शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ महिनामा बागमती प्रदेशको पर्यटनमा ८५ करोड खर्च, १० वर्षे कार्ययोजनाका लागि १० गुरुयोजना

आइतबार, ०२ चैत २०७६, १८ : ५५
आइतबार, ०२ चैत २०७६

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको विकास, विस्तार एवम् प्रवर्द्धनमा १० वर्षे कार्ययोजना अघि सारको सङ्घीय सरकारले सात वटै प्रदेशहरुलाई आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्न र पर्यटन प्रवर्द्धनमा लाग्न अपील गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले प्रादेशिक सरकारहरुलाई पर्यटन प्रवर्द्धनको स्पष्ट्र खाका बनाउन र सो लक्ष्य अनुरुप लाग्न आग्रह गरेको हो । 

आइतबार संघीय सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले राजधानीमा आयोजना गरेको प्रदेश समन्वय गोष्ठीलाई सम्बोधन गर्दै ७ वटै प्रदेशले आ–आफ्ना गुरुयोजना प्रस्तुत गरेका छन् । उक्त गोष्ठीमा प्रदेशले पर्यटन प्रवर्द्धनमा आफ्नो क्षेत्रमा भए गरेका र भावि कार्ययोजना तथा रणनीति समेत सार्वजनिक गरेका छन् । समग्र प्रदेशको पर्यटकीय क्षेत्र, सम्भावना र चुनौंतिको रुपरेखासहित भावि रणनीतिको खाका समेत प्रस्तुत गरेका प्रदेशहरुले पर्यटन प्रवर्द्धनमा आफ्नो प्रदेशले छुट्याएको बजेट र अपेक्षित खर्चहरुको तथ्याङ्क समेत सार्वजनिक गरेका छन् ।  

आइतबार जारी गोष्ठीमा प्रदेश सरकारले दीर्घकालीन कार्ययोजना सहितको पर्यटन प्रवर्द्धनका खाकाहरु प्रस्तुत गरेका छन् । यस्तैमा पर्यटक आगमनको प्रमुख प्रवेशद्वार समेत मानिएको केन्द्रीय प्रदेश बागमती प्रदेशले १० वर्षे कार्ययोजनासहित आफ्नो १० पर्यटन गन्तव्य र १० योजना सार्वजनिक गरेको छ ।

मुडे–शैलुङ–दोरम्वा कम्प्लेक्स, हरिहरपुर गढी कम्प्लेक्स, बासुकी थुम्का क्षेत्र, ब्रम्हायिणी–भैरवकुण्ड–जुगल कम्प्लेक्स, चिम्टेश्वर–ककनी कम्प्लेक्स, रुवी भ्याली, दामन–चित्लाङ–इन्द्रसरोवर कम्प्लेक्स, सोमदाङ–पार्वतकुण्ड कम्प्लेक्स, जिरी–शिवालय कम्प्लेक्स र मेघौली कम्प्लेक्स गरी १० वटा प्रमुख पर्यटन गन्तव्य अघि सारेको प्रदेशले यी क्षेत्रको भौतिक एवंम् संरचनात्मक सुधार यसै आर्थिक वर्षभित्र सक्ने गरी अघि बढेको जनाएको छ । यसै कार्ययोजना अनुसार अघि बढेको प्रदेश सरकारले प्रदेश भित्रका ८ वटा हिलस्टेशनको निर्माण कार्य समेत कार्यान्वयनको अवस्था रहेको बताएको छ । 

१० वर्षे कार्ययोजनामा १० वटै गुरुयोजना तयार गरेको प्रदेशले प्रदेशको समग्र पर्यटन प्रवर्द्धनमा समुदायमा आधारित पर्यापर्यटन सहित जुगल हिमाल आरोहण, सफा तथा हरियाली शहर विकास, हरित पार्क निर्माण, घरेलु तथा हस्तकला उपज प्रदर्शन, पदमार्ग निर्माण(२२ वटा) साना पर्यटन पूर्वाधार निर्माण, गौरीशंकर क्षेत्र एकिकृत पर्यटन विकास, शैलुङ एकीकृत पर्यटन र इन्द्रसरोवर एकीकृत विकास कार्यक्रम अघि बढाइएको जनाएको छ । यसै योजना अनुसार प्रदेश सरकारले संयुक्त पर्यटन विकास आयोजना अनुसार ३ वर्षे परियोजनाका लागि सङ्घीय सरकार र प्रदेश सरकारको ५०/५० प्रतिशतको साझेदारी रहने गरी गुरुयोजना समेत अघि बढाउने लक्ष्य राखेको बताएको छ ।

आर्थिक पक्ष
बागमती प्रदेशले प्रदेश भित्रका पर्यटन क्षेत्रको व्यवस्थापन सुधार एवंम् प्रवर्द्धनमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तसम्ममा करिब ८५ करोड बराबरको बजेट खर्च गर्ने गरी पर्यटकीय पूर्वाधार निर्माण कार्यको सुरुवात गरेको जनाएको छ । जसमा रु ५० लाख भन्दा कम लागतमा तयार हुने ७४ योजनाहरुका लागि उपभोक्ता समितिमार्फत सम्पन्न गर्नेगरी २५ करोड रकम विनियोजन भएको र योजना सम्झौता भइसकेको जनाएको छ । त्यस्तै, रु ५० लाख भन्दा बढी लागतमा तयार हुने २९ वटा योजनाहरुको ठेक्का प्रक्रिया पुरा गरी ६० करोड बराबरको कार्य हुने गरी कार्य अगाडि बढाइएको बताएको छ । 

बागमती प्रदेशले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि पर्यटन प्रवर्द्धनका लागि १ अर्ब ६५ करोड बजेट छुट्याएको छ । खर्चको हिसाबले हाल बागमती प्रदेशसँग ८० करोड बराबरको मौजुदा रहेको देखिन्छ ।

सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको संघीय सरकारले भ्रमण वर्षको तयारीसँगै सात वटै प्रदेशलाई आफ्नो प्रदेश भित्र पर्ने १०÷१० वटा प्रमुख पर्यटकीय गन्तव्यसहित समग्र प्रदेशको पर्यटन प्रवद्र्धनको स्पष्ट्र योजना तथा भावि कार्ययोजनासहित खाका तयार गर्न भनेको थियो । प्रदेशहरुले आफ्ना प्रमुख पर्यटकीय गन्तव्य सहित अन्य संभावित गन्तव्यहरु समेत यसअघि नै मन्त्रालय र भ्रमण वर्ष २०२० सचिवालयमा बुझाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप