शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानव, भाइरस र मृत्युको त्रास

मङ्गलबार, २७ फागुन २०७६, १४ : ३१
मङ्गलबार, २७ फागुन २०७६

-डिल्लीराज पाण्डे

प्रारम्भमा चीनमा देखिएको कोरोनाभाइरसले विश्वमा चित्कारसँगै मृत्युको त्रास बढाउँदै लगेको छ । कोरोनाभाइरसका समाचारका कर्कस ध्वनिले मानव मथिङ्गललाई खलबल्याइदिएको छ । अहिले के भइरहेको छ र भोलि के हुन्छ भन्ने आशङ्कामै मानिसको दैनिकी वितिरहेको छ । सिङ्गो विश्व नै यही भाइरसको कोलाहलमा छ । ए ! सृष्टि एउटा उपाय जन्माइदेऊ न मित्र राष्ट्र चीन लगायत विश्वका राष्ट्रमा मानव जगत आँसुको भेलमा डुब्न नपरोस् । अरूका लागि मृत्यु पस्कने मानव जगत् आज भाइरसको त्रासमा लपेटिँदैछ । यो कस्तो त्रास हो, जहाँ ब्रह्माण्ड हल्लिाएको छ । 

दार्शनिक कुरा गर्ने हो भने जीवन धुलो धुवाँ र प्वाँख नै हो किन्तु यो मानव सभ्यता एक कोषधारी विषालुबाटै बिलाउँदाको रित्तोपन प्रकृतिका लागि पनि महँगो सावित हुनसक्छ । अहिले मानव र प्रकृतिबीच द्वन्द्व होइन, सहकार्यको खाँचो छ । प्रकृतिले मानिसलाई चुन्यो, यसर्थ मानिस अरू प्राणीहरूभन्दा सर्वश्रेष्ठ, सर्वज्ञानी र सहृदयी होस् भनेर । प्रकृतिको यो चाह स्वाभाविक हो । प्रकृतिको चाह र मानव व्यवहारका बीचमा जुन खाडल बन्दैछ यसले गम्भीर पर्यावरणीय सङ्कट निम्त्याँउदै छ । आखिर यसको कारक को हो ? आखिर यसको निकास के हो ? 

यसको कारक मानव हो र यसको निकास पनि मानव र प्रकृति बीचको रचनात्मक सहयात्राले मात्र दिन सक्छ । प्रकृतिले मानवलाई सुन्दर जीवन दियो अपितु मानव नै प्रकृतिमाथि बज्रपात बन्यो । मानिस अरू प्राणीभन्दा चलाख भयो भन्दैमा हत्या, वनजङ्गल विनास र रासायनिक हतियारको निर्माण गर्ने छुट छ र ? जसका कारण मानव आफै प्रकृति प्रकोपको सङ्कटमा परिरहेको छ र त्यसको पछिल्लो उदाहरण हो कोरोना भाइरस । भाइरसको उत्पत्ति शताब्दीयौँ पहिले भएको हो न त यो मानवले नै उत्पत्ति गरेको हो न त अरू कुनै प्राणीले परन्तु आज मानवले नै कतिपय भाइरसहरूको उत्पत्ति गर्ने गर्दछ । 

विज्ञानको तीव्र विकासले मानवलाई अति मानवमा रूपान्तरण गर्दैछ, त्यसका उज्याला र अँध्यारा पाटाहरू छन् । जुन अनुपातमा उकाली हुन्छ, त्यही अनुपातमा ओराली हुन्छ । विश्व जनसङ्ख्याको २० प्रतिशत ओगटेको चीनमा जुन कोरोनारूपी राष्ट्रीय सङ्कट देखिँदैछ यो अन्तर्राष्ट्रिय सङ्कट बन्दैछ । हुन त चीनमा २००३ मा सार्स कोरोना भाइरसबाट ८ हजार सङ्क्रमितमा ७ सय जनाले ज्यान गुमाएका थिए । अहिले ८० हजार मानिस चाइनामा मात्र सङ्क्रमित भएका र लगभग ३,१३६ भन्दा बढीको ज्यान गइसकेको बताइएको छ । यतिबेला चीनसँगै सिङ्गो विश्व भयङ्कर सङ्कटमा छ ।

उहान विश्वको एउटा सुन्दर सहर जहाँ कोरोना भाइरस सङ्क्रमित पहिलो बिरामी भेटिए । पछिल्लो चरणमा जति पनि बिरामी भेटिए ती सबै उहानको माछा बजारकै थिए भन्ने हल्ला बाहिर आएको छ । आखिर यो भाइरस जसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य सङ्कटको घोषणा गर्नु पर्यो । सयौँ जीवित र मृत जीवजन्तुको मासु खानेहरुको लस्कर यतिबेला उहान सहरमा गायब भएको छ । त्यसो त चाइनिजहरू काँचो मासु खान माहिर हुन्छन् । एक पटक सोचौँ त जिउँदा र मूर्दा जनावरको भोजन गर्ने मानव जातिप्रति प्रकृतिको कति गहिरो आक्रोश रहेछ । जब आफ्ना सीमाहरूको असली पहिचान मानव जातिले गर्दैन् त्यसको परिणाम यस्तै दुःखद हुने गर्दछ । मानव जातिका लागि प्रकृतिले के मात्र दिएन मौसम, प्राकृतिक सम्पदा, खनिज जसका कारण पृथ्वीमा पाइने सबै प्रजातिमध्येमा मानव सबैभन्दा माथि हुन पुग्यो । प्रकृतिले मानवलाई पहिलो रोजाइमा राख्यो तर आज यही मानव प्रकृतिसँग पौँठेजोरी खेल्न खोज्दैछ । 

त्यसो त चीन र अमेरिका बीच सघन आर्थिक प्रतिस्पर्धा छ र यो प्रतिस्पर्धाको छनक कोरोना भाइरस मार्फत समेत देखिँदैछ । अमेरिकी सांसद टन कटनले कोरोना भाइरसको कारक चिनियाँ कम्युनिस्ट पार्टी भएको समेत आरोप लगाएका छन् । उनको भनाइ छ ‘यो भाइरस मानव निर्मित जैविक हतियार नै हुनसक्छ, जुन सम्भवतः उहान इन्स्टिच्युट अफ भायरलोजीबाट भएको हो । चिनियाँहरू आफै यो भाइरसको उत्पत्ति कहाँबाट भएको हो भनी यकिनका साथ भन्न सकिरहेका छैनन् । प्रारम्भमा उहान सहरको माछा बजारबाट यो फैलिएको दाबी गरिएको थियो । तर केही दाबीहरूले यो कुरालाई अस्वीकार पाइन्छ । यो भाइरस अमेरिकाले नै चीनमा पठाएको भन्ने समाचारहरू समेत प्रकाशित भएका छन् । एक हिसाबले अमेरिका र चीनबीच एक प्रकारको शीतयुद्ध चलिरहेको छ ।

चीनप्रति अमेरिकाको अविश्वास र अमेरिकाप्रति चीनको अविश्वास पुँजीवादको नयाँ टक्कर हुनसक्छ जुन आगामी दिनमा अझै सघन बन्नेछ । डरलाग्दा सङ्केतका कारण भन्न सकिन्छ मानव जीवन सङ्कटमा पर्दैछ । सामाजिक सञ्जालमा यस्ता भिडियो भाइरल भएका छन्, ती कतिपय अतिरञ्जित लाग्छ भने कति त सत्यको नजिक । के यो सङ्कट चीनको नियन्त्रणभन्दा बाहिर जाँदैछ ? द इपोच टाइम्सका अनुसार उहानमा यति सारै लासहरू आइरहेका छन् कि जसलाई व्यवस्थित गर्न रातदिन मजदुर खटिरहेका छन् ।

सार्वजनिक स्थलमा स्प्रे गरिएको छ । एउटा भाइरल भिडियोमा चिनियाँ स्वास्थ्य अधिकारीले सङ्क्रमण फैलिने डरले एउटा महिला र तीनका पार्टनरलाई एउटा डब्बामा जबरजस्ती बन्द गरेको देखिन्छ भने अर्को भिडियोमा केही अधिकारीहरूले अपार्टमेन्टबाट केही मानिसलाई जबरजस्ती घिसार्दै लगेको देखिन्छ । स्थितिलाई अतिरञ्जित गर्ने शक्तिको खेल पनि हुनसक्छ अपितु सङ्कट सहजै अनुमान लगाउन सकिन्छ । पश्चिमा जगत् यतिबेला कोरोना भाइरसका नाममा चीनको राज्यसत्ताका विरूद्ध लाग्दैछ भन्ने बुझ्न कठिन छैन । विश्व राजनीतिमा उसको एक्लो प्रतिस्पर्धी चीन कमजोर हुनु अमेरिका लगायत पश्चिमाका लागि ढाडस हुनसक्छ । 
कोरोना भाइरसको फैलावट यति सघन बन्दैछ कि इरानका उपस्वास्थ्य मन्त्री नै सङ्क्रमणमा परेको समाचार आएको छ । दक्षिण कोरिया, जापान लगायत युरोपका कैयौँ देशहरूमा यो फैलिएको छ । 
डब्लूएचओले विश्वलाई महामारीको प्रतिरक्षाका लागि तयार रहन सजग गराएको छ । आर्थिक गतिविधिमा गिरावट र उद्योग धन्दाहरू चौपट भएका छन् । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । यतिबेला नेपालमा समेत त्यसका छिटापर्ने त होइन भनेर हेक्का राख्न जरूरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप