शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य

बिहीबार, २९ फागुन २०७६, १६ : ०३
बिहीबार, २९ फागुन २०७६

काठमाडौँ । सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ । 

कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाईसेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले यो संक्रमण रोकथामका लागि चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा हेल्थ डेस्कहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ्ग, स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिने समेत जनाएको छ ।

रोगबारे निगरानी, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले १८ जना सर्भिलेन्स अधिकृत खटाउने तयारी समेत गरेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

उनका अनुसार देशव्यापी रुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय भइरहेको छ ।

त्यसैगरी नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन आवश्यक समन्वय गर्नका लागि क्रस बोर्डर मिटिङ्ग भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमका अवस्था आँकलन गरी सोही अनुरुप चाहिने आइसोलेसन बेड, औषधी उपकरण, आवश्यक जनशक्तिसहितको योजना बनाइएको छ । 

शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, एपिएफ अस्पताललाई तोकिएको छ । अन्य अस्पताललाई पनि सूचीकरण गरिसकिएको जनाए पनि ती अस्पताल कुन कुन हुन् भन्ने सरकारले खुलाएको छैन ।

यस्तै मन्त्रालयले हालसम्म ४५० जनाको नुमना परीक्षण भएकोमा १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । ती एक जना पनि निको भइसकेका छन् । यस्तै संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको पनि मन्त्रालयले जनाएको छ । 

यसैबीच मन्त्रालयले कोही नागरिक नेपाल बाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप