शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवैध घरेलु मदिरा सेवनले लियो करिब एक दर्जनको ज्यान

शुक्रबार, ३० फागुन २०७६, २१ : १६
शुक्रबार, ३० फागुन २०७६

जनकपुर । अवैध मदिरा सेवनले धनुषामा मृत्यु हुनेको संख्या करिब दर्जन पुगेको छ ।धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या ९ पुगेको छ भने २ जना सिकिस्त छन् ।

होली पर्वको अवसरमा अवैध मदिरा सेवन गर्नेहरु मध्ये शुक्रबारसम्म ९ जनाको मृत्यु भइसकेको र सिकिस्त २ जना उपचाररत अवस्थामा रहेको धनुषा प्रहरीले जनाएको छ ।

होली पर्वका दिन मदिरा सेवन गरेका वडा नम्बर २ बस्ने राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रम्हदेव यादवको मृत्यु भएको थियो । अशक्त रहेका वडा नम्बर १ बस्ने इन्द्रजीत महराको उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिप्रका धनुषाले जनाएको छ ।

सिकिस्त रहेका सत्रुधन मण्डल र रामइश्वर महराको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनापछि प्रहरीले गाउँमा अवैध मदिरा भट्टी सञ्चालक रामनन्दन साह र नाम नखुलेका एकजना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रियाअघि बढाएको छ । स्थानीयका अनुसार सो गाउँमा साहलगायत शम्भु कलाल, तरपट्यिा भनिने महिलाको अवैध घरेलु मदिरा भट्टी संचालनमा छ ।

समयमा  प्रहरीलाई जानकारी भएन

 स्थानीयवासीहरुले उक्त घटनाबारे प्रहरीलाई समयमा खबर नगरेको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले बताए 

बिहीवार २ जनाको मृत्यु भएपछि प्रहरीले खबर पाए लगत्तै अनुसन्धान गर्दै यत्रो मनावीय क्षति भएको उनले बताए । सुरुमा अनुसन्धानका लागि शव पोष्टमार्टम हुन नसकेको उनले बताए । मृतक परिवारहरुले कालगतिले निधन भएको भनि दाहसंस्कार गरिसकेपछि अधिकांश मृतकको पोष्टमार्टम नै हुन नसकेको उनले स्पष्ट पारे ।

उनले भने, ‘शवको पोष्टमार्टम विना मदिरा सेवनले नै गर्दा मृत्यु भएको भनि दावी गर्न गाह्रो छ ।’

अवैध घरेलु मदिरा विक्री वितरण रोक्न प्रहरी सक्रिय भए पनि लुकिछिपी घर घरमा बाहिरबाट ल्याएर विक्री वितरण गरिरहेका छन् । 

गाउँ शोकमग्न

मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि रमदैया गाउँ नै शोकमग्न छ । मृतक ब्रह्मदेव यादवको परिवारका लागि एक्लै सहारा थिए । उनको मृत्युले परिवार नै विच्चलीमा परेको छ । ४ छोरी र १ छोरा गरी ५ सन्तान रहेका ब्रह्मदेवको मृत्युले उनको परिवार अहिले शोकमा डुबेको छ । तिनको परिवारको गुजारा कसरी चल्ने भनि निकै चिन्तित छन् गाउँले ।

ब्रम्हदेव यादवको परिवार जस्तै अन्य मृतक परिवारलाई पनि परिवारको सहारा नै गुमेपछि दैनिक जिविकोर्पाजन र घरपरिवार चलाउन निकै धौँ धाैँ परेको छ ।

यसरी घटना भयो

मृतक ब्रम्हदेवकी धर्मपत्नी धनलुट देवीका आनुसार सधै झैँ रामनन्दन साहको भट्टीबाट बुधवार राति रक्सी खाएर आए । उनी नसामा रहेपनि राम्रै थिए, तर त्यसको भोलि पल्ट विहान अन्दाजी ४ बजे उनले वान्ता गर’ वान्ता गरेपछि उनी पुनः सुते र विहान फेरी भट्टीमा पुगे । भट्टीमा पुग्दा मदिराको बोतल उठाउन खोज्दा ब्रह्मदेव त्यही बेहोस भए ।

उनी बेहोस भएपछि उनका साथीहरुले उनलाई घर ल्याए । भूत लागेको भन्दै धामी झाक्रीलाई देखाएपछि केही नरहेको एक धामीले भने । तर पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भयो ।

त्यस्तै मृतक गुदरी मण्डलका छोरा सोमन महराले भने, ‘होलीमा बुवा मदिरा सेवर गरेर आए, मदिरा सेवनको दोस्रो दिन उनको टाउँको दुख्यो । उहाँले औषधी सेवन गरेपनि स्वास्थ्य अवस्थामा सुधार भएन । त्यसपछि उपचारका लागि जानकी मेडिकल कलेजमा लगियो । उहाँको उपचारकै क्रममा मृत्यु भयो ।’

एक वर्षपहिले पनि होलीको पर्वको अवसरमै रमदैया गाउँको मुसहर वस्तीमा अवैध मदिरा सेवनले रामसती सादा, विजय सादा र झुरकु सादा सहित ३ जनाको मृत्यु भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप