शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको डिस्चार्जपछि नेकपा र सरकारका कामले समात्लान् त गति ?

आइतबार, ०२ चैत २०७६, १७ : ०३
आइतबार, ०२ चैत २०७६

काठमाडौँ । पार्टीभित्रकै विवाद लम्बिनु, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अस्पताल जानु र यहीबेला कोरोनाभाइरसको त्रास बढ्न पुग्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविध दुई सातायता ठप्प जस्तै छन् । 

१२ दिनपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरी अस्पतालबाट बालुवाटार फर्केसँगै पार्टी र सरकारका कामले तीव्रता पाउने अपेक्षा सो पार्टीका नेता कार्यकर्ताको छ । 

नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका प्रधानमन्त्री ओली १२ दिनको अस्पतालको बसाइ र उपचारपछि स्वास्थ्य लाभसहित सरकारी निवास (बालुवाटार) फर्केलगत्तै उनले आफ्ना गतिविधि सक्रिय बनाउन खोजेका छन् । उदाहरणकै लागि अस्पतालबाट फर्केलगत्तै उनले शुक्रबार नै पार्टी महासचिवसहित प्रवक्ता लगायतका केही नेताहरुसँग भेटवार्ता र कुराकानी गरे ।

अस्पतालबाट फर्केको दोस्रो दिन शनिबार प्रधानमन्त्री ओलीले नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेटघाट र सामान्य कुराकानी गरे । त्यस्तै आइतबार उनी सार्क राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन् । शुक्रबारयताका प्रमका दैनिक यी गतिविधिले उनी आफ्नो सक्रियतालाई तीव्रता दिन चाहान्छन् भन्ने प्रष्टै छ । ‘प्रधानमन्त्रीले अस्पतालबाट फर्केकै दिन भेटघाट र नेताहरुसँग छलफल गर्नुले उहाँको सक्रियता छ छैन भन्ने बुझिन्छ’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भनाइ छ । 

यद्यपि चिकित्सकहरुले ओलीको स्वास्थ्यलाई मध्यनजर गर्दै सावधानी अपनाउन सुझाव दिएकाले उनले आफ्नो सक्रियता चाहे जति बढाउन भने सम्भव छैन । चिकित्सको सुझाव अनुसार पनि ओली अझै एक महिना सङ्क्रमणबाट जोगिन सभा, सम्मेलन र भीडभाडबाट टाढै रहनुपर्नेछ । 

यो बीचमा देशमा कोरोना भाइरसको आतङ्क पनि त्यतिकै बढेको छ । यस्तो बेला सरकारले आफ्ना नागरिकलाई सङ्क्रमणबाट जोगाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उत्तिकै रहेको छ । उपयुक्त नीति नियम बनाएर जनशक्ति खटाउनेदेखि स्रोत साधनको थप व्यवस्थापन गर्नुपर्ने चुनौती सरकारलाई छ । त्यसका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले आफ्नो ठाउँबाट केही काम पनि गरिरहेको छ । तर प्रधानमन्त्री आफै सक्रिय रहँदा जति काम हुनसक्थे त्यहीँ अनुपातमा नहुन पनि सक्छन् । यद्यपि समितिले १९ बुँदे निर्णय गरेर कार्यान्वयनमा लगिसकेको जनाएको छ । 
पार्टीका कामले गति लिने अपेक्षा गरौँ : प्रवक्ता श्रेष्ठ 
नेकपामा यसअघि नै गर्नुपर्ने धेरै काम होल्ड भएका छन् । पार्टी एकीकरणको पूर्णतादेखि उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय अलपत्र जस्तै बनेका छन् । तर पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठ अब पार्टीका कामले गति लिने बताउँछन् ।

‘प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली भर्खरै अस्पतालबाट स्वास्थ्य लाभ गरेर फर्कनु भएको छ ।  चिकित्सकहरुको सुझावलाई मान्दै उहाँले सल्लाह गर्ने स्थिति बन्यो भने अब सबै प्रक्रिया अगाडि बढ्छन्’ प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने ।

नेकपाका शीर्ष नेताहरुका अनुसार पार्टीका गतिविधि कसरी अघि बढाउने भनेर पहिला सचिवालयमा छलफल हुन्छ, त्यो छलफल र ओलीको ब्रिफिङ अनुसार गर्नुपर्ने कामको निर्धारण गरिने छ । नेकपामा साङ्गठनिक एकीकरणको काम बाँकी नै छ । विभिन्न विभाग र आयोगहरुले पूर्णता पाएका छैनन् । त्यस्तै पोलिटब्युरो गठनको काम पनि बाँकी नै छ । उता पार्टी सचिवालयको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

जसलाई नेकपाका नेताहरुले विशेष चासो र महत्त्वका साथ लिएका छन् । गौतमलाई राष्ट्रिय सभामा पठाउने विषयमा नेकपामा एक मत छैन । सचिवालयका अधिकांश सदस्यहरु राष्ट्रिय सभा सदस्य पदमा राष्ट्रपतिबाट मनोनीत कोटामा गौतमलाई पठाउनुपर्ने पक्षमा छन् भने स्वयं ओली अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।

गत फागुन २० गते राष्ट्रिय सभा सदस्यमा दुई वर्षे कार्यकाल सकिए पनि खतिवडालाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा निरन्तरता दिएपछि ओलीइतरका नेताहरु सचिवालयको निर्णय के हुने हो भनेर यसै भन्न सकिरहेका छैनन् । यद्यपि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको निर्णय कार्यान्वयन हुनेमा विश्वस्त छन् । प्रचण्डका केही दिनयता सार्वजनिक भएका अभिव्यक्ति सुन्दा उक्त निर्णय कार्यन्वयनमा शङ्का गरिरहनुपर्दैन । प्रवक्ता श्रेष्ठ अबको एक दुई दिनमै सचिवालय बैठक बस्न सक्ने र त्यसपछि मात्रै पार्टीका कामले गति लिने बताउँछन् ।

कसरी बढ्छन् सरकारका काम ? 
सामान्यतया मन्त्रिपरिषदको बैठक सातामा एक दिन बस्ने गर्छ । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि अर्थात् फागुन १८ गते आइतबार मन्त्रिपरिषद बैठक बसेको थियो । त्यसयता मन्त्रिपरिषद् बैठक बसेको छैन । हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पताल भर्ना हुने दिन भिडियो सन्देश जारी गर्दै केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जाका साथ काममा फर्कने घोषाणा गरेका थिए । 

‘यसबीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्नेछन् । विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न, परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु’, प्रम ओलीले भिडियो सन्देशमा भनेका थिए । सोहीअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले आवश्यक निर्णयहरु गरिरहेको छ । 

हुन त ओली अस्पताल भर्ना हुनुभन्दा केही दिनअघि आफू मिर्गौला प्रत्यारोपणका लागि ५ दिन अस्पतालमा बस्ने र छैठौँ दिन काममा फर्कने आत्मविश्वास देखाएका थिए । तर उनले भनेजस्तो छैठौँ दिन नभए पनि उनी त्यसमा थप ६ दिन थपेर अस्पतालबाट बालुवाटार फर्किसकेका छन् । 

‘सरकारले गर्ने कामहरु संयन्त्रहरुमार्फत नियमित भइरहेका छन् । प्रधानमन्त्री अस्पताल रहँदा पनि सरकार सञ्चालनमा कुनै समस्या भएको छैन’, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भन्छन्, ‘अहिले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ । अरू थप निर्णय गर्नुपरे अब जुनसुकै बेला मन्त्रिपरिषद बैठक बोलाउन सक्नुहुनेछ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप