शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपामा ‘एमसीसी’ अलपत्र, प्रचण्डलाई अप्ठ्यारो !

बुधबार, २८ फागुन २०७६, ११ : ०७
बुधबार, २८ फागुन २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल छिनोफानो गर्नुपर्ने महत्त्वपूर्ण मुद्दाहरु अलपत्र छन् । ती मुद्दाको छिनोफानो गर्न नेकपामा लामो समयदेखि पर्याप्त छलफलसमेत हुन छाडेपछि उठान भएका मुद्दा अलपत्र जस्तै बन्न पुगेका हुन् ।

जुन विषयमा पर्याप्त छलफल गरेर निर्णयमा पुग्नुपर्ने भए पनि पार्टी अध्यक्ष तथा सरकार प्रमुख केपी शर्मा ओली अस्वस्थ भएर अस्पताल बस्नुपर्दा ढिलाइ हुन पुगेको कतिपय नेता कार्यकर्ताको भनाइ छ ।

नेकपाका एकजना केन्द्रीय सदस्य पार्टीभित्र उठेका मुद्दा किनारा लाग्न ढिलाइ हुँदा नेताहरु चुपचाप बस्नुपरेको र पार्टीमा ‘सन्नाटा’ नै छाएको बताउँछन् ।

मुख्यगरी नेकपाभित्र पार्टी एकता र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छिनोफानो नुहँदा सिङ्गो पार्टी अनिर्णयको बन्दी जस्तै बन्न पुगेको उनको भनाइ छ । त्यो बाहेक उपाध्यक्ष बामवेद गौतमलाई राष्ट्रिय सभामा पठाउने विषयमा पनि नेकपामा मत बाझिएको छ । यी दुवै विषयमा नेकपाका शीर्ष नेताहरु कार्यकर्ता दुई कित्तामा उभिन पुगेका छन् । जसले गर्दा नेताहरुलाई निर्णय गर्न पनि कठिन भएको छ ।

गत माघ १९ गते सम्पन्न भएको सो पार्टीको केन्द्रीय समिति बैठकले १५ दिनभित्र एकताका सबै काम सम्पन्न गर्ने निर्णय गरेको थियो । तर फागुन महिना बित्न लाग्दासमेत नेकपाले एकता प्रक्रिया टुङ्ग्याएको छैन ।

नेकपाभित्र एमसीसी पारित गर्ने कि नगर्ने भन्नेमा विवाद कायमै छ । अझ एमसीसी सम्झौताका लागि केही बुँदा परिमार्जन नगरी कार्यान्वयनमा लानु हुँदैन भन्ने मत नेकपामा बलियो छ । यस्तो मत बलियो भएपछि पार्टीभित्र अध्ययन कार्यदल बनाएको नेकपाको कार्यदलको प्रारम्भिक मस्यौदामा पनि सोही मत हाबी बनेको छ ।  ती केन्द्रीय सदस्य भन्छन्, ‘कृष्णबहादुर महराले अन्तिममा सफाइ पाए जस्तै एमसीसी पनि कार्यान्वयनमा त जाला तर त्यसका लागि नेकपाले धेरै कुराको तालमेल मिलाउन बाँकी छ ।’

कार्यदलको अपूरो मस्यौदा

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित एमसीसी अध्ययन कार्यदलमा नेता भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीपकुमार ज्ञवाली सदस्य रहेका थिए ।  खनाल नेतृत्वको कार्यदलले १९ दिन लगाएर प्रारम्भिक मस्यौदा दुई अध्यक्षलाई बुझाएर सचिवालयमा सामान्य छलफल भए पनि पूर्ण मस्यौदा अझै बुझाएका छैनन् । तर कार्यदल सदस्य भीम रावल मस्यौदा बुझाइसकेको दाबी गर्छन् । भन्छन्, ‘हामीले मस्यौदा बुझाइसकेका छौँ तर केही कुरा परिमाजर्न गर्नुपर्ने भएको छ । हाम्रो कार्यविधि अनुसार अहिले सबै कुरा बोल्न पनि मिल्दैन । समय आएपछि बोलौँला ।’

कार्यदल संयोजक खनाल पनि तीनै जनाको सर्वसम्मतिमा मस्यौदा तयार गरिएको भन्दै केही कुरा परिमार्जनका लागि सुझाव दिएको बताउँछन् । खनाल र रावलले यस्तो दाबी गरे पनि कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छैनन् । जुन विषय कार्यदलले गोप्य राखेको छ । नेकपा उच्च स्रोतका अनुसार ज्ञवालीले फरक मत राख्ने वा स्वीकारेर जाने भन्नेमा प्रधानमन्त्री ओलीसँगको छलफलपछि मात्रै हस्ताक्षर गर्ने तयारी छ ।

‘फरक मत राख्दा सन्देश गलत जानसक्छ भनेर सकभर मस्यौदामा एकमत देखाउनेगरी परिमार्जन गरिँदैछ’ स्रोतको दाबी छ ।

अमेरिकी पक्षको दौडधुप

यता एमसीसीबारे नेकपामा विवाद सिर्जना भएपछि पार्टीले अमेरिकासँग समेत एमसीसी इन्डोप्यासिफिक अन्तर्गत हो होइन भनेर बुझ्न सरकारमार्फत बुझ्न निर्देशन दिएको थियो । यो बीचमा नेपालका लागि अमेरेकी राजदूत रेन्डी वेरीले नेकपाका शीर्ष नेतासँग भेटघाट गरेर एमसीसी स्वीकार गर्न दबाब नै दिइसकेका छन् ।

 सोही क्रममा माघ अन्तिम साता नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर अमेरिकी राजदूत वेरीले एमसीसी इन्डोप्यासिफिक अन्तर्गत नभएको विश्वास दिलाउने प्रयास गरेका थिए । जवाफमा नेता नेपालले त्यसो भए एमसीसी इन्डोप्यासिफिकसँग नजोडिने लिखित दस्तावेज दिन आग्रह गरेका थिए । राजदूत र आफूबीचको कुराकानीबारे नेता नेपालले भारतबाट प्रकाशित हुने फ्रन्टलाइन म्यागेजिनलाई केही दिनअघि दिएको अन्तर्वार्तामा पनि बताएका छन् । ‘त्यसबेला इन्डोप्यासिफिकको अङ्ग होइन भनेर राजदूतले भने पनि मैले लिखित प्रतिबद्धता माग्दा अहिलेसम्म आएन’, नेता नेपालले भनेका छन् ।

प्रचण्डलाई अप्ठ्यारो

दुई अध्यक्ष रहेको नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । गत मङ्सिरमा एक अध्यक्ष ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्नेगरी समझदारी भए पनि दुवैले आपसी सहमतिमै निर्णय गर्दै आएका छन् । जसले गर्दा एकल एक अध्यक्ष बिरामी परेका बेला केही निर्णय गर्दा पछि अप्ठ्यारो पर्ला भन्ने प्रचण्डलाई लागेको छ । त्यसैले बैठकसमेत नबोलाई नेताहरु चुपचाप बस्दा कार्यकर्ता पङ्क्तिमा सन्नाटा छाएको छ ।

हुन त ओलीले अस्पताल भर्ना हुनुअघि  पार्टी र सरकारको काम सहज रूपमा हुने विश्वास व्यक्त गरेका थिए । उनले अस्पताल भर्ना हुनुअघि भनेका थिए– मेरो अस्पताल बसाइको समयमा पार्टी तथा संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता–कार्यकर्ता, सांसद र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।’ तर साङ्गठनिक एकता र एमसीसीलगायत थुप्रै विषयमा निर्णय लिनुपर्ने भए पनि ओलीकै कारण सो सबै अलपत्र अवस्थामा छ ।

‘प्रधानमन्त्रीसहितको छलफलबिना यो विषय टुङ्गिन नै सक्दैन । किनभने एमसीसीमा प्रधानमन्त्री जोडिएका छन् । सभामुखले पनि हतारो छैन, पहिला छलफल गर्नुस् भनेका छन्’, नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘प्रधानमन्त्री ओली बिरामी हुनुहुन्छ, फर्केर आएर कहिले बैठक राख्ने भन्ने समेत निश्चित छैन । यसले गर्दा प्रचण्डलाई पनि बैठक बोलाएर निर्णय गरिहाल्न अप्ठ्यारो छ ।’

 हाल त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गराएर स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै रहने बुझिएको छ । मङ्गलबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दा हुने भए पनि घरमा गएर समेत आराम गर्नुपर्ने र त्यसका लागि परिवारले केही व्यवस्थापन गर्नका लागि समय मागेकाले डिस्चार्ज नगरिएको बताएकी थिइन् । उनका अनुसार घरमा गएर पनि प्रधानमन्त्री केही समय आराममै बस्नुपर्ने हुन्छ । अब प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार गएपछि अहिले अलपत्र परेका विषयमा छलफल प्रक्रिया अघि बढ्ने नेताहरुको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप