शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : कोरोनाको संक्रमण देखिए पकेट एरिया ‘लक डाउन’ गरिने, स्वास्थ्यमन्त्रीकाे चर्को आलोचना

बिहीबार, २९ फागुन २०७६, २० : ३३
बिहीबार, २९ फागुन २०७६

पकेट एरिया लक डाउन 

देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए ।

उनले विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको पनि बताए । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको पनि बताए । कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए ।

देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरिएको छ । स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ । प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए । 

संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताए ।

कोरोनाभाइरसको महामारी हाल १२५ देशमा फैलिइसकेको छ । भाइरसको प्रकोप सुरु भएको चीनले भने महामारीको उत्कर्ष सकिएको बताएको छ । चीनमा कोरोना संक्रमितको संख्या दिनानु दिन घट्दै गएपछि र धेरै संक्रमित निको भएर घर फर्किसकेकोले चीन सरकारले अव महामारी ओराले लागको बताएको हो ।

महामारीबाट हालसम्म विश्वभर ४ हजार ७ सय १७को ज्यान लिइसकेको छ भने अझै १ लाख २७ हजार ८ सय भन्दा बढी संक्रमित छन् । महामारी इटाली, इरान, साउथ कोरीया, फ्रान्स, स्पेन, अमेरिका अनि जपान लगायतकादेशमा तिव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले हिजो राति कोरोनाभाइरसको प्रकोपलाई विश्व महामारी भएको र विश्वले सतर्कता अपनाउन आव्हान गरेको थियो ।

प्रतिनिधिसभा

प्रतिनिधि सभाको आज बसेको बैठकको अधिकांश समय कोरोना भाइरस संक्रमणको विषयमा केन्द्रित भएको छ । सांसदहरुले कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि तत्काल रणनीति बनाई आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले विमानस्थल, सिमा नाका र भीडभाड हुने स्थानमा आवश्यक सर्तकता अपनाउँदै स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विदेशबाट आउनेले कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाएकै भरमा कुनै चेकजाँच नगरी जाने व्यवस्था गर्दा संक्रमणको जोखिम बढेको भन्दै जोखिमयुक्त मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टायनको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे ।

साथै कोरोना भाईरसको त्रास संगै कालो बजारी बढेकाले दैनिक उपभोग्य सामानको सुलभ मुल्यमा उपलब्ध गराउने सम्बन्धमा जनतालाई आश्वस्त पार्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको अवस्थामा बजारमा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरे । उनले खाना पकाउने ग्यास लगायतका उपभोग्य सामग्रीहरुको अभाव देखिएकाले सामान लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कानूनअनुसार कारबाही गर्न माग गरे ।

सांसद अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट गराउनेलाई सार्वजनिक गर्न माग गरे । विष्फोट हुनु पुर्व नै नेपाल प्रहरीलाई पुर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि पनि आशंका पैदा गरेको बताए

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमणलाई नेपाल भित्रन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराइन् । अन्तराष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएको प्रति उनले गम्भीर ध्यानाकर्षण गराइन् ।

छिमेकी मुलुक भारतले आवागमनका यात्रुलाई अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दे उनले समयमा नै आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

भारत लगाय सबै मुलुकले आफ्नो देशमा पर्याप्त सुरक्षा सर्तकता अपनाईरहेका बेला नेपाल सरकारका मन्त्रीले भने गैरजिम्मेवार अभिव्यक्ति दिएर जनतालाई थप त्रसित पार्ने काम गरिरहेको भन्दै उनले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गरिन् ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण नेपालमा देखिए सरकारले सबैलाई क्वारेन्टाईनमा राख्न नसक्ने भन्दै नागरिक आफै क्वारेन्टाईनमा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
 

राजपाका सांसद महिन्द्रराय यादव ले कोरोना संक्रमणले नेपाली जनतामा भय र त्रास फैलिएको भन्दै नागरिकलाई आश्वस्त तुल्याउदै संक्रमणको जोखिमबाट बच्नका लागि आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारको व्यवहारको जनता आश्वस्त हुनुको सट्टा झन झन अन्यौल बढाएको भन्दै एकीकृत र एकद्धार प्रणालीबाट जनतालाई सुसचित गराउन पनि आग्रह गरे ।

यसैगरी प्रतिनिधिसभाका सांसदहरुले सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिरहदाँ नेपाल सरकारले भने लापरवाही गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, कोरोनाको नाममा कालोबजारी मौलाएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


सरकारको पूर्व तयारी

सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् ।

संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सरकारी व्यवस्थापन नपुगेको बताए । विश्वलाई त्रस्त बनाएको कोरोना नेपाल प्रवेश गरे नियन्त्रण गर्न गाह्रो हुने उल्लेख गर्दै उनले बाहिरबाट आउने जुनसुकै नागरिकलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने बताए ।

सरकारले पूर्व सतर्कताका लागि विदेशबाट आउने र विदेश जाने नेपालीलाई तत्काल रोक्नुपर्ने बताए ।

काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले रोकथामका लागि सरकारले गरेको प्रयास पर्याप्त नभएको बताए । जनतालाई सही सूचना दिन एकद्वार प्रणालीको विकास गर्न नसकेको, कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न नसकेको तथा आइसोलेसन र क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न नसकेको उनले बताए ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले जुनतरिकाले तयारी हुनुपर्ने थियो त्यो हुन नसकेको बताए ।

खुला सीमाना चीन र भारतजस्ता धेरै जनसंख्या भएको देशको बीचमा रहेको नेपालमा जति सतर्कता अपनाउनुपर्ने थियो त्यो हुन नसकेको उनले बताए ।

समाजवादी पार्टी संघीय परिषद अध्यक्ष समेत रहनुभएका डा. भट्टराईले सरकारले सकारात्मक प्रयत्न गरिरहेपनि जनतालाई आतंकिन नभएर सजग हुनुपर्छ भन्ने कुरा बुझाउन नसकेको बताए ।

समाजवादी पार्टीका अर्का सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रिय समस्या आउँदा मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको क्षेत्र घोषणा गरेपनि आवश्यक जनशक्ति र अन्य व्यवस्थापन तर्फ ध्यान दिन नसकेको उनले बताए ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइसको संक्रमण अहिले विश्वभरी फैलिएको छ । नेपालमा यसको संक्रमण नदेखिएपनि जनतामा सन्त्रास भने फैलिएको छ ।

बजारमा उपभोग्य सामान पाउन छोडेको मूल्य बढेको गुनासोहरु जनमानसबाट आइरहेका छन् । तत्कालको अवस्थामा कालोबजारी हुन नदिने र ६ महिनासम्म कुनै पनि खाद्यान्न तथा औषधिको अभाव नहुने सरकारले बताउँदै आएको छ । 

प्रतिनिधिसभा, धितोपत्र 

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् ।

‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले  नेपालको धितोपत्र बजारमा १५÷१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए ।

उनले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताए ।

मन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताए ।

कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे उनले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्नुपर्ने बताए । उनले अल्पकालिन प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन नहुने समेत बतए ।

विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताए ।
उहाँले कारोबार गर्ने कम्पनीहरुका लागि रिन्यु गर्ने समय बढाउनुपर्ने बताए ।

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षका लागि थप व्यवस्था लैजानुपर्ने बताए । नियमक निकायलाई ट्याक्स लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार ट्याक्स नलगाउन पनि उनले आग्रह गरे ।

उनले केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर व्यवसायीहरु डराएको र त्यसको प्रभाव शेयरबजारमा देखिएको बताए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकशित मुलुकमा पूँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पूँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताए ।
सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताइन् । पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उनको तर्क थियो  ।

राष्ट्रियसभा, विशेष समय

यता, राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराए । सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोखे ।  

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराए । भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रीत गर्न पनि उनले आग्रह गरे ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा बोल्ने अन्य राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

राप्रपा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् ।

पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए । स्थानीय तहसम्मका कमिटिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने उनले बताए ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए । राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपा ल्याउने प्रयास गरिने उनले बताए ।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको बताए । उनले जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो । 

रमेश खरेल

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताएका छन् ।

‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्वगर्नेहरुले धोका दिएको बताए । उनले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्न लगेको आरोप समेत लगए । उनले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगति निरन्तर बढिरहेकाले आफुहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताए ।

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उनले लगाए । उनले भ्रष्टाचार गर्ने बानीलाई नुसधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तीपूर्ण रुपमा सडकमा उत्रने बताए ।

परादर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उनले बताए । आफुहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उनले बताए ।

प्राइम बैंक मर्ज

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । 

बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो । गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ ।

एकीकृत कारोबारको औपचारीक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताए ।

उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए ।

मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ । त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप