शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली वैज्ञानिकसहितको टोलीले ‘स्किजोफ्रेनिया’को नयाँ प्रकार पत्ता लगायो

आइतबार, ०२ चैत २०७६, १४ : ३९
आइतबार, ०२ चैत २०७६

काठमाडौँ । नेपाली वैज्ञानिक तथा उनका सहकर्मी अनुसन्धानकर्ताको टोलीले ‘स्किजोफ्रेनिया’ अर्थात् एक प्रकारको मानसिक बिमारीको दोस्रो स्वरुप पत्ता लगाएका छन् ।

नेपाली वैज्ञानिक डा. गणेश चन्द र उनको टिमले यो उपलब्धि हासिल गरेको हो । वैज्ञानिक चन्द नेपालको सुर्खेत घर भइ हाल अमेरिकाको पेन्सल्भेनिया विश्वविद्यालयस्थित रेडियोलोजी विभागमा कार्यरत छन् ।

हालै ‘ब्रेन’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार अनुसन्धानकर्ताहरुले एमआरआई र मेशिन लर्निङ्ग विधि प्रयोग गरेर नयाँ तथ्य पत्ता लगाएका हुन् । यसअघि ‘स्किजोफ्रेनिया’ एकल प्रकारकै मानिन्थ्यो र सबैको एकै खालको उपचार गरिन्थ्यो । ‘स्किजोफ्रेनिया’को नयाँ प्रकार पत्ता लागेसँगै त्यसको उपचारमा समेत फरकपन आवश्यक रहने विज्ञहरुको भनाइ छ ।

अनुसन्धानकर्ता डा. चन्द भन्छन्, ‘अध्ययनले बिरामीहरुको मस्तिष्कमा दुई अलग परिवर्तन देखियो ।’ ‘स्किजोफ्रेनिया’को ‘प्रकार १’का बिरामीको मस्तिष्कमा खैरो पदार्थ र सेतो पदार्थको मात्रामा कमी पाइएको र ‘प्रकार २’ का बिरामीहरुमा ‘बेसल ग्यांग्लिया’ र आन्तरिक क्याप्सुल मस्तिष्क खण्डहरु बढेको तर उनीहरुको बाँकी मस्तिष्क संरचनाहरु स्वस्थ मानिसहरुको जस्तो पाइएको उनको भनाइ छ ।

यी दुवै प्रकारमा उमेर, लिङ्ग, बिमारी अवधि, एन्टिसाइकोटिक औषधि डोज वा प्रकार, बिरामी सुरु भएको उमेर, सकारात्मक लक्षण र नकारात्मक लक्षणहरु फरक नरहेको उनले बताए । उनका अनुसार अध्ययनमा ३ सय ६४ स्वस्थ मानिस र ३ सय ७ स्किजोफ्रेनिया बिरामीहरु सामेल थिए ।

अध्ययनमा डा. चन्दसहित २८ अनुसन्धानकर्ता सामेल थिए । उक्त अध्ययन पेन्सिलभेनिया विश्वविद्यालयका प्राध्यापक डा. क्रिस्टोस दाभत्जिकोस र सहकर्मीहरुको नेतृत्वमा रहेको ‘ठूलो डाटा स्किजोफ्रेनिया कन्सोर्टियमको एक महत्वपूर्ण हिस्सा रहेको बताइएको छ ।

अनुसन्धानमा अमेरिका, जर्मनी, चीन, बेलायत, नेदरल्याण्ड, ब्राजिल, स्पेन, इटाली र अस्ट्रेलियाका १५ विश्वविद्यालयका अनुसन्धानकर्ता सामेल थिए जो इमेजिङ्ग भौतिकशास्त्रीहरु, इन्जिनियरहरु, मेशिन लर्निङ्ग वैज्ञानिकहरु, सांख्यिकीविद्हरु, चिकित्सकहरु, मनोवैज्ञानिकहरु र मनोचिकित्सक पृष्ठभूमिका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप