शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् बाडेगाउँको जात्रा

मङ्गलबार, २७ फागुन २०७६, १५ : ३२
मङ्गलबार, २७ फागुन २०७६

गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ ।

बाडेगाउँको जात्रा सकिएको चार दिनपछि गोदावरीको फूल्चोकीमाई र नौधारामा भक्तजनले पूजा गरी जात्रा विसर्जन गर्ने गर्छन् । काठमाडौँ उपत्यकामा रहेका चार बाराहीमध्ये श्वेतबाराही सबैभन्दा राम्री, धनी र जेठी बाराही रहेको बाडेगाउँका ८९ वर्षीय पशुपति महर्जनले जानकारी दिए । उनले भने, “बज्रबाराही माइली, धुम्बाराही साइली र नीलबाराही कान्छी बाराही हुन् । श्वेतबाराहीको जात्रा लिच्छवीकालदेखि शुरु भएको भनिन्छ । जात्रामा बाजागाजासहित फूल्चोकी, गणेश र कालभैरवलाई तीनवटा खटमा राखी नगर परिक्रमा गरिन्छ ।” परापूर्वकालमा बाडेगाउँमा भूत, प्रेत, पिचास र राक्षसको बढी डर भएपछि यिनीहरुबाट मुक्ति पाउन जात्रा मनाउन थालिएको बताइएको छ । 

मालपोत र गुठी संस्थानबाट जात्राका लागि सरकारी पूजा आउने गरेको ईश्वर बज्राचार्यले बताए । उनले भने, “थोरै रकम दिन्छ, जात्रामा चाहिने साम्रगी खरिद गर्न पुग्दै पुग्दैन ।” बाडेगाउँमा पाँच वटा गुठी रहेको हुँदा यस वर्ष ट गुठीलाई जात्रा मनाउने पालो परेको बज्राचार्यले जानकारी दिए ।

बाराहीको नाममा रहेको झण्डै १०० रोपनी जग्गामा हाल १० रोपनी पनि भेट्न मुस्किल भएको ट गुठीका गुठीयार बाबुकाजी महर्जनले जानकारी दिए । उनले भने, “सबैले जग्गा अलिअलि तान्दातान्दै श्वेतबाराही माताको नाममा रहेको सम्पत्ति घटिसक्यो । यस जात्रामा बाडेगाउँमा व्यवसाय गरेर बसेका मानिस पनि पूजा गर्न आउँछन् ।” हरेक वर्षको जात्रामा उपस्थित भई हाजिर गरेर जानेलाई बाडेगाउँको लाछीमा धान सुकाउन दिइने चलन रहेको बताइन्छ ।

विगतमा अमरावतीपुर भनिने हालको टौखेलमा राजा सूर्योदयले ५१८ वर्षअघि राज्य गरेर बसेका थिए । राजा अति नै प्रजाप्रेमी थिए । समयअघि बढ्दै जाँदा राजाको सन्तान भएनन् । राजाले आफ्नी जेठी रानी निमादेवीबाट सन्तान नभएपछि चित्रदेवी नामक युवतीसँग बिहे गरे । चित्रदेवीबाट सन्तान भएपछि उनको सङ्गतले राजाको सम्पूर्ण बानी परिवर्तन हुँदै गयो । उनले आफ्ना प्रजाको वास्ता गर्न छाडे र जेठी रानीलाई पनि गोदावरीको घना जङ्गलमा लगेर छाडिदिए । जेठी रानी र प्रजा दुवैलाई निकै दुःख भयो । यसैक्रममा वसुन्धरादेवी प्रकट भइन् । टौखेल र बाडेगाउँमा त्यसपछि अन्न उब्जनी हुन थाल्यो । देवीले गोदावरीको जङ्गलमा रानीलाई पनि भेटी दर्शन दिएको भनाइ बुढापाकाको रहेको छ ।

महामञ्जुश्रीले गोदावरीको फूल्चोकीमा आएर फूल चढाएकोले फूल्चोकी रहन गएको कृष्णमुकुन्द महर्जनले बताए । उनले भने, “यसैको कारण बाडेगाउँमा फूल्चोकीमाईको जात्रा पनि मनाउने गरिएको हो ।”

कालभैरवको जात्रा

आज बाडेगाउँमा कालभैरवको जात्रा पनि मनाइन्छ । बाडेगाउँका पुरोहित ईश्वर बज्राचार्यका अनुसार श्वेतबाराहीको जात्रासँगै कालभैरवको जात्रा मनाउने  यहाँको पुरानो चलन हो । रत्नकेतुको पालामा बाडेगाउँमा आलोक नामक राक्षस थियो । सो राक्षस पानीमा बस्थ्यो । समयअघि बढ्दै जाँदा दैनिक यो राक्षसले बच्चा चोरेर खान थाल्यो । दैनिक बच्चा चोरेर खाने भएपछि बाडेगाउँमा डर र त्रास फैलियो । दिनानुदिन बच्चा हराउँदै गए । राजालाई आफ्नो छोरा पनि राक्षसले खान्छ भन्ने डर भयो । राजाले राक्षस बोलाएर प्रत्येक दिन एउटा राँगा दिने वचन गरे ।हरेक दिन आलोकलाई राँगा दिँदै जाँदा बाडेगाउँमा राँगाको पनि हाहाकार भयो । राजालाई झन् चिन्ता थपिदै गयो । राजाले बुद्धको पार्थना गरे । बुद्धले राजालाई दर्शन दिए । राजाले बुद्धको दर्शन पाएपछि राक्षसलाई आग्रह गर्न सफल भए । राक्षसले वर्षको एकपल्ट राँगा खाने वचन गरेअनुरुप हरेक वर्ष कालभैरवलाई राँगा दिने गरेको उनले बताए ।  भैरवलाई बलि दिँदा २४ थरिको व्यञ्जन पकाएर चढाउने परम्परा बाडेगाउँमा रहेको छ ।

तस्विरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप