शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्योचाहिँ नलेखिदिनुस् है प्लिज !

सोमबार, ०५ असार २०७४, ११ : ५७
सोमबार, ०५ असार २०७४

‘बोल्दाबोल्दै आवेगमा आइहाल्छु,’ पाटनढोकामा रहेको यलमाया केन्द्रबाट छुट्टिने बेला कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले अनुरोध गरे, ‘मुख्यसचिवबारे मैले जे÷जति बोलें त्योचाहिँ प्लिज नलेखिदिनुहोस् है ।’


कीर्तिमानी पर्वतारोही पण्डितले मुख्यसचिव सोमलाल सुवेदीमाथि असन्तुष्टि व्यक्त गर्न पाँच मिनेटजति खर्चिएका थिए । कुराकानीको बीच÷बीचमा उत्साहित हुने उनी क्षणभरमै दुःखी हुन्थे । उनले दुःखेसो पोखे, ‘५६ लाख रुपैयाँमा घरबारी धरौटी राखेर अन्टार्टिकाको भिन्सन मसिफ आरोहण गरें । सर, मैले घरबारी कसरी निखन्ने होला ?’ 


उनले अहिलेसम्म आरोहणक्रममा झन्डै तीन करोड रुपैयाँ खर्च गरिसकेका छन् । आरोहणका लागि अन्टार्टिका जानेक्रममा चिलीमा तीन दिन भोकै बसेको कथा सुनाउँदा उनी त्यत्तिकै भावुक देखिन्थे । वालेटमा तीन सय डलर रहे पनि बाँकी यात्राका लागि खर्च नपुग्ने भएपछि उनी भोकै बसेका रहेछन् । भोकै बसेर पनि उनले लक्ष्य पूरा गरेरै छाडेको बताए ।


सहकर्मी बिजु महर्जन फोटो लिएर हिँडिन् । म कीर्तिमानी आरोहीको सुख÷दुःख सुनिरहेकै थिएँ । पण्डितले सुन्दै डरलाग्दा आरोहणक्रमका साहसिक कथा सुनाए । उल्टो हिँडेर शिखर आरोहण गर्ने नेपालको पहिलो व्यक्ति उनले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहणमा धेरै ठाउँ लडेको अतीतसमेत सुनाए । ५,६०० मिटरमाथि किलिमन्जारोमा हिउँ नै हिउँ भए पनि उनले उल्टो हिँडेर आरोहण गरे । 


आरोहणमा थुप्रै कीर्तिमानी बनाएका उनले विनाअक्सिजन अमेरिकाको सर्वोच्च शिखर एकांकागुवा आरोहण गरेका थिए । आरोहण सकेर फर्कनेक्रममा बेहोश भएको उनको शरीरमा ३३ प्रतिशतमात्रै अक्सिजन थियो रे । सगरमाथा आरोहण गरिसकेको मानिसले विनाअक्सिजन झन्डै सात हजार मिटरको एकांकागुवा आरोहण गर्न खोज्ने उनको साहस सामान्य मान्न सकिँदैन । उनलाई हेलिकोप्टरबाट उद्धार गरेर बचाइएको रहेछ । 


किलिमन्जारो आरोहणक्रममा सँगै सुतेका साथी हिमपहिरोमा गुमाए । यो सन् २०१२ को कुरा हो । हिमपहिरोमा १४ आरोहीको घटनास्थलमै मृत्यु भएको थियो भने ८० प्रतिशत आरोहीले आरोहण त्यागेका थिए । तर, उनले किलिमन्जारो सफल आरोहण गरेरै छाडे । 


त्यतिमात्रै होइन, उनले सन् २०१३ मा सगरमाथा आरोहण गरे पनि आफ्नै पथप्रदर्शक सोलुखुम्बुका लोप्साङ शेर्पा गुमाए । बाटो बनाउनेक्रममा शेर्पा हिमपहिरोमा खसेका थिए । शेर्पाको नाम लिँदा उनी दुःखित थिए । 


कीर्तिमानी आरोहीको कीर्तिमान बनाउँदा सञ्जय पण्डित बालबाल बचे पनि अमेरिकाको अलास्कामा रहेको डेनाली माउन्टको सफल आरोहण गर्न सकेनन् । दुःखद खबर थाहा पाएपछि रातोपाटीकर्मी बिजु महर्जनले सञ्जय पण्डितको निधन भएको हो भनेर पंक्तिकारलाई सोधिन् । मैले भारी मन बनाएर ‘हो रे’ भन्दा आफू ‘सक्ड’ भएको भन्दै बिजुले दुःखेसो पोखिन् । 


सर, ५६ लाखमा घरबारी धरौटी राखेर अन्टार्टिकाको भिन्सन मसिफ आरोहण गरें । मैले घरबारी कसरी निखन्ने होला ? भन्दै पण्डितले बिलौना गरेको हिजोजस्तै लाग्छ । साँच्चै त्यो घरबारी अब कसले निखन्लान् ? उनीसँग आश्रित परिवारको बिचल्ली शब्दमा लेख्न सकिँदैन ।


कीर्तिमानी पर्वतारोही सञ्जय पण्डित प्युठानबाट काठमाडौं पस्दा सके चार्टटर्ड एकाउन्ट नत्र व्यापारी बन्न चाहन्थे । उनी दुवै बन्न सकेनन् । दुई हजार चार सय ९५ किलोमिटर दौडिसकेका उनी दौडेर जीविकोपार्जन गर्न सकिँदैन भन्ठानेर पर्वतारोहणमा लागेका थिए । कुराकानीक्रममा उनले पंक्तिकारलाई भनेका थिए, ‘संसारमा आठ अर्ब मानिस छन् । चार हजार दुई सयले सगरमाथा आरोहण गरेका छन् । त्यसमध्ये पण्डित पनि एक हुन् ।’ 


संसारका ११ सर्वोच्च शिखर आरोहण गरेका उनले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए । किलिमन्जारो २६ र कोजियसको आरोहण गर्न पाँच घन्टा लागेको थियो । उनले दौरासुरुवाल लगाएर किलिमन्जारो र कोजियसको आरोहण गरेका थिए । 


एलब्रस आरोहणपछि ६ मिनेट ३ सेकेन्ड अर्धनग्न भएका पण्डितले अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मसिफसमेत आरोहण गरेका थिए । भिन्सन मसिफको उचाइ ४,८९५ मिटर छ । भिन्सन मसिफ धेरै कम नेपालीले आरोहण गरेका छन् । गैरशेर्पा समुदायबाट आरोहण गर्ने पहिलो नेपाली सञ्जय पण्डित नै हुन् भनेर उनले दाबी गरेका थिए ।


पण्डितले अन्टार्टिकाकै रजम्यानसमेत आरोहण गरेका छन् । नेपालीले अहिलेसम्म रजम्यान आरोहण गरेका छैनन् । उनी रजम्यानमा पनि अर्धनग्न भएका थिए ।

यो पनि पढ्नुहोस्

५६ लाखमा घर/जग्गा धरौटी राखेर अन्टार्टिकाको सर्वोच्च शिखर चढेँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप