शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तको ऋणले पीडामा महिलाहरु

शनिबार, ०१ चैत २०७६, १२ : ५१
शनिबार, ०१ चैत २०७६

गुल्मी ।  केही वर्ष अघिसम्म ब्याजको–स्याज गराउँदै गरिबहरुलाई ऋणको नाममा ठगी गर्ने साहु–महाजन शैलीको नयाँ रुप अहिले लघुवित्तका प्रकट भइरहेको पाइएको छ । ग्रामिण बस्तीमा शाखा कार्यालय खोल्दै टोल टोलमा छिरेका दर्जनौं लघुवित्त वित्तीय संस्थाहरुले ऋणको ठगी गर्ने गरेको पाइएको हो । 

गाउँगाउँमा पुगेर समूह गठन गर्दै समूहको जमानतमा विना धितो दलित, जनजाति र अन्य विपन्न वर्गका महिलाहरुलाई ऋण दिने लघुवित्त वित्तीय संस्थाहरुले ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार रुपैयाँ सुरुमै लिने गर्छन् भने पछि चर्को ब्याज असुल्ने गरेका छन् । 

ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशत सम्मको  ब्याजले विपन्न महिलाहरुको ढाड  सेक्ने गरेको पाइएको हो । 
  
धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिपलधाराको दलित वस्तीबाट केही दिनको अन्तरालमा लघुवित्तको ऋण तिर्न नसक्दा ८ जना महिला तनावमा परेका छन् ।

उनीहरु ऋण तिर्न नसक्दा घर छाडेर हिँड्न बाध्य भएको दलित अगुवा चन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार त्यस गाउँकी विपन्न परिवारकी महिला शान्त परियार घरमा ताला ठोकेर भारततिर कामको खोजीमा गएकी छन् । त्यस्तै पवित्रा बिक, सीता विक, शान्ति बिक, गीता सुनार, नभी बिक र कमला सुनारको अवस्था पनि उस्तै रहेको छ । 

 विश्वकर्मा भन्छन्, ‘विना धितो सजिलै ऋण पाएपछि महिलाहरु मख्खै पर्ने तर पछि समस्यामा पर्नुभएको छ।’

छिमेकी मदाने गाउँपालिकामा झन् विकराल अवस्था रहेको स्थानियवासीले बताएका छन् । 

 दलित समुदायहरुको ठुलो बाहुल्य रहेको मालिका गाउँपालिका वडा नम्वर ८ को मरभुङ्गमा पनि समस्या रहेको बताइएको छ र 

दलित साझा मञ्च मरभुङ्गका अध्यक्ष खड्ग नेपाली भन्छन–‘यहाँ झण्डै साढे ४ सय घरधुरी दलित समुदाय रहेका छन् , लघुवित्तको ऋण नलिएको घर प्रायः छैन ।

यता गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ्गका वडाध्यक्ष लोकप्रताप शाहले पुतैघाटमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थालाई हटाउनका लागि त्यसको प्रधान कार्यालयमा पत्रचार गर्दा पनि अटेरी गरेको बताए । 

‘धेरै स्थानीय ठगिएको थापा पाएँ, ऋण तिर्न नसकेर संकटमा परेका रहेछन्। त्यसलै मैले त्यस संस्थालाई हटाउनका लागि पत्रचार गरेको हुँ र पनि अटेरी गरेर बसेको छ’, वडाध्यक्ष शाहले भने ।

यता चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले शान्तिपुरमा रहेका त्यस्ता वित्तिय संस्थालाई गत बर्ष नियमन गरिए पछि खासै त्यस्ता गुनासा आउन छाडेको बताए । ‘हामीले  यहाँ वित्तीय संस्थालाई गत बर्ष बोलाएर जथाभावी ऋण प्रवाह नगर्न र ब्याज चर्को नगराउन जोड दिए पछि अहिले खासै त्यस्ता गुनासाहरु आएका छैनन्’, अध्यक्ष  खत्रीले भने अझै पनि हामी नियमन गर्ने छौं ।’  मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले पनि  लघुवित्त वित्तिय संस्थाहरुलाई नियमन गर्ने प्रयास गरिएको  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप