बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटाको घर बम विस्फोट : विप्लव समूहले लियो जिम्मा

बुधबार, २८ फागुन २०७६, ११ : ४२
बुधबार, २८ फागुन २०७६

काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । 

पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । 

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएकाे सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ । 

पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए । 

बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ । 

मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।

बाँस्कोटामाथि कारबाही किन ? भन्दै विप्लव समूहले भनेकाे छ-

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप