने सबैलाई स्पष्ट थाहा छ । आइतबार दिउँसो २ बजे थाइ लायोन इयरमार्फत सिन्धुपाल्चोकका सीताराम गौतम, गोविन्द थापा र पाल्पाका सञ्जु शर्मा काठमाडौं अवतरण गरे । यी तीन युवा मलेसिया, सिंगापुर र थाइल्यान्ड घुमेर फर्किएका हुन् । उनीहरुसँगै विमानमा कुल ४५ जना सवार थिए । यात्रुलाई पहिले सेनिटाइजर छर्कने र त्यसपछि ‘थर्मो गन’ले जाँच्ने काम भयो । अनि, उनीहरु बाहिर निस्किए । त्यसपछि ट्याक्सी समातेर सरासर घरतर्फ लागे । 


गौतमले सेल्फ क्वारेन्टाइनका विषयमा सञ्चारमाध्यममार्फत थाहा पाएका हुन् । त्यसैले घर पुगेर अहिले क्वारेन्टाइनमा बसिरहेका छन् । सकभर १४ दिनसम्म यसरी नै अलग बस्ने उनको योजना छ । तर, काठमाडौं झरेकै दिन उनी ट्याक्सी चढे, ड्राइभरलाई पैसा दिए, भेटिएका साथीभाइसँग नबोली हिँड्नसक्ने अवस्था थिएन । उनीजस्तै अन्य यात्रु कहाँ गए के गर्दैछन्, निगरानी गर्न कुनै निकायले तत्परता  देखाएको  छैन । कोरोनाको संक्रमण रोक्न गम्भीर सावधानी अपनाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर, अवस्था फरक छ । त्यसैले विदेशबाट आफन्त वा साथीभाइ आउनासाथ नेपालमा रहेका उनीहरुका आफन्तमा त्रासको ज्वरो बढ्छ ।

सञ्चारमाध्यममा आएका अलग–अलग प्रकृतिका समाचारले गाैतमजस्ता विदेशबाट आएका यात्रु र उनीहरुका आफन्तलाई थप आतंकित बनाउँछ । 

विमानभित्रै पर्चा–पम्प्लेट बाँडेर वा विमानस्थलमा आगन्तुक कक्ष स्थापना गरेर सामान्य जानकारी दिने व्यवस्था सरकारले मिलाएमात्रै पनि अन्यौल, त्रास र संक्रमणको जोखिम कम हुने गाैतमको बुझाइ छ । 

जसरी ज्वरो आएकै भरमा कोरोना भयो भन्न सकिँदैन, त्यसरी नै ज्वरो नदेखिएकै आधारमा कोरोना छैन भनेर ठोकुवा गर्न सकिँदैन– अहिलेसम्मका विभिन्न अनुसन्धानले यस्तै भन्छ । कोभिड–१९ भए–नभएको पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदायले अपनाएको एउटा मापदण्ड १४ दिने क्वारेन्टाइन नै हो । सामान्यतयाः कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएन र ल्याब परीक्षण रिर्पोटमा पनि नेगेटिभ आयो भने संक्रमण छैन भनेर बुझ्न सकिन्छ । तर, यस्तो अवधि ‘विन्डो पिरियड’ मा यदी कोही व्यक्ति खुला रुपमा हिँडडुल गर्छ भने कोरोनाको संक्रमण उमार्फत अन्यमा फैलने जोखिम उच्च रहन्छ । 

त्यसो त १४ दिने क्वारेन्टाइनका विषयमा पनि प्रश्न उठेका छन् । चीनमा एक संक्रमितमा १९ दिनसम्म लक्षण देखिएन र यतिबेलासम्म परिवारका सबै सदस्य बिरामी भइसकेका थिए । दुईजना त कोरोना संक्रमणका कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आयो । यसपछि कतिपयले क्वारेन्टाइन अवधि बढाउनुपर्ने तर्क समेत गरिररहेका छन् । 


नेपालमा विदेशबाट आउनेलाई दुई सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्न त भनिएको छ, तर यदी कोही व्यक्ति संक्रमित नै छैन भने किन क्वारेन्टाइनमा बस्ने ? यदी ऊ संक्रमित छ भने विमानस्थलबाट घरसम्म पुग्दा ऊ कतिजनासँग सम्पर्कमा रह्यो भनेर निगरानी किन नगर्ने ? यसतर्फ सरकारले गम्भीरता देखाएको छैन ।

 सरकारले चाहने हो भने क्वारेन्टाइन बनाएर विदेशबाट आएका यात्रुलाई अन्यसँग सम्पर्कमा आउनुअघि नै सोझै त्यहाँ लगेर राख्नसक्छ । यसरी सबैलाई विशेष व्यवस्था गरेर लैजान सम्भव हुँदैन भने कठोर भएर अन्य देशका यात्रुलाई नेपाल आउन निषेध गर्न सक्नुपर्छ । 

जस्तो, संकटकाल घोषणा गरेको अमेरिकाले २६ युरोपेली देशमा उडान रद्द गरेकोे छ । विश्वका धेरै देशले कोरोनाबाट अतिप्रभावित चीन, इरान, इटलीसहितका युरोपेली देशका यात्रुमाथि भ्रमण प्रतिबन्ध लगाएका छन् । चाहे इरान होस् वा इटली, चीन होस् वा अमेरिका नेपालमा भने सबै देशका नागरिकले निर्वाध घुम्न पाएका छन् । ‘अन अराइभल’ भिसा दिन बन्द गरिएको छ, तर यतिले मात्रै समस्या समाधान गर्नेजस्तो देखिँदैन ।

सरकारले संक्रमणको जोखिम र अन्यौल कम गर्नका लागि ठोस योजना ल्याएको छैन । जस्तो, त्रिभुवन विमानस्थलमा सरकारी तथा गैरसरकारी समेत गरी झन्डै १ सय ५० वटा निकाय सक्रिय छन् । विपद्को घडीमा एकजुट भएर समस्याको साझा समाधान निकाल्नुको साटो ती निकाय आ–आफ्नै ढंगले अघि बढिरहेका छन् । त्यहाँ स्वास्थ्यको छुट्टै डेस्क, विमानस्थल प्रशासनको अलग नियम, इमिग्रेसन र प्रहरीको अलग नियमलगायत सबैका आ–आफ्ना सीमा छन् ।


 विमानस्थलमा अधिकांशले मास्क लगाएका छन्, तर हात धुनका लागि साबुनपानीको सहज व्यवस्था समेत विमानस्थलको कम्पाउन्डमा छैन । जसकारण, होटलका कर्मचारी, एजेन्ट, ट्याक्सीचालकलगायत विविध कामका सिलसिलामा कम्पाउन्ड छिर्नेहरु आतंकित हुनुपर्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने उडानमा सवार यात्रुलाई जनचेतनामुलक पर्चा समेत वितरण गर्न नसक्नु आपसी समन्वय अभावकै परिणाम हो । 

त्रिभुवन विमानस्थलमै आतंकित हुनुपर्ने अवस्था छ भने दुर्गमका गाउँमा कोरोनाबारेको बुझाइ र त्रास कस्तो होला ? भारतसँगका सीमानाकामा सरकारको तयारी कस्तो होला ? जबकी भारतमा १ सय १४ जनामा कोरोनाको संक्रमण देखिएको छ र नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा अहिलेसम्म १३ र उत्तराखण्डमा संक्रमितको संख्या १  छ । 

स्वास्थ्यसम्बन्धी जर्नल मेड अर्काइभमा प्रकाशित पछिल्लो अनुसन्धानअनुसार हावामा तीनघण्टासम्म , प्लास्टिक र स्टिलजन्य वस्तुमा तीन दिन, तामाको सतहमा ४ घण्टा र कागजमा सामाग्रीमा २४ घण्टासम्म कोरोना बाँच्नसक्छ । अब आफैं सोच्नुस्, कसैमा कोरोना देखियो भने यो कति चाँडो फैलनसक्छ ? कोभिड–१९ को औषधी अहिलेसम्म पत्ता लागिसकेको छैन । यद्यपि, चाडै फैलने भएपनि यो सन् २००२÷०३ मा फैलिएको सार्सजस्तो प्राणघातक रोग होइन । 


यसको मृत्युदर झन्डै ३ प्रतिशतको हाराहारीमा छ । सडकमा साबुन–पानी, सेनिटाइजरलगायतको व्यवस्था गर्न र कोरोनासम्बन्धी सामान्य जानकारी दिन समेत सरकार चुकेको अवस्थामा हामी आफै सचेत हुनुको विकल्प छैन । 

विज्ञहरुल सचेत हुनका लागि केही टिप्स् दिएका छन् । जस्तो, हात नमिलाउने बरु नमस्कार गर्ने, अंकमाल नगर्ने, साबुन पानीले हात पटक–पटक धुने, एक मिटर जति टाढा बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्या ढोका बन्द गरेर एउटै कोठामा धेरैजना नबस्ने, भीडभाडमा सकभर नजाने, सर्जिकल मास्क प्रयोग गर्ने, खोकी, ज्वोराे वा स्वासप्रश्वासमा समस्या देखियो भने तत्कालै चेकजाँच गराउने । 
त्यसैले सचेत रहनुस्, आतंकित नहुनुस् । 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप