शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

११ अर्बको प्राइम बैङ्क तर बिना धितो १२ अर्बको बैङ्क ग्यारेन्टी !

भारतीय एस बैङ्कको पथमा प्राइम बैङ्क, जनताको निक्षेपमाथि गम्भीर खेलवाड
सोमबार, ०३ चैत २०७६, १२ : ५६
सोमबार, ०३ चैत २०७६

कुनै त्यस्तो बैङ्क होला जसले बिना धितो पनि ऋण दियोस् ? असम्भव । किनभने कुनै त्यस्तो बैङ्क हुँदैन जसले बिना धितो ऋण दियोस् वा बैङ्क आफै ग्यारेन्टी बसिदियोस् ।

तर नेपालमै एउटा त्यस्तो बैङ्क छ जसले बिना धितो १२ अर्बभन्दा बढी रकमको ग्यारेन्टी बसेको छ, त्यो पनि नेपाल सरकारलाई तिर्ने गरी ।

अनि बिना धितो १२ अर्ब ४६ करोड बराबरको ग्यारेन्टी बस्ने बैङ्क हो, प्राइम कमर्सियल बैङ्क ।

कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैङ्क विभिन्न म्यानपावर कम्पनीहरुले बदमासी गरे वा ठगी गरेको खण्डमा तिर्ने गरी १२ अर्ब ४६ करोड रूपैयाँको बैङ्क ग्यारेन्टी बसेको छ । तर बैङ्क ग्यारेन्टी बस्ने समयमा उसले कुनै धितो भने राखेको छैन, मात्रै १० प्रतिशतसम्म मार्जिन र १ देखि १ दशमलब ५ प्रतिशत प्रतिवर्ष सेवा शुल्क लिएर उसले यति धेरै रकमको ग्यारेन्टी बसेको छ । केही करोडको लोभमा प्राइम बैङ्कले अर्बौंको जोखिम मात्रै मोलेको छैन, जनताको निक्षेप समेतलाई दाउमा राखेको छ ।

यस्तो छ प्राइम बैङ्क र म्यानपावर कम्पनीको साँठगाँठ

सरकारले गएको भदौ १८ गतेदेखि अनिवाय रू पमा म्यानपावर कम्पनीहरुको धरौटी रकममा वृद्धि गर्ने निर्णय गराएको थियो । म्यानपावर कम्पनीहरुको ठगी बढेको र त्यसले सर्वसाधरण अन्यायमा परेको भन्दै धरौटी रकमबाटै ठगी भएको रकम असुलउपर गर्ने उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनको प्रस्ताव गरेको थियो ।

मन्त्रालयको प्रस्ताव अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले ५० लाख नगद र १ करोड ५० लाखको बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावरले १ करोड नगद र ३ करोडको बैङ्क ग्यारेन्टी तथा वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले २ करोड नगद र ४ करोडको बैङ्क ग्यारेन्टी गरी ६ करोड रुपैयाँ राख्नुपर्ने गरी दुवै संसदबाट उक्त विधेयक पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भई कानुन बन्यो ।

वैदेशिक रोजगार ऐन, २०६४ को संशोधन २०७५ ले भदौको १८ गतेभित्र थप गर्नुपर्ने र धरौटी थप गर्नु नपर्ने म्यानपावर कम्पनीहरु स्वतः खारेजीमा जाने कानुन बन्यो ।

वैदेशिक रोजगार ऐनमा संशोधन हुनुभन्दा अगाडि ७ लाख नगद र २३ लाखको बैङ्क ग्यारेन्टी गरी कुल ३० लाख बराबर नगद जम्मा वा बैङ्क ग्यारेन्टी राखेमा म्यानपावर कम्पनी सञ्चालन गर्न पाइने कानुनी व्यवस्था थियो ।

नयाँ कानुनी व्यवस्थाले धरौटी रकममा व्यापक वृद्धि गरेपछि करिब १ हजार ३ सयको हाराहारीमा रहेका म्यानपावर कम्पनीहरुको सङ्ख्या घटी यतिबेला ८ सय ३४ वटा म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनीहरुमध्ये अधिकांश म्यानपावर कम्पनीले वार्षिक ३ हजारभन्दा कम कामदार विदेश पठाउने भएकाले उनीहरुको नगद धरौटी ५० लाखसहित उनीहरुको बैङ्क ग्यारेन्टी २ करोडको रहेको छ ।

एउटै बैङ्कबाट ६ सय २२ म्यानपावरको ग्यारेन्टी !

अहिले नेपालमा २७ वटा वाणिज्य बैङ्क सञ्चालनमा छन् । तीमध्ये प्राइम कमर्सियल बैङ्कले मात्रै ६ सय २२ वटा म्यानपावरको बैङ्क ग्यारेन्टी बसेको छ जबकि अहिले अस्तित्वमा रहेका म्यानपावर कम्पनी नै जम्मा ८ सय ३४ वटा रहेका छन् ।

तर ८ सय ३४ म्यानपावर कम्पनीमध्ये झण्डै ७५ प्रतिशत अर्थात् ६ सय २२ वटा म्यानपावरको बैङ्क ग्यारेन्टी भने प्राइम बैङ्क मात्रै बसेको छ । उसले ६ सय २१ वटा म्यानपावरको २ करोड र मोन्टेज ओभरसिज प्रालिको ४ करोड गरी कुल ६ सय २२ म्यानपावरको १२ अर्ब ४६ करोड रूपैयाँ बराबरको ग्यारेन्टी बसेको छ ।

चुक्ता पुँजीभन्दा बैङ्क ग्यारेन्टी बढी !

प्राइम कमर्सियल बैङ्कले भर्खरै मात्र कैलाश विकास बैङ्कलाई अक्वायर गरी आफूमा विलिन गराएको छ । जतिबेला प्राइम कमर्सियल बैङ्कले कैलाश विकास बैङ्कलाई आफूमा विलिन गराएको थिएन, त्यतिबेला यसको चुक्ता पुँजी जम्मा ११ अर्ब २३ करोड रूपैयाँ थियो । यद्यपि उसले बिना धितो नै १२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ग्यारेन्टी बसेको थियो ।

तत्कालीन नाफा हेर्दा जनताको निक्षेप जोखिममा

प्राइम कमर्सियल बैङ्कले तत्कालका लागि मात्रै नाफा हेर्दा जनताको निक्षेपलाई जोखिममा मोलेको पाइएको छ । उसले ६ सय २२ म्यानपावरमध्ये ६ सय २१ म्यानपावरबाट नगद धरौटी ५० लाखको दरले राखेको छ भने एउटा म्यानपावरको १ करोडको नगद धरौटी राखेको छ । तर यो सबै धरौटी रकम नेपाल राष्ट्र बैङ्कको खातामा जाने हुँदा बैङ्कले उक्त रकम चलाउन भने पाउँदैन । तर पनि उसले सेवा शुल्क र केही रकम बिना ब्याजमै चलाउन पाउने भएकाले बैङ्कले यति ठूलो रकमको जोखिम मोलेको पाइएको छ ।

९३ करोडको लोभमा १२ अर्बको जोखिम

प्राइम कमर्सियल बैङ्कले अत्यधिक जोखिम मोलेर ग्यारेन्टी बसेको १२ अर्ब रकमका लागि उसले बिनाब्याज चलाउन पाउने करिब १ अर्ब रकम मुख्य आकर्षण हो । त्यसबाहेक सेवा शुल्कका नाममा पाइने ५ वर्षको ५ देखि ७ लाख रकम पनि अर्को कारण हो ।

अहिले प्राइम कमर्सियल बैङ्कले करिब १० प्रतिशत मार्जिन लेन्डिङ नगद नै लिने गरेको छ । त्यो भनेको उसले बैङ्क ग्यारेन्टी बसेको रकम अर्थात् २ करोडमध्ये ५० लाख नगद घटाएर १ करोड ५० लाखको १० प्रतिशत अर्थात् करिब १५ लाख रुपैयाँ बराबर हो । प्राइम कमर्सियल बैङ्कले करिब १५ लाख मार्जिन लेन्डिङका रूपमा नगद नै लिने र ५ वर्षका लागि एकै पटक सर्भिस चार्ज लिने गरी ५ लाखदेखि ७ लाख ५० हजारसम्म रकम लिने गरेको छ । ५ वर्षपछि म्यानपावर कम्पनीले तिर्नुपर्ने केही नभएमा वा ठगी गरी नभागेको अवस्थामा उक्त रकम बैङ्कले फिर्ता दिने वा नयाँ धरौटी राख्दा जोड्ने गर्दछ ।

कुल ग्यारेन्टीको रकमको १ प्रतिशत मात्रै सेवा शुल्क अर्थात् कमिसन लिएको अवस्थामा पनि प्राइम बैङ्कले म्यानपावर कम्पनीबाट ५ वर्षका लागि एकमुष्ठ रूपमा सुरुमै ७ लाख ५० हजार रूपैयाँ कमिसन लिएको देखिन्छ । यसरी हेर्दा ६ सय २२ म्यानपावर कम्पनीबाट मात्रै प्राइम कमर्सियल बैङ्कले ४६ करोड ६५ लाख रुपैयाँ यी म्यानपावर कम्पनीहरुबाट यस वर्षका लागि आम्दानी गरेको देखिन्छ र यो रकम आगामी ५ वर्षसम्मका लागि हो ।

त्यति मात्रै होइन प्राइम कमर्सियल बैङ्कले विभिन्न म्यानपावर कम्पनीहरुले राखेको नगद अर्थात् मार्जिन लेन्डिङको रकम पनि बिना ब्याजमा चलाउने पाउँछ । ६ सय २२ म्यानपावर कम्पनीबाट सरदर १५ लाखको दरले लिएको मार्जिङ लेन्डिङ बराबरको रकमको बैङ्कले ब्याजसमेत तिर्नुपर्दैन । त्यो भनेको करिब ९३ करोड ३० लाख रकम हुन आउँछ । झण्डै १ अर्ब रूपैयाँ बैङ्कले ५ वर्षसम्म बिना ब्याज प्रयोग गर्न पाउँछ । त्यसकारण पनि प्राइम बैङ्कले म्यानपावर कम्पनीहरुको बैङ्क ग्यारेन्टीमा यति धेरै इच्छा देखाएको देखिएको छ ।

भारतीय एस बैङ्कको बाटोमा !

केही समय अगाडि मात्रै भारतको एक चर्चित बैङ्क एस बैङ्क डुब्यो । अत्यधिक खराब कर्जा र कमसल धितोका कारण गरिएको लगानी उठाउन नसक्दा यस बैङ्कलाई भारतीय रिजर्भ बैङ्कले समस्याग्रस्त घोषणा गर्यो र अब उक्त बैङ्कको अवस्था दयनीय बनेको । यसको मुख्य कारण भनेको अरू कसैले ऋण नपत्याएका व्यापारिक समूह वा व्यक्तिहरुलाई उसले कमसल धितोमै ऋण दिनु नै थियो ।

एस बैङ्कको नारा नै थियो ‘एस फर लोन ।’ अर्थात् अरू कुनै पनि बैङ्कले ऋण नदिए पनि एस बैङ्कले ऋण दिने ।

बैङ्कका संस्थापक प्रमुख कार्यकारी अधिकृत र पछि अध्यक्ष बनेका राना कपुरको बहुलठ्ठीपन र अदूरदर्शिताका कारण भारतको एउटा ठूलो बैङ्क समस्याग्रस्त भयो र करिब करिब टाट पल्टियो ।

भारतको एस बैङ्क टाट पल्टनु र यता नेपालमा पनि प्राइम बैङ्कको तौरतरिका हेर्दा पनि ऊ पनि बिस्तारै त्यही बाटोमा अगाडि बढिरहेको देख्न सकिन्छ । किनभने जम्मा ११ अर्ब चुक्ता पुँजी भएको बैङ्कले १२ अर्बको बैङ्क ग्यारेन्टी बस्नु र ग्यारेन्टीमा धितो नराख्नु भनेको प्राइम बैङ्क पनि बिस्तारै बिस्तारै समस्याको बाटोतिर लागेको बुझ्न सकिन्छ ।

राष्ट्र बैङ्कले राम्रोसँग अनुगमन नगर्दा र स्पष्ट निर्देशन नदिँदा प्राइम बैङ्कलाई म्यानपावरको बैङ्क ग्यारेन्टी बस्न त कसैले रोकेको छैन तर म्यानपावर कम्पनीहरुले ठगी गर्दै भाग्न थाले र त्यसको क्षतिपूर्ति बैङ्कले तिर्दै जाने हो भने प्राइम बैङ्क पनि बिस्तारै एस बैङ्ककै पथमा लम्केको प्रतित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप