शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना आतंक : खतरा विदेशबाट आउने नेपालीबाटै

विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमै राख्न जनस्वास्थ्य विज्ञको सुझाव
बिहीबार, २९ फागुन २०७६, १८ : २७
बिहीबार, २९ फागुन २०७६

डिसेम्बरको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाभाइरसको माहामारीले यतिबेला युरोपलाई बढी चिन्तित बनाएको छ । बिहीबार अपरान्हसम्ममा इटालीमा ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १० हजार ५ सय ९० जना बिरामीको उपचार भइरहेको छ । 

इटालीमा कोरोनाको भयावह स्थिति आएको एक साता पनि भएको छैन । इटालीसहित बुधबार र बिहीबार डेनमार्कमा पनि यो रोग तीव्ररुपमा फैलिएको छ । त्यसैगरी अमेरिका, अष्ट्रिया लगायतका देशमा पनि कोरोनाले उच्च गति लिइरहेको छ । दक्षिण कोरियामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६६ जना पुगेको छ भने बिहीबार मात्रै १ सय १४ जना नयाँ बिरामी देखिएका छन् । 

छिमेकी देश भारतमा पनि ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने त्यसमध्ये ११ जना बिहीबार मात्रै पुष्टि भएका बिरामी छन् । 

भारतमा समेत कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेपछि उसले मार्च १३ देखि लागू हुनेगरी आफ्नो पूरै देश लकडाउन गरेको छ । भारतले भारत आउने पर्यटकलाई मात्रै होइन, आफ्नै देशका नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

युरोपका कतिपय देशले सीमा वा पूरै देश लकडाउन गरिसकेका छन् । कतार लगायतका खाडी मुलुकले पनि आफ्नो देशको प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । 

तर नेपालमा भने हालसम्म एकजनालाई मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र उनी पनि निको भएर गइसकेकाले अहिलेसम्म नयाँ बिरामी फेला परेका छैनन् । हालसम्म कोरोनाको आशंकामा ४५० जनाको नमुना परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण पुष्टि भएको हो । 

रिपोर्ट जे आएपनि जनस्वास्थ्य विज्ञहरु भने नेपाल खतराको सूचीमै रहेको बताउँछन् । 

त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक तथा छातीरोग विशेषज्ञ डाक्टर निरज बम कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले जस्तो पूर्वतयारी गर्नुपर्ने थियो, त्यो भने गर्न नसकेको बताउँछन् ।

डा बमका अनसार सरकारले सकिन्छ भने तत्कालै  अन्तर्राष्ट्रिय उडानमा रोक लगाउनुपर्ने हुन्छ । सकिन्छ भने सबै देशबाट नेपाल आउने पर्यटकलाई रोक लगाउनु पर्ने र सकिँदैन भने पनि कोरोना संक्रमण बढी भएका देशहरुबाट नेपाल आउने पर्यटकलाई रोक लगाउनुपर्ने उनको सुझाव छ । 

उनी भन्छन्, ‘सरकारले इटाली र कतारले जस्तो त गर्न सक्छ कि सक्दैन, मलाई थाहा छैन । तर पनि कम्तीमा २ साताको लागि विदेशी पर्यटकलाई आउन रोक्नुपर्छ । रोक्न सकिँदैन भने पनि उनीहरुलाई नेपाल नआइदिन आग्रह गर्नुपर्छ ।’

तर नेपालले हालसम्म त्यस्तो ट्राभल एडभाइजरी जारी नगरेको भन्दै यसले भविष्यमा समस्या ल्याउन सक्ने पनि उनले चिन्ता जाहेर गरेका छन् । उनी भन्छन्, ‘नेपालले जसरी सतर्कता अपनाउनु पथ्र्यो त्यो अपनाएको छैन । चीनमा त केही कमी भएको छ, तर युरोपेली मुलुकहरुमा थप फैलिएको कारण यसले थप समस्या ल्याउन सक्छ । त्यसकारण नेपाल सरकारले अब स्वास्थ्य चेकजाँज र सीमामा चेकजाँजका लागि विशेष व्यवस्था अपनाउनै पर्छ ।’

खतरा पर्यटक भन्दा पनि विदेशबाट आउने नेपालीबाटै
छातीरोग विशेषज्ञसमेत रहेका डाक्टर बमका अनुसार नेपालमा कोरोना संक्रमणको खतरा विदेशी पर्यटकबाट भन्दा पनि विदेशबाट आउने नेपालीबाटै भएको बताउँछन् । यदि उनीहरुलाई निगरानी नगर्ने हो भने त्यसबाट उत्पन्न हुने खतरा भयावह बन्नसक्ने बमको जिकिर छ । 

बम भन्छन्, ‘समस्या वा विदेशी पर्यटकमा छैन । किनभने आउनैपर्ने बाहेक अन्य मानिस यो अवस्थामा नेपाल आउँदैनन् । तर विदेशमा रहेका नेपाली नागरिकहरु नेपाल आउँदा के गर्ने भन्ने समस्या हो । अब उनीहरु नेपाल आउँदा कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राख्नैपर्छ । त्यसो गर्न सकिएमा मात्रै कोरोना संक्रमणको जोखिमलाई केही कम गर्न सकिन्छ ।’

डाक्टर बमका अनुसार सकिन्छ भने अब भिडभाड हुने सबै निकाय र क्षेत्र केही समयका लागि बन्द गर्नुपर्छ । विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको भन्दै चैत ५ पछि विद्यालय बन्द हुँदा केही सहज हुने बताउँछन् । अहिले संसद चलिरहेकाले संसद पनि बन्द गर्दा ठीक हुने उनी बताउँछन् ।

यूपी बिहारमा संक्रमणको खतरा
डाक्टर बमका अनुसार अबको केही दिनमा भारतको यूपी तथा बिहारमा समेत कोरोना संक्रमण देखिन सक्छ । अहिले त्यहाँ धेरै बिरामी देखिएको भन्दै अबको केही दिनमा रिपोर्ट आउने र त्यहाँ संक्रमण देखिनसक्ने उनी बताउँछन् । 

यदि यूपी र बिहारमा कोरोना पोजिटिभ देखिएको खण्डमा नेपालमा पनि उत्तिकै खतरा हुने उनी बताउँछन् । 

काठमाडौंमा अस्थायी बसोबास गर्नेहरु गाउँ फर्कँदा राम्रो
डाक्टर बमका अनुसार नेपालमा अहिले नै कोरोनाको संक्रमण नदेखिएको कारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । तर भारतमा पनि यसको संक्रमण बढ्दै गएको अवस्थामा काठमाडौंमा पनि यो रोग आइपुग्न सक्ने सम्भावना रहेको भन्दै काठमाडौंमा अस्थायी बसोबास गर्नेहरु गाउँमा जाँदा थप सुरक्षित भइने उनी बताउँछन् । 

चैत ५ गतेपछि विद्यालयको परीक्षा पनि सकिने भएकाले रोजगारी नहुने र अध्ययनका सिलसिलामा मात्रै उपत्यका लगायतका शहरी इलाकामा बस्नेहरु केही समयका लागि उपत्यका बाहिर जाँदा राम्रो हुने उनको सुझाव छ । 

यता अर्का जनस्वास्थ्य विज्ञ डा. समीर दीक्षित नेपालमा पनि कोरोना संक्रमित हुन सक्ने आशंका गर्छन् । 

उनी भन्छन्, ‘नेपालमा पनि कोरोना संक्रमित छन्, जानकारीमा नआएको मात्रै हो ।’

नेपालमा हालसम्म कोरोनाबाट संक्रमित बिरामी एकजनामात्रै रहेको र उनी पनि उपचारपछि निको भइ घर फर्किएको सरकारी तथ्यांक छ । तर दीक्षित भने नेपालमा पनि कोरोना संक्रमण भएका बिरामीको सङ्ख्या बढी रहेको दाबी गर्छन् । 

उनी थप्छन्, ‘म कोरोनाबाट नेपाललाई धेरै खतरा छ त भन्दिनँ, किनभने आधिकारिक रुपमा एउटा मात्रै केश देखिएको छ । तर वास्तविकरुपमा भने नेपालमा एउटाभन्दा बढी केश रहेको इन्कार गर्न सकिन्न ।’
डा दीक्षितका अनुसार नेपालमा पनि कोरोनाबाट संक्रमितको सङ्ख्या बढी रहेको भएपनि स्रोत र साधनको अभावका कारण रोग पहिचान हुन मात्रै नसकेको हो । 

दीक्षितका अनुसार धेरै नेपालीहरु सामान्य रुघाखोकी मात्रै हो भन्दै सामान्य उपचार मात्रै गराइरहेका छन् । कतिपय सिरियस बिरामीहरु उपचारका लागि आएकै छैनन्, त्यसकारण नेपालमा कोरोनाबाट संक्रमितको सङ्ख्या तथ्यांकमा देखिएको भन्दा बढी नै रहेको दीक्षितको भनाइ छ । 

यदि वास्तविकरुपमै संक्रमित भएर पनि बाहिर नआएको हो भने त्यसले चाहिँ खतरा ल्याउनसक्ने उनको दाबी छ ।

कोरोना लागिहाले पनि मरिहाल्ने होइन
डा दीक्षितका अनुसार कोरोना भाइरस लागिहाले पनि मानिस मरिहाल्ने नभएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘कोरोना लागेको भएपनि ८५ प्रतिशत मानिसहरुलाई खासै केही हुँदैन । सामान्य रुघाखोकीको औषधीले पनि यो रोग निको हुन सक्छ । बाँकी १५ प्रतिशतलाई अलि जटिल हुनसक्छ । तर जटिल भएका रोगीमध्ये पनि धेरै उमेर भएकालाई मात्रै समस्या पार्ने र गलाउने हुँदा आत्तिन पर्दैन ।’

अहिलेको पूर्वतयारीले पुग्दैन
डा दीक्षित सरकारको अहिलेको पूर्वतयारीले नपुग्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले पूर्व तयारी नै नगरेको भन्ने त होइन, तर जति र जसरी पूर्व तयारी गर्नुपर्ने थियो, त्यो चाहिँ नपुगेको र नभएको पक्कै हो । यसका लागि थप चिन्तित हुनुपर्ने बेला आएको छ ।’

दीक्षित भन्छन्, ‘अब ढिलो गर्ने बेला छैन, त्यसकारण संक्रमण बढी भएका देशमा हुने उडान रोकौं, ती देशबाट आउने पर्यटकलाई रोकौं । त्यति मात्र होइन, संक्रमण फैलिएका देशबाट आउने आफ्नै नागरिकलाई पनि सकिन्छ भने रोकौं, सकिँदैन भने अनिवार्य क्वारेन्टाइनमा राखौं ।’

डा दीक्षितका अनुसार पर्यटकबाट आउने आर्थिक फाइदा भन्दा ठूलो जनस्वास्थ्य रहेको भन्दै एक वा दुई महिना पर्यटकलाई रोक्दा केही फरक पर्दैन । आफ्नै नागरिकलाई पनि क्वारेन्टाइनमा राख्दा राम्रो हुने उनी बताउँछन् ।

सेल्फ क्वारेन्टाइनमा बसौं
जनस्वास्थ्य विज्ञ डाक्टर समीर दीक्षित नागरिक आफै सेल्फ क्वारेन्टाइनमा बस्नु उत्तम हुन्छ । ‘अहिले सरकारले भनेको सेल्फ क्वारेन्टाइनको अर्थ अनावश्यक हिँडडुल नगर्ने र मास्क प्रयोग गर्ने भनेको हो । आफूलाई रुघाखोकी लागेको छ भने पनि मास्क प्रयोग गर्ने र बाहिर ननिस्कने भनेको हो । यदि त्यसो भएमा यसको फैलाहट रोकिन सक्छ र त्यसले व्यक्ति, समाज र राष्ट्रलाई फाइदा पुराउन सक्छ । त्यसकारण पहिले हामी आँफै सेल्फ क्वारेन्टाइनमा बसौं’ दीक्षितले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप