बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुँजी बजार पुँजीपतिहरुले कारोबार गर्ने थलो मात्रै होइन : अर्थमन्त्री खतिवडा

बिहीबार, २९ फागुन २०७६, १६ : ५०
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पुँजी बजार पुँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले शेयर बजारमा सानो पुँजीलाई समेत स्थान दिइएकोले सिमित पुँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरेका हुन् । 

उनले नेपालको धितोपत्र बजारमा १५÷१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पुँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पुँजीबजार सबैको भएको दावी गरे । 

‘सानो सानो पुँजी लिएर केही हजारको पुँजी पनि बैंकमा निक्षेप राख्ने कि ? शेयर बजारमा शेयर किन्ने कि ? सानो व्यवसाय केही गर्ने कि ? भन्ने छनौट गर्ने एउटा आधार पाउनुभएको छ पुँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पुँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ । त्यो भएर म्युचुअल फण्ड जस्ता अवधारणाहरु पनि यहाँ ल्याइन्छ,’खतिवडाको भनाई छ । त्यसै गरी थोरै शेयर हाल्न चाहनेहरुको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था पनि यहि धितोपत्र ऐन र यसको नियमावलीले व्यवस्थित गरेको भन्दै त्यसैको आधारबाट अव नेपालीहरु थोरै पुँजी भएपनि कुनै न कनुै रुपमा कुनैपनि सम्पत्तिको मालिक बन्न सकुन भन्ने उदेश्य रहेको बताए । 

जमिन वा अरु किसिमको उद्योग कारखानामा पुँजी होला र शेयर बजारमा पनि सहभागिता भयो भने त्यसले अलिकति आफ्नो पुँजी निर्माणमा पनि सहयोग गर्छ भन्ने हिसाबले पनि विधेयक ल्याउन खोजिएको मनत्री खतिवडाको भनाई छ । 

‘यसमा भएको व्यवस्था अनुसार सामान्य भन्दा समान्य व्यक्तिलाई पनि शेयर बाजरमा पहुँच पु¥याउनको लागि गर्नुपर्ने कुराहरु सरकारले गरिराखेकै छ । केही समय अगाडि देखि केही जलविद्युत आयोजनामा हजारौंको संख्यामा शेयर सहभागिता हुँदै आएको छ । एकदमै आय स्तर कम भएका व्यक्तिहरुले पनि शेयर किन्न सक्ने व्यवस्था गरिएको छ कुनै न कुनै रुपमा । लघुवित्त संस्थाहरुबाट ऋण लिएर भएपनि शेयर किन्न सक्ने व्यवस्था सम्म पनि गरिएको छ । त्यसैले यसलाई अब सिमित वर्गहरुको पुँजीपतिहरुको मात्रै पुँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ भन्ने मालाई लाग्दैन्’, उनकोे दावी छ । मन्त्री खतिवडाले प्रस्तावित विधेयक पुँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको बताए । 

 ‘नियमनलाई बजारको सिद्धान्त अुनुसार धितोपत्र बजारलाई प्रतिस्प्रधात्मक पारदर्शी र कानूनसम्बत तुल्याउँदै लैजान नियमनकारी निकायको भूमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न र यो नियमनकारी निकाय आफैलाई जवाफदेही बनाउन र यसको क्षमता विकास गर्नको लागि नै यो विधेयक प्रस्तुत भएको छ । मुलतः यसको उद्येश्य नियमनलाई  प्रभावकारी बनाउने हो संपूर्ण प्रणालीलाई नियन्त्रण गर्ने होइन व्यवस्थित मात्रै गर्ने हो’ खतिवडाको भनाइ छ । 

खतिवडाले कम्पनीको वित्तीय अवस्था, भाबी आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताए । कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्न सुझाव दिए । 

‘जुन कम्पनीको शेयरमा कारोबार गर्नेहो त्यो कम्पनीको वित्तीय अवस्था र त्यो कम्पनीको भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर शेयर खरिद गर्ने हो । सरकारले कस्तो नीति बनाउँछ र कस्तो नियम र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर शेयरको कारोबार गर्ने हो । त्यसमा व्यक्ति विशेष जो आएपनि गएपनि शेयर बजार प्रभावित हुनुपर्दैन् । विधि र नीति तथा व्यवसायिक सम्भावनाको आधारबाट शेयरको मूल्य र कारोबार बढ्ने घट्ने स्थिति रहन्छ । अहिले विश्व परिवेशमा केहि अनिश्चितता कोरोना भाइरसको पनि कारणले आएको कारणले शेयर बजारमा केही उथलपुथल देखिएको छ । तर अलपकालिन यस्तो प्रवृतिकै आधारलाई हेरेर दिर्घकालीन सोंच बनाउन पनि उपयुक्त होला जस्तो मलाई लाग्दैन्’, मन्त्री खतिवडाको भनाई छ ।   

दलालको साटो व्यवसायी 
विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताए । 

‘ठाउँठाउँमा दलाल दलाल भन्ने शब्दहरु प्रयोग भएको देखिन्छ, वस्तुगत कुरामा अहिले यो शब्द प्रयोग गर्ने काम कम हुँदै गयो संसारभर भएको कारणले गर्दाखेरी दलालको सट्टा धितोपत्र खरिदविक्री गर्ने व्यवसायी भनेर नाम राख्दाखेरि बेस हुन्छ की ?’ उनको भनाई छ । 

उनले कारोबार गर्ने कम्पनीहरुका लागि रिन्यु गर्ने समय बढाउनुपर्ने बताए । ‘कारोबार गर्ने कम्पनीहरुको निम्ती रिन्यु गर्ने समयको निम्ती धेरै कम समय भएको हुनाले यो समय बढाओस्’ भण्डारीको भनाई छ । 

सुरक्षामा ध्यान दिऊ
सांसद राजेन्द्रकुमार केसीले पुँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षाका लागि थप व्यवस्था लैजानुपर्ने बताए । 

नियमक निकायलाई ट्याक्स लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार ट्याक्स नलगाउन पनि उनले आग्रह गरे । केसीले केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर व्यवसायीहरु डराएको र त्यसको प्रभाव शेयरबजारमा देखिएको भन्दै अर्थमन्त्री खुला अर्थनीति र खुला अर्थतन्त्रको विरोधी भएजस्तो नलागेको बताए । 

‘तर के कारणले हो थाहा छैन अर्थमन्त्रीको बर्हिगमन हुँदै छ भनेपछि ह्वात्तै शेयर बजार बढ्ने र अर्थमन्त्री फेरी आउनेवित्तीकै अस्तिमात्रै १६ सय बाट १३ सयमा घटेको अवस्था छ । त्यसैले अर्थमन्त्रीज्यूलाई स्वतन्त्र किसिमले हामीले पुरै पुँजी परिचालन गर्नुपर्ने लगानीलाई प्रोत्साहन गर्ने हो यसमा एकपटक आर्थमन्त्रीले नेपाली पुँजी बजारमा आएको अव्यवस्थित कारणमा बोल्नुपर्ने देख्छु । यसलाई यहिनै हुनुपर्छ भन्दा पनि अर्थमन्त्रीको छायाँसँग अहिले शेयर डराइराखेको छ यो यथार्थ हो’ केसीको जिज्ञाशा थियो । 

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकशित मुलुकमा पुँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पुँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताए । 

‘पुँजी बजार विकासका निमित्त यो नियमन गर्ने निकायको रुपमा जुन धितोपत्र वोर्ड छ यसको धेरै लामो इतिहास नभएपनि यसलाई समाय अनुकुल बनाएर सबैलाई पुँजी परिचालन गर्ने दिशामा अग्रसर गर्ने बाटोमा यो विधेयक अगाडि बढ्नुपर्छ र त्यसका निमित्त केही कुराहरुको परिमार्जन गर्न जरुरी छ’ कार्कीको भनाई छ । 

बोर्ड बलियो हुनुपर्छ 
सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र बोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताइन् । 

पुँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पुँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उनको तर्क छ । 
‘धितोपत्र बजारमा इक्विटी मार्केटको मात्रै कुरा भएको र बजार विस्तार गर्नेहो भने अरु क्षेत्रमा पनि प्रवेश गर्नुपर्छ । धितोपत्र बोर्डलाई आज भएको संरचना भन्दा अझ संस्थागत पक्ष पनि बलियो हुने खालको र संरचनागत विकास गरेर व्यवसायीक बनाउन सक्नुपर्छ’, झाक्रीको सुझाव छ । 

सांसद शेरबहादुर तामाङले निश्कृय रहेको पुँजी बजारमा ल्याउन शेयर बजारले सहयोग गर्ने बताए । त्यसैगरी सांसद गजेन्द्रबहादुर महतले जनतासँग निश्कृय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सिमित भएको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप