डरको दस्तावेज हुँदैन, डरको वातावरण हुन्छ

person access_timeअसार ५, २०७४ chat_bubble_outline0

    
जब मुलुकमा सङ्कटकाल छैन भनेर कसैले भन्छ भने मेरो एउटै उत्तर हुने गर्छ– सत्ताको आतङ्क र बर्बरताको अन्तिम मापक सङ्कटकाल मात्र होइन । डराउन दिने अरु पनि सयौँ तरिका छन्, जुन सङ्कटकालमा थिएनन् ।
 
सत्ताले सबैलाई डराउन दिँदैन, उनीहरुलाई मात्र डराउन दिन्छ, जोसँग सत्तालाई डर लाग्छ । तिनै मानिसहरुको वरपर एउटा यस्तो वातावरण निर्माण गरिन्छ, जसले डरको सिर्जना गरोस् । यो त्यही वातावरण हो जहाँबाट सत्ताले तपाईंलाई डराउन दिइरहन्छ ।
 
विश्वविद्यालयमा इन्टरनेटको कनेक्सन काटिन्छ । पटेल आन्दोलन भए, इन्टरनेट बन्द गरिन्छ । दलित आन्दोलन भए, इन्टरनेट रोकिन्छ । मध्य प्रदेशको मन्दसौरमा इन्टरनेट बन्द गरिनुको के तुक होला ? के मन्दसौरमा मस्कोमा जस्तै इन्टरनेट स्पिड होला र ?
  
गोली खाने किसानहरुको डिजिटल र डेटा हिस्ट्री चेक गरिन्छ । सत्तालाई जब जनतासँग डर लाग्छ, तब उसलाई इन्टरनेटमा विश्वास हुँदैन । तर, जतिबेला बङ्गलादेश र बर्माका नक्कली तस्बिर देखाएर मानिसहरु बीच साम्प्रदायिक उन्माद फैलाइन्छ, त्यतिबेला इन्टरनेट काट्नु पर्दैन ।


 
यो त्यस्तो उन्माद हो, जुन हाम्रो समयको डरको दस्तावेज हो । जुन फाइलमा होइन, वातावरणमा भेटिन्छ । फोनमा गाली दिने मान्छेले आफू कलकत्ताबाट बोल्दै गरेको भन्दै थियो । उसले सुरुमै मलाई तिमी सुध्र है भन्यो, जबकि म ६ जुनमा किसानहरुको आयस्रोत कति छ ? भनेर छलफल गरेर स्टुडियोबाट निस्कँदै थिएँ ।
 
के किसानलाई तपाईंहरुको आयस्रोत १६०० हो भनेर भन्नु अपराध हो ? जबकि सरकारले बीउ रोप्दा लागेको लागतमा पचास प्रतिशत थपेर दिने आफ्नो बाचा पूरा नै गरेन । के किसानका कुरा गरेमा गाली खानुपर्ने हुन्छ ? जे होस् मलाई जस्ता गाली सुनाइयो मैले त्यसलाई भारतीय संस्कृतिको दुर्लभ दस्तावेज मानेको छु । त्यस्ता गाली सङ्कलित गरेर संसदको भित्तामा झुण्ड्याइनु पर्छ ।  
 
जुन दिनदेखि सीबीआईले एनडीटीभीका प्रमोटर कहाँ छापा मार्यो त्यस दिनदेखि मेरो मोबाइलमा फोनको सङ्ख्या बढेको छ । एनडीटीभीको सन्दर्भमा पहिलेदेखि नै झुठो सामग्री तयार रहने गरेको छ । त्यही विवरण बेला–बेलामा देखाउने गरिएको छ । फोनमा कसैले मलाई माओवादी भन्छ त, कसैले अलगाववादी ।  
 
कसैले मलाई, पख तँलाई भनेर भन्छ भने ह्वाट्सएपका माध्यमबाट बारम्बार मैले माओवादीको समर्थन गरेको भ्रम छरी राखिन्छ । अहमदाबाद विमानस्थलमा बीजेपीको समर्थक हुँ भन्ने एक जना आदरणीयलाई म माओवादको समर्थन गर्दिनँ भनेर सम्झाउनै सकिन ।
 
ह्वाट्सएपका माध्यमबाट फैलाइने झुठ एक दिन मानिसको मनमा रेफ्रेन्स प्वाइन्ट बन्छ र उनीहरुले त्यही चस्माबाट हेर्न थाल्छन् । जुन दिन धेरै जनाले यो झुठमा विश्वास गर्छन्, म जस्ता मानिसहरु बाटाघाटामा घेरिएर मारिन सक्छन् ।
 
तिनीहरुको हत्याको आदेश गृहमन्त्रालयको फाइलमा भेटिने छैन । यी सबै कुरा त्यो वातावरणमा भेटिनेछ, जहाँ यसको उत्पादन भइरहेको छ ।


 
भ्रम भारतको नयाँ राजनीतिक उद्योग हो । राजनीतिक दलका कार्यकर्ता अहिले त्यस्ता भ्रम छर्ने अभियन्ता भएका छन् । मात्र दुइटा प्रश्न गर्नुस् सबै उत्तर तपाईंले पाउनुहुनेछ । यी मान्छे को हुन् र यिनीहरुका समर्थक को हुन् ?
 
यसका लागि तपाईंले पटक पटक प्रधानमन्त्री मोदीको ट्विटर हेन्डल जाँच गरिरहनु पर्दैन । धेरै गायक, लेखक, समाजसेवी बनेर घुमी रहेका मानिसहरुको टाइमलाइनबाट तपाईंले यसको पुष्टि गर्न सक्नुहुन्छ ।
 
यी तिनै मान्छे हुन्, जसले किसान र गरिबको कुरा गर्ने वित्तिकै कसैलाई पनि नक्सली (माओवादी) घोषित गर्दैछन् । त्यही भएर त मुख्यमन्त्रीले सजिलै भन्छन्, किसानहरु पुलिसको गोलीले मरेका होइनन् । उनीहरु असामाजिक तत्वहरुको गोलीबाट मरेका हुन् । अर्का मुख्यमन्त्री छन्, जसले किसानलाई आन्दोलनका लागि भड्काउनेहरुले पाप गरिरहेको भन्दैछन् ।
 
देशभरि विभिन्न ठाउँमा किसान आन्दोलन गरिरहेका छन् । कुनै दिन सामाजिक सञ्जालमा तिनीहरुविरुद्ध अभियान चल्नेछ– यिनीहरु किसान होइनन्, पापी हुन् ।
 
आजभोलि कुनै पनि पत्रकारलाई विपक्षका नेताको विरुद्ध जस्तोसुकै स्टोरी दिनुस्, त्यसपछि हेर्नु त उसको मुहारमा कस्तो आध्यात्मिक खुसी देखिन्छ । तपाईं यिनै पत्रकारहरुको केन्द्रको अथवा सत्ताधारीहरुको विरुद्धको कुनै स्टोरी दिनुस्, त्यसपछि उनीहरुले मुखामुख गरेको हेर्नुस् ।
 
पत्रकारको काम हो सरकारले गर्ने दाबीमाथि पहिले सन्देह गर्ने अनि त्यसको सत्यताबारे बुझ्ने । तर, यहाँ त सरकारको कुरामा विश्वास गर्ने पत्रकारहरुकै सङ्ख्या बढ्यो । यस्ता पत्रकारहरुले सजिलै भन्छन्, यस्तो पहिले पनि त हुन्थ्यो ।
 
भारतीय पत्रकारितामा सरकारको दलाली गर्ने स्तर बढेको छ । सरकारसँग माया गर्ने पत्रकारहरुको आपूर्ति, माग भन्दा धेरै छ । त्यसैले अब पत्रकारहरु सत्ताको निगाहमा पर्न जे पनि गर्दैछन् ।
 
यो नै यसको मूल कारण के हो भने यस्ता पत्रकारमा सत्ताको निगाहमा पर्ने होड मच्चिएको छ । कराउँदै, चिच्याउँदै, धम्क्याउँदै अथवा उल्क्याउँदै उनीहरुले एक दिन स्टुडियोमै गोली चलाउन सक्छन् ।  
 
जुनसुकै साथीसँग कुरा गर्छु, हरेक दोस्रो शब्द पछाडि फोन रेकर्ड त भइरहेको छैन भनेर प्रश्न गर्छन् ? मसँग यसको कुनै प्रमाण छैन तर वातावरण कस्तो छ भने सबैलाई लाग्छ फोन रेकर्ड भइरहेकै होला ।
 
नबोल भन्ने सल्लाहा बढ्न थालेका छन् । मलाई पनि थाहा छ, भीडले जे पनि गर्न सक्छ । यो भीडले गाईको नाममा कुनै पनि मुसलवानलाई मार्न सक्छ । यो भीडले बच्चा चोरीको हल्लामा कुनै पनि हिन्दूलाई मार्न सक्छ । यही भीडले लङ्गर (भोज) का लागि खाद्यान्न मागि राखेको कुनै सिख सेवादारको पगडी खसाल्न सक्छ ।
 
उत्तर प्रदेशमा जब पुलिस अधिकारी नै सुरक्षित रहेनन् भने मैले कोसँग सुरक्षा माग्ने ? उत्तर प्रदेशका एसएसपी बजरङ्ग दलको नेताको सुरक्षामा लागेको सुन्न नपरोस् ।
 
यो भीड होइन, राजनीतिको नयाँ रकेट हो, जसको हरेक दिन प्रक्षेपण गरिँदै छ । सतर्क हुनु होला भन्ने चेतावनी जब बढ्छ, त्यसको अर्थ हो डरको सामाजिक राजनीतिक र आर्थिक वितरण व्यापक भइसकेको छ ।
 
डरको वातावरण हरेक ठाउँमा हुँदैन । उनैका वरिपरि हुन्छ, जसले सामाजिक आर्थिक विषयमा बोलिरहेको हुन्छ । त्यस्तो व्यक्ति पनि हुन सक्छ र संस्था पनि । दुई दिनअघि पुरानो दिल्लीको किनारी बजारबाट एउटा फोन आएको थियो ।
 
उनले आफू व्यापारी भएको जनाउँदै भन्दै थिए, अब सबै कुरा खोलेर भन्न त सकिन्न नि, होइन भने यिनले सेल्स ट्यक्स, सीबीआई लगाई दिन्छन् र सामाजिक सञ्जालबाट बदनाम गराउँछन् । राम्रो कुरा हो कि धन्न तपाईं त खुलेर बोल्दै हुनुहुन्छ ।
 
म हरेक विषयमा बोल्दिनँ, बोल्ने क्षमता पनि राख्दिनँ । मेरो यो स्पष्टीकरणले किनारी बजारका व्यापारीलाई केही फरक परेन । उनको स्वरमा डर मिसिएको थियो । मलाई ढाडस दिन गरिएको फोनको उतापट्टीबाट डर मिसिएको स्वर आउँदै थियो ।
 
ठ्याक्कै यसै समय धेरै पत्रकार बोल्दैछन्, लेख्दैछन् तर उनीहरुको समाचारको पहुँच लगातार सीमित हुँदै गइरहेको छ । उनीहरु सबै आआफ्नो संस्था र टोलमा एक्लै छन् । जसले सत्ताको सुरमा सुर मिलाउँदै गीत गाइरहेका छन् । उनीहरुको स्वर धेरै ठूलो छ ।
 
तपाईंले यो कोरसलाई ध्यान दिएर सुन्नु होला । यो कोरसमा जुन सङ्गीत निस्कँदै छ, त्यो भयको सङ्गीत हो ।
 
भारतका मिडिया डरको राजधानीमा बसेका छन् । हामी सबै त्यो राजधानीबाट सधैँ निस्किन्छौँ । यहाँ डर सीबीआईको होइन, त्यो भीडको हो, जो प्रहरी चौकी बाहिर पनि छ, अदालत परिसरमा पनि छ । यो भीडप्रति जसरी मानिस सकारात्मक छन्, त्यही त डरको दस्तावेज हो । त्यस्ता मानिसहरु फाइलमा होइन, तपाईंको छिमेकमा भेटिन्छन् ।  

 

बिबिसीबाट अनुवाद गरिएको 

रवीश कुमार

रवीश कुमार एनडीटीभीका वरिष्ठ पत्रकार हुन्

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ